मेलम्ची आयोजनाका झण्डै ७ सय पीडित कामदारले पाए भुक्तानी




काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा पीडित कामदारलाई सरकारले भुक्तानी दिएको छ । इटालेली कम्पनी सिएमसीले ज्यालाबापतको रकम दिन बाँकी राखेर गएपछि नेपाल सरकारले सोबापतको रकम उनीहरुलाई भुक्तानी दिएको हो ।

उक्त कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी भएको थिएन । कम्पनी गएदेखि नै कामदारले आफू पीडित भएको भनी सरकारसँग ज्याला भुक्तानीको माग गरेको मन्त्रालयका प्रवक्ता रीतेशकुमार शाक्यले बताए । मन्त्रालयले अहिले झण्डै ७०० कामदारलाई भुक्तानी दिएको छ । भुक्तानी लिनेमध्ये अधिकांश त्यहीँका स्थानीयवासी छन् । उनले भने , “उनीहरुले माग गरेकै आधारमा भुक्तानी दिइएको हो ।”

कम्पनी निर्माण छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माण कार्यमा लागिरहँदा सरकारले यस अघिको समस्यासमेत समाधान गरिरहेको छ । मन्त्रालयमा सहसचिव नेतृत्वको प्राविधिक समिति गठन गरेर विवाद समाधान गर्न लागिएको छ । साना र ठूला आपूर्तिकर्ताको भने भुक्तानी गर्न बाँकी रहेको शाक्यले बताए । उनले भने “कागजातका आधारमा नै उनीहरुको पनि भुक्तानी गर्न लागिएको छ ।”


क्लिकमान्डु