विद्युतीय सवारी चलाउन चार्जिङ स्टेसनको समस्या छ: सुन्दर यातायात प्रालिका सदस्य सुरेश पोख्रेलको अन्तर्वार्ता



सरकारले मुलुकमा विद्युतीय सवारी साधनको संख्या २० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । जसअनुसार सरकारकै सक्रियतामा साझा यातायातले विद्युतीय सवारी सञ्चालन गरिरहेको छ । साथै निजी क्षेत्रबाट सुन्दर यातायात प्रालिले ४ वटा विद्युतीय सार्वजनिक यातायात राजधानीमा सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले यसैवर्षभित्रमा २५ वटा नयाँ विद्युतीय बस ल्याउने र राजधानी र राजधानी बाहिर सञ्चालन गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा कम्पनीका सदस्य सुरेश पोख्रेलसँग गरिएको कुराकानीको अंश ।

सुन्दर यातायाताले नयाँ विद्युतीय बस ल्याउने भनेको थियो । के भइरहेको छ ?
सुन्दर यातायातले यस वर्ष २५ वटा नयाँ विद्युतीय बस ल्याउने प्रक्रिया अगाडि बढाइसकेको छ । २५ वटा विद्युतीय बस हुँदा ती बस राजधानी बाहेक विराटनगरदेखि धरान, विराटनगरदेखि बिर्तामोडसम्म सञ्चालन हुनेछन् । साथै बुटवलमा पनि सञ्चालन हुनेछन् । बस खरिदका लागि सम्झौता भइसकेको छ ।

अहिले ४ वटा विद्युतीय बस राजधानीमा सञ्चालन गरिरहनु भएको छ । समस्या के देख्नु भयो ?
अहिले चार्जिङ स्टेसनको समस्या छ । व्यवसायिक चार्जिङ स्टेसनका लागि लाइसेन्स माग्ने चरणमा छौं । पूर्वको हकमा काँकडभित्ता, धरान र बिराटनगर नगरपालिकासँग चार्जिङ स्टेसनसँग स्वीकृतिका लागि काम गरिरहेका छौं । चार्जिङ स्टेसनका लागि सरकार आफैले पनि प्रक्रिया सुरु गर्यो भने हामीलाई निकै फाइदा हुने थियो ।

अन्य सवारी साधान र विद्युतीय सवारी साधान कति सस्तो पर्छ ? 
सुरुमा ल्याउँदा महंगो नै पर्छ । तर सञ्चालन खर्च निकै कम छ । न्यून छ । हामीले चलाएको बस साढे २ वर्षमै रिटर्न ल्याउन सक्छौं । सञ्चालन खर्च कम हुने भएकाले हामीलाई सस्तो पर्ने हो । किनभने राजधानीमा तेलबाट चल्ने गाडीलाई दैनिक ३५ सयदेखि ४ हजार रुपैयाँको तेल खर्च लाग्छ भने सुन्दर यातायाताका विद्युतीय बसलाई दैनिक ७ सय रुपैयाँको चार्ज गरेपछि एक दिनभरी चल्न सक्छन् । एउटा गाडी फुल चार्जमा २७० किलोमिटर चल्छन् । तर राजधानीमा धेरै स्टेसन र जामका कारणले त्यसको क्षमतामा १० देखि १५ प्रतिशत कम दुरी चल्छन् । राजधानीमा एकपटक पूरा चार्ज गरिसकेपछि चक्रपथमा ६ चक्कर चलाउन सक्छन् । जसबाट दैनिक प्रत्येक ट्रिपमा ३ हजार रुपैयाँदेखि ३५ सय रुपैयाँसम्म औसतमा आम्दानी गर्छन् । भावी दिनमा गाडी थपिएपछि चक्रपथभित्रमा पनि चलाउने योजना छ ।

ग्राहकलाई सस्तो पर्छ कि पर्दैन ?
हामीले अहिले सरकारले तोकेको भाडा दर अनुसार नै लिँदै आएका छौं । तर आगामी दिनमा उपभोक्ताका लागि सस्तो होस् भनेर कार्डको व्यवस्था गर्न थालेका छौं । सुन्दर आफैले पनि आफ्नो कार्ड बनाउँदै छौं । जसमा विद्यार्थी, प्रौढ, असक्तका लागि लक्षित गरी बनाउँदै छौं ।

नयाँ विद्युतीय गाडी ल्याउनका लागि कति खर्च लाग्छ ?
हामी आफ्नै सुन्दर टे«डिङ कम्पनीमार्फत् ल्याउँछौं । जसका कारणले केही सस्तो पर्छ । जसअनुसार एउटा गाडीको मूल्य १ करोड ६२ लाख रुपैयाँ पर्छ । १ प्रतिशत राजस्व बुझाउनुपर्छ । १३ प्रतिशत कर बुझाउनुपर्छ । त्यसबाहेक वार्षिक कर तोकेको छैन । २५ वटा बस ल्याउनका लागि ४५ करोड रुपैयाँ चाहिन्छ । यसका लागि बैंकहरुबाट फाइनान्सिङ गर्छन् । कुल खर्चमध्ये हामीले सुरुमा २५ प्रतिशत रकम बुझाउनुपर्छ ।

अहिले व्यवसायमा के समस्या छन् ?
अहिले सबैभन्दा ठूलो समस्या चार्जिङ स्टेसनको समस्या छ । यसका लागि सरकारले बुझ्नुपर्छ । अरुका गाडी चार्ज गरेमा कति शुल्क लिने भन्ने भयो भने हामीलाई सजिलो हुन्छ । अहिले रातिको समयमा ४ रुपैयाँदेखि दिउँसोको पिक आवरमा नर्मल शुल्क बुझाइरहेका छौं । यसमा पनि सरकारले दररेट तोकेको खण्डमा हामीलाई व्यवसाय गर्न सजिलो हुन्छ । त्यसबाहेक भर्खरै विद्युतीय बस चलाएकाले पछि पार्टपुर्जाको समस्या पनि आउन सक्छ ।

विद्युतीय बस काठमाडौंको बाटो सुहाउँदो छन वा छैनन ?
हामीले सुरुमै बस ल्याउनुभन्दा अघि नै रिसर्च गरेका थियौं । अहिलेका गाडीमा ३५ वटा सिट भएका छन् । जसमा ६० जनाले एकैसाथ यात्रा गर्न सक्छन् भने नयाँ आउने गाडी ८० जना बस्न सक्छन् । यसका लागि हामीले रिसर्च पनि गरिसकेका छौं ।


क्लिकमान्डु