तीन महिनामा सवा १३ अर्ब विदेशी लगानीको प्रतिबद्धता, पर्यटनमा सबैभन्दा बढी



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा सवा १३ अर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार साउन १ गतेदेखि कात्तिक ४ गतेसम्म १३ अर्ब २६ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको हो । चालु आवमा ८२ वटा कम्पनीमार्फत् लगानीको प्रतिबद्धता आएको छ ।

कुल विदेशी लगानीमध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा ५ अर्ब ८२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जसमा चीनबाट सबैभन्दा धेरै लगानी आएको छ ।

त्यस्तै, दोस्रो नम्बरमा सेवामुलक क्षेत्रमा ४ अर्ब ९३ करोड २० लाख रुपैयाँ विदेशी लगानी आउने भएको छ । साथै, सूचना तथा प्रविधिको क्षेत्रमा भने सफ्टवेयर निर्माणमा पनि ठूलो लगानीको प्रतिबद्धता आएको छ । चीन तथा अष्ट्रेलियाबाट १ अर्ब ५५ करोड रुपैयाँको प्रतिबद्धता आएको छ ।

त्यस्तै, उत्पादनमुलक क्षेत्रबाट ९० करोड रुपैयाँ र कृषि क्षेत्रमा ५ करोड रुपैयाँको लगानीको प्रतिबद्धता आएको छ ।


क्लिकमान्डु