ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको स्विकृती, कहिलेबाट हुन्छ एकिकृत कारोबार ?



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले ग्लोबल आईएमई र जनता बैंकलाई मर्जरमा जान अन्तिम स्विकृती दिएको छ ।

राष्ट्र बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले मर्जरमा जान अन्तिम स्विकृती दिएको हो ।

राष्ट्र बैंकबाट अन्तिम स्विकृती पाएसँगै मंसिर २० गतेबाट एकीकृत कारोबार गर्ने तयारीमा रहेको बताइएको छ ।

ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ रहेको छ । बैंकले सेयर लगानीकर्तालाई गत आर्थिक वर्ष २०७५–०७६ को वितरणयोग्य नाफाबाट १२.७५ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड ५१ लाख ६ हजार ७९० रुपैयाँ पुग्ने छ ।

यस्तै जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार ८ सय रुपैयाँ रहेको छ । बैंकले गत आवको वितरणयोग्य नाफाबाट ६ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ । बैंकको बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ४८ करोड ८ लाख रुपैयाँ पुग्ने छ ।

दुवै बैंक मर्जर पछि बन्ने ग्लोबल आइएमइ बैंकको चुक्ता पुँजी १९ अर्ब रुपैयाँ पुग्ने छ । मर्जपछि ग्लोबल आइएमइ बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्नेछ ।


क्लिकमान्डु