विधान संशोधनको प्रयास बिफलः पशुपति मुरारका महासंघको नयाँ शक्तिकेन्द्र भएकै हुन् ?



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणालाई कार्यकाल पुरा गर्ने समय जति नजिक आउँदै थियो त्यति नै असहज स्थिति हुँदै गएको थियो ।

महासंघमा पहिलो पटक महिला अध्यक्ष बनेर इतिहासमा नाम लेखाउन सफल राणालाई विधान संशोधनको विषयले अपजसको भारी बोक्नुपर्ने आपत् आइलाग्यो ।

३ वर्षअघि महासंघले बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने विधान संशोधन गरेको थियो ।

त्यही विधान अनुसार तत्कालीन बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वत अध्यक्ष बनिन् । बरिष्ठ उपाध्यक्षमा शेखरले जिते । भवानीलाई सहयोग गर्ने बहुमत प्यानलनै निर्वाचनमा जितेर आएको अवस्था थियो ।

२०७३ चैत २९ गते भएको महासंघको साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि केही समयमा नै महासंघमा भित्र बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष नबनाउने कुरा चल्न लाग्यो ।

१ वर्षपछि भएको साधारणसभा केही सदस्यले खुलेर नै महासंघमा बरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाउने विधान हटाएर अध्यक्षको निर्वाचन गर्नुपर्ने माग राखे । जसलाई साथ दिए महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डिराज ढकालले ।

महासंघको बरिष्ठ उपाध्यक्षमा पराजित भएका किशोर प्रधान पुनः जिल्ला नगरको उपाध्यक्ष बनेर आए । प्रधान बरिष्ठ उपाध्यक्षमा शेखरसँग चुनाव लड्दा उनको प्यानलबाट पदाधिकारीमा जित्ने प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको निर्वाचन लड्न गए । राजनीतिक निर्वाचनमा सहभागी भएसँगै महासंघको विधान अनुसार श्रेष्ठको उपाध्यक्ष पद स्वत खारेज भयो । महासंघमा प्रधानको इन्ट्री तथा चण्डीको चाहना अनुसार विधान संसोधनको कुरा अझै बढ्न थाल्यो ।

साधारणसभाले विधान संसोधन समिति गठन गर्नुपर्ने प्रस्ताव पारित गर्यो, जसको संयोजक बने चण्डीराज ढकाल । ढकालको दवाव अनुसार महासंघले आगामी कात्तिक २९ गते विशेष साधारणसभा बोलाउने निर्णय गर्यो ।

महासंघको विधान संशोधनको विपक्षमा उभिएका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले विधान संशोधनका लागि विशेष साधारणसभा बोलाउने वैधानिकतामाथि लिखित रुपमा चुनौति दिएका थिए ।

विधान संशोधन समितिलाई विधान संशसोधन आवश्यक नभएको समेत लिखितरुपमा सुझाव दिए । महासंघका चण्डी बाहेक पूर्वअध्यक्षले विधान संशोधन गर्दा शेखरलाई अध्यक्ष बनाएर मात्र गर्नुपर्ने लिखित सुझाव दिए ।

महासंघमा रक्साकस्सी चलिरहेको बेला कुनैपनि भूमिकामा नखुलेका एशोसियट उपाध्यक्ष चन्द्र ढकाल एकाएक विधान संशोधनको पक्षमा खुले । चण्डीराज ढकालले शक्ति प्रदर्शन गर्ने हिसाबले बोलाएको भेलामा पूर्वबरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार, जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान, एशोसियट उपाध्यक्ष चन्द्र ढकाल तथा बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ उपस्थित भएको कार्यक्रमले शेखर गोल्छालाई झस्कायो ।

सो कार्यक्रममा ढकालले भाषण गर्दा बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था हटाउनुपर्छ भनेर भाषण गरेनन् । उनले साथीहरुको सुझाव साधारणसभामा पेश गर्ने बताएका थिए ।

आफ्नो टिमबाट बरिष्ठ उपाध्यक्ष बनाउने योजना बनाएका शेखरलाई एकाएक चन्द्र ढकालको मुभमेन्टपछि उनले विधान संशोधन भएमा आफु अध्यक्ष लड्न तयार रहेको सन्देश दिए । ढकालले विधान संशोधन आफु अध्यक्ष बनेपछि मात्र कार्यान्वयन गर्नुपर्ने चाहेका थिए ।

तर, गोल्छा भने गर्ने भए यो कार्यकालबाट नै गर्न वा आफु अध्यक्ष भएपछि गर्न दिने पक्षमा थिए ।

आफ्नो समुहबाट बरिष्ठ उपाध्यक्ष बनाउने टिममा राखेका चन्द्र ढकाल विधान संशोधनको पक्षमा लागेपछि गोल्छा समुहले विधान संसोधन पक्षमा रहेका किशोर प्रधानलाई आफ्नो प्यानलमा ल्यायो ।

चण्डीराजले प्रष्टरुपमा चन्द्र ढकाललाई आगामी निर्वाचनको बरिष्ठ उपाध्यक्षको उम्मेद्धार बनाएका थिए । त्यसैले गोल्छा समूहले यही हतियार प्रयोग गरेर चण्डी समूह फुटायो । गोल्छा समूहले किशोर प्रधानलाई चण्डीराज टिममा बसेर तिमीले केही पाउँदैनौं, त्यो टिमबाट चन्द्र बरिष्ठ उपाध्यक्ष हुन्छन्, तिमी हाम्रो टिममा आयौ भने बरिष्ठ उपाध्यक्ष बनाउँछौं भनेर प्रलोभन देखाए । गोल्छा टिमको प्रस्ताव प्रधानलाई चित्त बुझ्यो । र, उनले रातारात टिम परिवर्तन गरे ।

