कहिले पाइन्छ बैंकमा सुनको निक्षेप राख्न, के गर्दैछ राष्ट्र बैंक ?
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक बर्ष २०७६/७७ को बजेटमार्फत नेपाली नागरिकहरुले सम्पतिकारुपमा आर्जन गरेको सुन/चाँदीलगायत बहुमूल्य धातुहरु बैंकमा निक्षेपको रुपमा जम्मा गर्ने ब्यवस्था मिलाउने घोषणा गरे ।
सरकारले बजेटमा उल्लेख गरेको कुरालाई राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सुन निक्षेप राख्ने व्यवस्था गर्नका लागि सम्बन्धीत निकायहरुसँग छलफल गरी कार्यविधि निमार्ण गर्ने घोषणा गर्यो ।
पैसा तिरेर बैंकको लककरमा सुन राखेका सर्वसाधारणहरुले सरकारको बजेट भाषण सुनेर बैकमा सुन राख्दा उल्टो पैसा पाइने भइयो भनेर खुसी भएका थिए ।
तर आर्थिक वर्ष शुरु भएको ४ महिना वित्दा पनि सुन बैंकमा निक्षेपको रुपमा राख्न पाउने व्यवस्था मिलेको छैन । अहिलेसम्म यसको कार्यविधि नै बनेको छैन ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कार्यविधि बनाउने काम भइरहेको बताए ।
‘हामीले कार्यविधिको मस्यौदा तयार पारिसकेका छौं, तर सरोकारवालाहरुसँग व्यापकरुपमा छलफल गर्न पाएका छैनौं,’ डेपुटी गभर्नर शिवाकोटीले क्लिकमाण्डूसँग भने, ‘व्यवहारीक कठिनाईहरु भएकाले यो विषयमा काम गर्न अलि गाह्रो भएको छ ।’
राष्ट्र बैंक व्यवस्थापनले विभागहरुलाई यसमा वर्कआउट गर्न निर्देशन दिइसकेको उनले जानकारी दिए ।
नेपालमा सर्वसाधारण जनताले काँचो सुन राख्न पाउँदैनन् । जनतासँग भएको गहनालाई निक्षेपको रुपमा बैंकमा राख्दा त्यसको जेला, जर्ती कति काटेर राख्ने कुन वर्गको बैंकले के कति सुन निक्षेप राख्ने र कति ब्याज दिने भन्ने नीतिगत व्यवस्था गर्न अझै समय लाग्ने शिवाकोटीको भनाई छ ।
‘५ तोला सुनका गहना बैंकमा ल्याएर राखेर ५ तोला नै र्फिता दिँदा बैंकलाई केही फाइदा हुदैन र बुझाएको गहना भन्दा थोरै सुन जनताले र्फिता लिन मान्दैनन्,’ उनले भने, ‘त्यसैले कसरी गर्न सकिन्छ भनेर हामीले वर्कआउट गरिरहेका छौं । यसका अन्तर्राष्ट्रिय अध्यासहरु के कस्ता छन् भनेर अध्ययन भइरहेको छ ।’
राष्ट्र बैंकले बैंकहरुसँग कसरी यसको कार्यविधि बनाउन सकिन्छ भनेर छलफल गरेको थियो । तर मौद्रिक नीति सार्वजनिक गरीसकेपछि भने राष्ट्र बैंकले बैकहरुसँग यस विषयमा केही कुरा नै नगरेको नेपाल बैकर्स एशोसियशनका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङगाना बताउँछन् ।
‘सुनलाई निक्षेपको रुपमा बैंकमा जम्मा गर्न कस्तो नीतिगत व्यवस्था गर्ने भनेर मौद्रिक नीति सार्वजनिक हुनुभन्दा अगाडि छलफल भएको थियो’ अध्यक्ष ढुङगानाले क्लिकमाण्डूसँग भने ‘राष्ट्र बैंकले यसमा कार्यविधि बनाउछौँ भनेको थियो तर हालसम्म बनाएको छैन ।’
बैकिङ क्षेत्रमा लगानी योग्य साधान बढाउने उदेश्यले सरकार तथा राष्ट्र बैंकले सर्वसाधारणसँग भएको सुनलाई ५ देखि १० बर्षे समय तोकेर निक्षेपमा सुन लिने र त्यसलाई गलाएर काँचो सुन बनाएर लगानी गर्ने सोच सहित प्रारम्भिक छलफल गरेको थियो ।
बैंकले सर्वसाधारणसँग सुन निक्षेपमा लिएपनि यसको ब्याजदर बढीमा २ प्रतिशत भन्दा बढी बैंकले दिन नसक्ने अध्यक्ष ढुङगानाले बताए ।
‘सर्वसाधारणसँग लिएको सुनका गहना काँचो सुन बनाएर लगानी गरेपनि तोकिएको समय सकिए पश्चात सुन निक्षेपकर्तालाई सुनका गहना नै फिर्ता दिनुपर्ने हुन्छ,’ उनले भने ।
निक्षेपको रुपमा सुनचाँदी र अन्य धातुका गहनालाई बैंकमा राख्दा कस्तो तरिका अपनाउने, धातु पहिचान लगायत जेला जर्ती कटौतीका विषयमा हालसम्म राष्ट्र बैंकले सुनचाँदी व्यवसायी महासंघसँग पनि छलफल नगरेको नेपाल सुनचाँदी सुनचाँदी व्यवसायी महासंघका महासतिव धर्मराज बज्राचार्यले बताए ।
‘अर्थमन्त्रालयले बजेट सावैजनिक गर्नु अगाडि यो विषयमा छलफल गरेको थियो,’ बज्राचार्यले भने ‘राष्ट्र बैंकले त आजसम्म हामीसँग यो विषयमा केही कुरा नै गरेको छैन ।’
सरकारले बजेटमा नै उल्लेख गरेको विषयमा राष्ट्र बैंकले कार्यविधि बनाएर चाँडै कार्यन्यवनमा ल्याएमा बजारमा हुने सुनको अभाव व्यवसायीहरुले सर्वसाधारणले निक्षेपको रुपमा राखिएको सुनबाट पूर्ति गर्ने बज्रचार्यको भनाई छ ।
नेपालमा अहिलेसम्म नगदलाई बैंकहरूले मात्रै निक्षेपका रूपमा लिदै आएका छन् । हाल सुनधितोमा राखेर बैंकहरुले कर्जा भने दिने गरेका छन् ।
सुनचाँदी तथा बहुमूल्य धातुका गहनालाई पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था कार्यन्यवनमा आएमा अचल सम्पतीको रुपमा रहेको बहुमूल्य धातुका गहना बैंकमा निक्षेपमा राख्दा केही मात्रामा यसबाट आर्थिक लाभ लिनसक्नुका साथै समाजमा हुने चोरी डकौटी जस्ता अपराधीक घटनाहरु न्युनिकरण हुन सघाउ पुग्ने निश्चित छ ।