७० करोडको लगानीमा नेपालगञ्जमा वाटरपार्क बन्दै, पर्यटनको बलियो आधार बन्ने विश्वास



नेपालगञ्ज । नेपालगञ्जमा बहुप्रतिक्षित ‘वाटरपार्क’ निर्माण हुने भएको छ ।

कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ । तलाउलाई नौका विहार र पौडी पोखरीका रूपमा विस्तार गरिने छ । पार्कमा आकर्षक र मनमोहक फुलबारी, बाल उद्यान, व्यावसायिक प्रयोजनका पसलकोठा लगायतका संरचना निर्माण हुनेछन् ।

कुल ७० करोड लगानी हुने वाटरपार्क ४ वर्षभित्र निर्माण पूरा हुने नेपालगञ्ज नगर विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख डा धवलशम्शेर राणाले बताए ।

‘वाटरपार्क निर्माणपछि नेपालगञ्जको पहिचान नै बदलिन्छ, आर्थिक समृद्धि र विकासमा यो कोसेढुंगा साबित हुनेछ’, नेपालगञ्ज उपमहानगरपालिका—१ का वडाध्यक्ष प्रमोद रिजालले बताए ।

‘कुचुक्क परेको धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले वडाको स्वरूप नै फेरिनेछ भने व्यापार बढ्नेछ, यसले यहाँको जीवनस्तर उकास्नेछ’, स्थानीयबासी रघुवीर मिश्रले भने ।

नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्क क्षेत्रभित्र १८ देखि ६ मिटरसम्मको पक्की सडक निर्माण हुनेछ । यसका साथै नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि पार्कसँग जोडिनेछ ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना १२ वर्षअघि तयार गरिएको थियो । विसं २०६५ मा सुरु भएको यो योजना सुरुवाती चरणमा जग्गा अधिग्रहणका क्रममा स्थानीयवासीसँग कुरा नमिल्दा निर्माण झण्डै पाँच वर्ष पर धकेलिएको थियो ।

अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ ।

नगर विकास समितिले अहिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाणपुर्जा तयार गरिसकेको छ । केही दिनभित्र जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिने अध्यक्ष राणाले बताए ।

वाटरपार्क क्षेत्रका जग्गाधनीले समितिले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार घरसंरचना निर्माण गर्नुपर्ने हुन्छ ।

वाटरपार्क संरचनाअन्तर्गत सुरुआती चरणमा पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माण हुनेछन् । निर्माणको काम छिटो सक्न ५ वटा ब्लक खडा गरिएको छ । प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न, आर्थिक विकासको आधार बलियो बनाउन र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पु¥याउन वाटरपार्क योजना जति सकेको छिटो सम्पन्न हुनुपर्नेमा यहाँका जनप्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारणहरु एकमत छन् ।


क्लिकमान्डु