भ्रमण वर्षमा पर्यटकले होमस्टेमा पनि पाउने भए छुट



काभ्रेपलाञ्चोक । नेपाल भ्रमण वर्षलाई लक्षित गरी होटल संघ नेपाल (हान)ले पर्यटकलाई कोठामा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेपछि काभ्रेका होमस्टेहरूले पनि छुटको अफर ल्याएका छन् ।

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्नका होमस्टे एसोसिएसन नेपाल (होसान)ले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका हु्न् ।

उनीहरूले सरकारको अभियानमा साथ दिन तथा घरवासलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

‘भ्रमण वर्षभरी पर्यटकलाई खान र बस्नका लागि २० प्रतिशत छुट दिने निर्णय गरेका छौ’ होसानका अध्यक्ष केशवप्रसाद बडालले भने ।

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पातलेखेत होमस्टेका सञ्चालनसमेत गरिरहेका बडालले विदेशमा रहेका नेपालीलाई सम्बन्धित देशबाट नेपालमा भ्रमण वर्ष मनाउन तथा नेपालका उत्कृष्ट पर्यटकीय गन्तव्य पुग्नका लागि पर्यटक पठाउन अनुरोधसमेत गरे ।

होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन् ।

होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रमले मनोरञ्जन दिने समेत योजना बनाएको छ ।

पर्यटकलाई आकर्षित गर्न स्थानीय कृषि उपजलाई नै होमस्टेमा प्रयोग गरिनेछ । बडालले भने, ‘यसबाट स्थानीय बासिन्दा स्थानीय उत्पादनमा आकर्षण हुनुका साथै जैविक उत्पादनले बजार पाउँछ ।’

सकेसम्म रैथाने बालीलाई घरवासमा प्रयोग गरी ठूला होटल, रेस्टुराँभन्दा फरक परिकार दिने अभियानमा घरवास पर्यटन व्यवसायी रहेको उनले बताए । पछिल्लो समय कर्णाली प्रदेशमा घरवास पर्यटन प्रवद्र्धनमा आफूह? लागिरहेको बडालले बताए ।

व्यवस्थित एवं स्वस्थकर परिकारको सेवा दिलाउन देशभरका निजी तथा सामुदायिक घरवास पर्यटनको अनुगमन गरिने छ । केहीले स्वीकृति पाएभन्दा बढी कोठा राख्ने, पाहुनालाई अव्यवस्थितरूपमा राख्ने र घरवास पर्यटनको स्वीकृति लिई सोही आवरणमा होटल चलाउने गरेको पाइएकाले भ्रमण वर्ष लक्षित गर्दै अनुगमन गर्न आवश्यक रहेको अध्यक्ष बडालले बताउनुभयो ।

उनले भने, ‘होमस्टेको अनुगमनपछि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस पनि गर्नेछौं, यसबाट देशभरको घरवास पर्यटन अभियान प्रभावकारी बन्नेछ ।’

सरकारले जारी गरेको होमस्टे सञ्चालन कार्यविधि-२०७३ अनुसार तत्कालै अनुगमन थालिने योजना होसानले बनाएको छ । सरकारले दिएको कर छुट पाउनकै लागि होटललगायत पर्यटन व्यवसायीले अवैधरूपमा घरवास पर्यटन सञ्चालनमा ल्याएको गुनासो होसानमा आएको छ ।

‘नियमित अनुगमन नहुँदा फाइदा उठाइरहेका छन्, अुगमनपछि कार्यविधिले तोकेअनुसारको मापदण्ड पुगेका होमस्टे मात्रै सञ्चालनमा आउनेछन्’ अध्यक्ष बडालले भने ।

ग्रामीण भेगका बासिन्दाको स्वरोजगारका अवसर सिर्जना हुने तथा आम्दानी वृद्धिको माध्यमबाट जीवनस्तरमा सुधार ल्याउने प्रकृतिका ग्रामीण पूर्वाधारको दिगो विकास गर्न नेपालमा २०६७ देखि घरवास पर्यटन सुरू गरिएको थियो ।


क्लिकमान्डु