ट्याक्सी व्यवसायीले भने- भाडा बढ्नुपर्छ, टुटल र पठाओ चलाउन पाइन्न, प्रधानमन्त्रीको भनाइ आपत्तिजनक
काठमाडौं । टुटल र पठाओमा यातायात व्यवस्था विभागले लगाएको प्रतिबन्धको स्वागत गर्दै ट्याक्सी व्यवसायीहरुले सरकारले फेरि चलाउन दिए आफूहरु कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् ।
अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्ने माथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमा उनीहरुले सरकारले अवैध सवारीसाधन माथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको बताए ।
‘सरकारको यो कदम देखावटी नभइकन दीर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ’ ट्याक्सी व्यवसायी दुर्गा श्रेष्ठले भने ।
साथै उनीहरुले विद्यमान भाडा दरमा ट्याक्सी सेवा सञ्चालन गर्न नसक्ने बताए ।
‘विद्यमान भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं, सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ’ श्रेष्ठले भने ।
त्यस्तै ट्याक्सी व्यवसायी पूर्ण तामाङले टुटल र पठाओ रोक्ने सरकारको कदम स्वागतयोग्य रहेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि सञ्चालन गर्न दिएको अभिव्यक्ति र कदम आपत्तिजनक रहेको बताए ।