राष्ट्रिय वाणिज्य बैंकको निःशुल्क तालिम शुरु, सबै प्रदेशमा कहिले हुन्छ ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत दिने ३ दिने निःशुल्क तालिम प्रदेश नं ३ मा शुरु भएको छ ।

बैंकले निःशुल्क तालिमा लिन चाहाने युवाहरुलाई अनलाइन फाराम भर्न सूचना जारी गरेको थियो । अनलाइन आवेदन मार्फत एक हजार सात सय सात युवाहरुमध्येबाट छनौट भएका ३० जना युवाहरुलाई ३ दिने तालिम शुक्रबारबाट शुभारम्भ गरिएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको इम्पावरमेन्ट एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयां नयां उपलब्धिलाई सिक्ने बुझ्ने अवसर प्राप्त गर्ने बताए । । उहांले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने बताए ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कार्तिक १ गते बाट १५ गते सम्म निःशुल्क अनलाइन आवेदन प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर डिग्री भएका २८ वर्ष मुनिका युवाहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरिएको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दरबारमार्गमा प्रदान गरिनेछ । तीन दिनको तालिम पश्चात बैकले ३० जना सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ ।

प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम बैंकले अन्य प्रदेशमा पनि छिट्टै संचालन गर्ने बैंकले जनाएको छ ।


क्लिकमान्डु