गाडीको माग घटेपछि मारुती सुजुकीको उत्पादन घट्यो



काठमाडौं । गाडीको माग घटेपछि भारतको सबैभन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीको उत्पादनमा पनि गिरावट आएको छ । गत वर्षको तुलनामा यो वर्ष गाडीको मागमा कमी आएपछि उत्पादन घटेको होे ।

गत वर्षको अक्टुबर महिनामा कम्पनीको कूल गाडी उत्पादन १ लाख ५० हजार ४ सय ९७ थान थियो भने यो वर्षको अक्टुबर महिनामा १ लाख १९ हजार ३ सय ३७ गाडीमा मात्र उत्पादन भएको हो ।


त्यसैगरी प्यासेन्जर गाडीको उत्पादनमा पनि भारी गिरावट आएको छ । गत अक्टुवरमा १ लाख ४८ हजार ३ सय १८ युनिट गाडी उत्पादन भएकोमा यो वर्षको अक्टुबरमा १ लाख १७ हजार ३ सय ८३ युनिट प्यासेन्जर गाडी मात्र उत्पादन गरिएको छ ।

पछिल्लो तथ्याङ्क अनुसार मिनी सेग्मेन्ट गाडी उत्पादनमा पनि कमी आएको छ । गत वर्षको अक्टुबरमा ३४ हजार २९५ थान मिनी सेग्मेन्टका गाडी उत्पादन भएकोमा यो वर्ष घटेर २० हजार ९८५ वटा गाडी उत्पादन भएको हो ।

मारुती सुजुकीद्वारा उत्पादित भ्यानको उत्पादनमा पनि कमी आएको छ । सन् २०१८ को अक्टुबरमा १३ हजार ८१७ भ्यान उत्पादन भएकोमा यो वर्ष उक्त संख्या खुम्चिएर ७ हजार ६६१ पुगेको तथ्याङकमा उल्लेख छ ।


क्लिकमान्डु