गोल्छाले निर्वाचन लड्न नै तयार रहेको प्रष्ट सन्देश दिए । गोल्छालाई के थाहा थियो भने विधानत आफु स्वतः अध्यक्ष भएको तर बिचमा खेलबाड गरेर आफुमाथि अन्याय गरेकोप्रति मतदाताको सहानूभूति हुनेछ ।

निवर्तमान अध्यक्ष पशुपति मुरारकाले वैधानिक तरिकाले साधारणसभा नबोलाएको हुँदा त्यसलाई कानूनी चुनौती दिने चेतावनी । मुरारका प्रष्ट रुपमा शेखरलाई स्वतः अध्यक्ष बनाउने लबिङमा सक्रिय थिए । र, छन् ।

३ वर्षे कार्यकालमा स्पष्ट अडान लिन नसकेपनि अन्त्यमा अध्यक्ष राणाले अडान लिइन् । ढकाल निकट रहेर काम गरेको आरोप लागे पनि राणाले गोल्छालाई अध्यक्ष बनाएर मात्र विधान संशोधन गर्न हुने पक्षमा उभिइन् ।

मुरारकाले विधान अनुसार विधान संशोधन समितिले विधानको मस्यौदा ३ महिनाअघि पेश गर्नुपर्ने कुरा नगरेर र विशेष साधारणसभा बोलाउनको लागि बसेको कार्यकारिणीको बैठक विधान अनुसार नबोलाएको अडान लिइरहेका थिए ।

यसबीचमा चन्द्र ढकालले एउटा प्रस्ताव राखेका थिए, त्यो थियो कि अहिले नै प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गरौं, होइन भने ३ कार्यकालपछि मात्रै प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था गरौं । किनभने आगामी निर्वाचनमा ढकाल बरिष्ठ उपाध्यक्ष लड्ने सोच बनाएका छन् । र, आगामी कार्यकालदेखि प्रत्यक्ष निर्वाचित अध्यक्षको व्यवस्था भए बरिष्ठ उपाध्यक्ष बनेर पनि फेरि अध्यक्षका लागि चुनाव लड्नुपर्ने लफडा आउने उनले देखे । जुन स्वभाविक पनि थियो ।

विधान संशोधनको अन्यौलताले चन्द्र ढकाललाई पनि निकै सताएको थियो । उनी पनि संशोधन नभइदिए आफू बरिष्ठ उपाध्यक्ष लड्ने र यही विधानमा टेकेर अर्को कार्यकालमा स्वत अध्यक्ष बन्ने रणनीतिमा थिए । त्यसैले अहिलेको विधान संशोधन गर्नका लागि बोलाइएको विशेष साधारणसभा भाँडिदिए हुन्थ्यो भन्ने सोचमा थिए । मन्त्रिपरिषद हुँदै पुगेको फाइल अड्काएर भए पनि आफ्नो काम फत्ते गर्ने सोचमा थिए ढकाल ।

किनभने महासंघको विधानलाई साधारणसभाले पारित गरेर मात्र पुग्दैन । महासंघको विधान जिल्ला प्रशासन हुँदै मन्त्रीपरिषदले स्वीकृत गरेको छ । जुन रोकिने खतरा ढकाल समूहले देख्यो । गोल्छाले विधान संशोधन भए निर्वाचन लड्ने नै सन्देश दिएको तथा साधारणसभाले विधान संसोधन भएपनि मन्त्रीपरिषद् र अदालतबाट रोकिने संकेत बलियो थियो ।

यी सबै कुरा देखेपछि बरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउनु हुँदैन भनेर लागेका चण्डिराज ब्याक भए । महासंघलाई विधान अधिवेशन फिर्ता लिनको लागि सजिलो अस्त्र मुरारकाले राखेको फरक मत भयो । जुन फरक मत अनुसार महासंघको पदाधिकारी बैठकले विधान संसोधन समितिलाई विशेष साधारणसभाको वैधानिकतामाथि प्रश्न गर्यो । र, विधान संशोधन समितिले बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बनाउनुपर्ने सहितको राय दिँदै विशेष साधारणसभा स्थगित गर्न सुझाव दियो ।

महासंघको पदाधिकारी बैठकले त्यसलाई अनुमोदन गरिसकेको छ । अब कार्यकारिणी बैठकले त्यसालाई अनुमोदन गर्ने छ ।
यो पटक विधान संसोधनको विपक्षमा मत जायर गर्दै वैधानिकतामाथि निरन्तर प्रश्न गरेका महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका शक्ति केन्द्र बनेका छन् ।

यसअघि अध्यक्षबाट बाहिँरिदै गर्दा मुरारकाले महासंघ छाडेर उद्योग परिसंघ गठन गरेका पूर्वअध्यक्ष बिनोद चौधरीलाई साधारणसभामा बोलाएर सम्मान समेत गरेका थिए ।

मुरारकाले लिएको अडान र राणाको मध्यमार्गी भूमिकाले महासंघलाई एकताबद्ध गर्न मद्दत पुर्याएको मात्रै छैन, महासंघको विधानको संरक्षण पनि भएको छ ।

महासंघको विधान संशोधन नहुँदा गोल्छा स्वत अध्यक्ष भएका छन् भने मुरारका नयाँ शक्तिकेन्द्रका रुपमा स्थापित भएका छन् । किनभने विधान संशोधन हुन नदिनका लागि सबैभन्दा तीब्र लबिङ गर्ने उनै मुरारका हुन् । राजनीतिमा होस् या अन्य कुनै संस्था, जसको एजेण्डाले जित्छ उनै शक्तिकेन्द्र हुन्छ ।


पुष्प दुलाल