दोहोरो करको नीति नहटेसम्म बैंकहरु सामाजिक सुरक्षा कोषमा नजाने, सरकारी ढिलासुस्तीले समस्या थपिँदै



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्भावना न्यून भएको छ ।
कोषमा आवद्ध हुने समय सकिन अब ४ दिन मात्रै बाँकी छ ।

उक्त समयभित्र बैंक तथा वित्तीय संस्थाहरुले माग गरेको दोहोरो कर नीतिको व्यवस्था नहटेसम्म बैंकहरु सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने भएका हुन् ।

दुई साता अघि तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट, सामाजिक सुरक्षाकोषका पदाधिकारी र बैंकर्स संघका पदाधिकारीको संयुक्त बैठक बसेको थियो ।

उक्त बैठकमा सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बैंक तथा वित्तीय संस्थाहरुले समाना गर्नु परेको समस्याको विषयमा छलफल भएको थियो । पूर्व मन्त्री बिष्टले बैंकहरुलाई कोषमा आवद्ध हुन भइरहेको सम्पूर्ण समस्यालाई सहजिकरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त बैठकमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिले दोहोरो कर नीति, बीमा पोलेसीलगायतका विषयलाई सरकारले परिमार्जन गरेमा बैंकहरु कोषमा आवद्ध हुने प्रतिवद्धता जनाएका थिए ।

तर त्यसको अर्को साता मन्त्रीहरु हेरफेर हुँदा गोकर्ण बिष्ट पदमुक्त भए । श्रममन्त्री बाहिरिनुभन्दा २ दिन अगाडिसम्म उनी सामाजिक सुरक्षा कोषमा आवद्ध हुनलाई विभिन्न क्षेत्रका संघ संस्थाका प्रतिनिधित्व गर्ने संघहरुमा औपचारिक भेटवार्ता गर्दै कोषमा आवद्ध हुन आग्रह गर्दै थिए ।

बिष्ट पदबाट बाहिरिएसँगै उनले ल्याएका योजनामध्ये सामाजिक सुरक्षा कोषको कामहरु पनि पाइपलाइनमा बसेको छ ।

हाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा रामेश्वरराय यादव मन्त्री भएर आएका छन् । बिष्टले गरिरहेका अधुरा कामहरु मन्त्री यादवले कहिलेसम्म पूरा गर्नेछन् ? त्यो हेर्न बाँकी नै छ ।

सामाजिक सुरक्षा कोषले तत्कालै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध हुन व्यवहारिक कठीनाइलाई संशोधन गरिसकेको छ । यता दोहोरो कर प्रणाली हटाउने प्रतिवेदन तयार पारी कोषले मन्त्रालय पठाइसकेको थियो ।

अब श्रम मन्त्रालय उक्त फाइल अर्थ मन्त्रालयमा पठाइने छ । अर्थबाट पारित भएर आर्थिक विधयेकमा व्यवस्था गरिएपछि लागू हुने कोषको भनाइ छ ।

कोषबाट दोहोरो कर प्रणाली हटाउन प्रस्ताव गरिएको फाइल श्रम मन्त्रालयमा पुगेको पनि २ साता बितिसकेको छ । तर मन्त्रिपरिषदले उक्त फाइल अनुमोदन नगरेको कोषका प्रमुख कार्यकारी अधिकृत कपिलमणि ज्ञवालीले क्लिकमाण्डूलाई बताए ।

‘पहिले श्रममन्त्री र अर्थमन्त्रीबीच यो विषयमा छलफल भएको थियो,’ उनले भने ‘मन्त्रीहरुको हेरफेर र प्रधानमन्त्रीको स्वास्थ्य गडबडीका कारण त्यस बिषयमा गहन छलफल हुन सकेको छैन ।’

सरकारी तवरबाट भएको प्रतिवद्धता पूरा नगरेसम्म वित्तीय क्षेत्रलाई जबरजस्ती कोषमा आवद्ध गराउन नसकिने ज्ञवालीले बताए ।

