विद्युतीय सवारी चार्जिङका लागि प्राधिकरणले गर्यो नयाँ प्रस्ताव, रातिमा सबैभन्दा कम महसुल




काठमाडौं । के तपाई विद्युतीय सवारी साधान किन्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईका लागि सुखद् खबर छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी सधान प्रबद्र्धन गर्ने लक्ष्यका साथ न्यूनतम महसुल लिएर विद्युतीय सवारी चार्ज गर्न सकिने स्किम प्रस्ताव गरेको छ ।

प्राधिकरणले रातको समयमा खेर जाने विद्युत खपत गर्ने लक्ष्यका साथ सबैभन्दा सस्तो महसुल दर तय गरेको छ । प्राधिकरणले राति ११ बजेदेखि बिहान ५ बजेसम्म विद्युतीय सवारी चार्ज गर्दा प्रति युनिट ३ रुपैयाँ ७० पैसाका दरले सवारी साधन चार्ज गर्न सकिने प्रस्ताव गरेको छ ।

त्यस्तै, बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा विद्युतीय सवारी साधन चार्ज गर्न सकिनेछ भने सबैभन्दा बढी विद्युत माग हुने साँझको समयममा भने महसुल दर अन्य समयको भन्दा बढी प्रस्ताव गरेको छ ।

जसअनुसार साँझ ५ बजेदेखि राति ११ बजेसम्म प्रतियुनिट ९ रुपैयाँ ३५ पैसामा महसुल तिर्नुपर्ने गरी प्रस्ताव गरिएको छ ।

उक्त प्रस्ताव अनुसार डिमान्ड शुल्क २५५ रुपैयाँ तिर्नुपर्नेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म प्राधिकरणको प्रणालीमा १ हजार ३०० मेगावाट विद्युत थप हुने भएपछि विद्युतीय सवारी साधानको प्रबर्द्धनका लागि साँझ, बिहान र राति गरी तीन प्रकारका महसुल प्रस्ताव गरिएको हो ।

उक्त प्रस्ताव विद्युतय नियमन आयोगमा पठाइएको र आयोगको स्वीकृतिपछि कार्यान्वयनमा आउनेछ । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि महसुल तय नगर्दा सुन्दर यातायातलगायतका कम्पनीले सहज रुपमा विद्युतीय सवारी सञ्चालन गर्न सकेका छैनन् ।

आयोगको स्वीकृति लगत्तै सुन्दर यातायात लगायतले विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्न सहज हुने अनुमान गरिएको छ ।

त्यसो त चार्जिङ स्टेसन सञ्चालनका स्वीकृति समेत प्राधिकरणले दिने तयारी गरेको छ । प्राधिकरण आफैले बजार निर्माण र हस्तक्षेपका लागि प्रमुख राजमार्ग र काठमाडौं उपत्यकाभित्र ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने तयारी गरेको छ ।

त्यसका लागि प्राधिकरणले चार्जिङ स्टेसन स्थापनाका लागि बोलपत्रको प्रक्रिया समेत सुरु गरिसकेको छ । निजी क्षेत्रलाई समेत उपयुक्त स्थान चयन गरी चार्जिङ स्टेसन स्थापनका लागि प्रक्रिया अगाडि बढाउन आग्रह गरिसकेको छ ।

साझा यातायात र प्राधिकरणको सहकार्यमै केही चार्जिङ स्टेसन स्थापना हुनेछ । भने निजी क्षेत्रले समेत थ्री फेज लाइन पुगेका उपयुक्त स्थानमा चार्जिङ स्टेसन स्थापना गर्न सक्नेछन् ।
प्राधिकरणले सामूदायिक खानेपानीका लागि समेत २४ घण्टा नै लागू हुने गरी प्रति युनिट ५ रुपैयाँ ९० पैसामा विद्युत उपलब्ध गराउने प्रस्ताव समेत गरेको छ ।

यस्तै, सिँचाईका लागि प्रति युनिट ३ रुपैयाँ ५० पैसाका दरले विद्युत उपलब्ध गराउने गरी प्रस्ताव गरिएको छ ।

ढल्केवर-मुज्जफपुर अन्तरदेशीय प्रसारण लाइनको सम्झौताका कारण हाल दैनिक ५० मेगावाट विद्युत भारतबाट आयात भइरहेको भए पनि उक्त विद्युत रक्सौल-परबानीपुर प्रसारण लाइनमार्फत् भारत नै पठाइ राखिएको छ ।

यस्तै, कुलेखानी जलाशयबाट उत्पादन हुने विद्युत समेत सोही प्रसारण लाइनबाट भारत निर्यात भइरहेको छ । यस आधारमा विद्युत खपत बढाउन विद्युतीय सवारी साधनको प्रबद्र्धन गर्दै खाना पकाउने एलपी ग्याँसको विस्थापन गर्नेतर्फ तत्काल सार्थक प्रयत्न हुनु जरुरी भइसकेको छ ।


क्लिकमान्डु