भ्रमण वर्षको उद्घाटन राष्ट्रपतिबाट, उपस्थित सबैलाई नेपाली कागजमा हस्ताक्षर गराइने



काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भव्य रुपमा मनाइने भएको छ ।

वर्षको पहिलो दिन जनवरी १ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हजारौं मानिसहरुको बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् ।

भ्रमण वर्षको उद्घाटनमा ४० वटा देशका पर्यटनमन्त्री, सम्पूर्ण निजामति तथा सरकारी कर्मचारी, सबै प्रदेशका कार्यकारीहरु, मन्त्रिहरु तथा सम्पूर्ण क्षेत्रबाट मानिसहरु सहभागी गराइनेछ ।

पर्यटन वर्ष सफल पार्न सम्पूर्ण साझेदारहरुलाई प्रचारप्रसारमा समेत सहयोग गर्न पर्यटनमन्त्री योगेश भट्टराईले आग्रहसमेत गरेका छन् ।

उद्घाटनका दिन राजधानीमा प्रचारप्रसारका लागि बोर्डहरु राखिनेछ । भने, विभिन्न ठाउँबाट सस्कृति झल्कने विभिन्न झाँकी, ¥याली सञ्चालन गरिनेछ र ती सबै रंगशालामा पुग्नेछन् ।

उद्घाटन कार्यक्रममा सहभागी हुने सबैलाई नेपाली कागजमा भ्रमण वर्ष सफल बनाउनका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गराइने मन्त्री भट्टराईले बताए ।

भ्रमण वर्ष उद्घाटन भव्य बनाउनका लागि भव्यरुपमा तयारी भइरहेको बताउँदै मन्त्री भट्टराईले विमानस्थलमा समेत पर्यटकहरुलाई भव्य स्वागत गरिनेछ ।

उनका अनुसार त्रिभुवन विमानस्थलसँगै आन्तरिक विमानस्थलमा समेत सम्पूर्ण पर्यटकलाई भव्य स्वागत गरिनेछ । साथै, अघिल्लो दिन न्यू इयर इभका दिन ठमेलमा समेत भव्य कार्यक्रम गरिनेछ ।

भ्रमण वर्षको उद्घाटनको जानकारी दिने क्रममा सम्पूर्ण सरोकार निकायसँगै तीन वटै सुरक्षाका प्रमुखहरुको समेत सहभागिता थियो । उद्घाटनका क्रममा शान्ति सुरक्षा कायम राख्न तथा फोहोर हुन नदिनका लागि सुरक्षा निकायले आग्रह समेत गरेको छ ।


क्लिकमान्डु