‘सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्र दोहोरो कर नीति हटेमा मात्रै कोषमा आवद्ध हुन्छन् त्यो निश्चित छ,’ ज्ञवाली भन्छन्, ‘पुराना रोजगारदातालाई कोषमा आवद्ध हुन मंसिर १४ गते समय दिएका छौं, तर त्यो समयमा दोहोरो कर प्रणाली हटाउने प्रस्ताव पास हुन्छ वा हुँदैन भन्न सकिने अवस्था छैन् ।’

कोषले दिएको अन्तिम समयमा दोहोरो कर प्रणाली नहट्ने र बैंक तथा वित्तीय क्षेत्र कोषमा आवद्ध नभए त्यसको जिम्मेवारी सरकार नै हुने उनको भनाइ छ ।

सरकारी योजना तथा लक्ष्य सफल बनाउन सबैको जिमेवारी भएका हुँदा बैंकहरु आफ्नो माग सरकारले पूरा गरिदिए कोषमा आवद्ध हुने बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले क्लिकमाण्डूलाई बताए ।

‘कोषमा आवद्घ हुन बैंकिङ क्षेत्र सदैव तयार छ,’ उनले भने ‘दोहोरो कर नीतिसम्बन्धित व्यवस्था पास भइ लागू हुनुपर्छ ।’ उक्त नीति लागू भए आफूहरु कोषमा आवद्ध हुन कत्तिपनि ढिलाइ नगर्ने ढुंगानाको भनाइ छ । कर तिरेर जम्मा गरेको पैसा कोषबाट निकाल्दा पुनः कर लाग्न नहुने बैंकर्सको माग छ ।

पूर्व श्रम मन्त्री बिष्ट, सामाजिक सुरक्षा कोषका प्रतिनिधिहरु र बैंकर्स संघका प्रतिनिधहरुको छलफलमा बैंकरहरुले कोषमा आवद्ध हुन १७ बुँदे मागहरु राखे थिए ।

बैंकरहरुले दोहोरो कर नीति हटाउनेसँगै २०७६ साउनपछि बंैकमा जागिरे भएका कर्मचारीहरुलाई मात्र कोषमा आवद्ध गराउन सकिने बताएका छन् ।

‘पुराना कर्मचारीहरुको बैंकले नै अवकास कोषमा उनीहरुको तहको आधारमा पैसा जम्मा गरिरहेको छ’ अध्यक्ष ढुंगानाले भने ‘उनीहरुको पैसा कोषमा पठाउन धेरै व्यवहारिक कठिनाइ छन् ।’

हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको उमेर हद ५८ वर्ष तोकिएको छ । कोषमा न्यूनतम १५ वर्ष योगदान गरेपछि जम्मा भएको पैसा भने ६० वर्ष उमेर पुगेपछि मात्रै पेन्सनको रुपमा कोषले योगदानकर्तालाई दिइन्छ ।

बैंकमा काम गरेको ५८ वर्ष उमेर पुगेर रिटायर्ड भएको एक सातामा नै जम्मा भएको सबै पैसा लाभसहित फिर्ता दिने हुँदा कोषको नीतिमा बैंक तथा वित्तीय संस्थाका पुराना कर्मचारीहरु आवद्ध हुन नसक्ने ढुंगानाको तर्क छ ।

कोषले निर्धारण गरेको अवकास कोषको उमेर हद, कोषको बीमा नीतिलगायतका विषयलाई सरकारले संशोधन गरे समयसीमाभित्रै सबै बैक तथा वित्तीय संस्थाहरु कोषमा आवद्ध हुने उनले बताए ।

सरकारले कोष सुरु गरी योगदानदाता कम्पनीलाई यसमा आवद्घ गराउन थालेको १ वर्ष पूरा भइसकेको छ । तर यसमा बैंक तथा वित्तीय संंस्थाहरुको सहभागीता भने न्यून छ ।

हालसम्म २८ वटा वाणिज्य, २३ वटा विकास बैंक, ९० वटा लघुवित्त संस्था र ३९ वटा बीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमध्ये हालसम्म ८ वटा वाणिज्य बैंक र २ विकास बैंक, १० वटा लघुवित्त र २१ वटा बीमा कम्पनीहरु मात्र सामाजिक सुरक्षा कोषमा आवद्ध भएका छन् ।

बैंक तथा वित्तीय क्षेत्रमा करिब १ लाख जनशक्ति कार्यरत छन् ।


पुष्प दुलाल