टुटल सेवा रोक्ने हो भने निजी घर भाडामा दिन पनि रोकौंः टुटलका सञ्चालक शिक्षित भट्टको अन्तर्वार्ता



शिक्षित भट्ट, सञ्चालक- टुटल

बुधबार मात्रै यातायात व्यवस्था विभागले एउटा सूचना जारी गर्यो । जसमा निजी सवारी साधन भाडामा लगाउन नपाइने, जुन प्रयोजनका लागि अनुमति पाएको हो त्यही प्रयोजनका लागि मात्रै प्रयोग गर्न पाइने भन्यो । यसको सोझो असर केही वर्षयता नेपालमा शुरु भएको स्टार्ट अप व्यवसाय टुटल र पठाओमा देखियो । यसै विषयमा के कस्तो असर पार्छ ? र, यसलाई कसरी समाधन गर्न सकिन्छ भन्ने विषयमा टुटलका संस्थापक शिक्षित भट्टसँग क्लिकमाण्डूका लागि कमलकुमार बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

यातायात व्यवस्था विभागले बुधबार निजी सवारी साधनलाई सार्वजनिक सवारीकारुपमा सञ्चालन गर्न नदिने भन्दै सूचना निकाल्यो । यसले टुटललाई कस्तो असर पार्छ ?

समाज गतिशिल छ । हामी अहिले २७/२८ वर्ष अघिको कानूनमा काम गरिरहेका छौं । तत्कालिन समयमा काठमाडौंमा कति जनसंख्या थियो ? अहिले कति छ ? भौतिक पूर्वाधार त्यसबेला कस्तो थियो, अहिले कस्तो छ ? भन्ने हेर्नुपर्छ । तत्कालिन समयमा कस्तो नियम थियो, अहिले कस्तो छ ? त्यसैले त्यो समयको नियमलाई जोडेर आजको वास्तविकता प्रतिनिधित्व गर्दैन् । त्यसैले आजको व्यवहारिकतालाई प्रतिनिधित्व गर्ने हो भने आजको दिनमा भएका विकासलाई आत्मसाथ गर्नुपर्छ ।

तपाईंले भन्न खोज्नु भएको समय परिर्वतनसँगै नियम/कानूनहरु पनि परिवर्तन हुनुपर्ने हो ?

कानून भनेको समाजको आत्मसाथ नै हो । समाजले यो चिज राम्रो हो भन्यो भने कानून हुने भयो र नराम्रो हो भन्यो भने कानून नहुने भयो । र, फेरि पनि कानूनहरु परम्परा र प्रथाबाट नै बन्ने हो । त्यसैले कानून बनाउनेहरुले पनि आजको समाजको वास्तविकतामा आधारित रहेर बनाउनुपर्छ भन्ने हो ।

अब पठाओ र टुटल चलाउन नपाइने, सरकारले प्रतिबन्ध लगायो (सूचनासहित)

एउटा उदाहरण हेरौं न, निजी घरलाई भाडामा लगाउन पाइँदैन सबैजना होटलमै बस्नुपर्छ भने जस्तो हो । घरको प्रयोग नभएका कोठा भाडामा लगाउनू र मोटरसाइकलको पछाडिको सिट भाडामा लगाउनू एउटै हो । निजी घर भाडामा लगाउन प्रविधिको प्रयोग भएको छै । तर, निजी मोटरसाइकलको खाली रहेको सिट भाडामा लगाउन प्रविधिको प्रयोग भएको छ । फरक यत्ति हो । निजी सवारीसाधन भाडामा लगाउन नपाइने हो भने निजी घर भाडामा लगाउन पनि रोक्नुपर्ने होइन र ?

बुधबार आएको सूचनालाई आधार मान्ने हो भने तपाईंहरुको सञ्चालन गरिरहेको व्यसाय गैरकानूनी भएको छ नि होइन र ?

गतिशिल र अपरिवर्तनीय समाजमा सबै चिजमा पहिले नै कानून आउँछ भन्ने हुँदैन । कानूनहरु नियमन गर्नका लागि पछि आउने नै हो । पहिले गाडी आयो, मानिसहरुले गाडी चलाउन सिके त्यसपछि लाइसेन्सको कानून आयो । नेपालमा पहिले बैंक आयो त्यसपछि नियमन गर्न राष्ट्र बैंक आयो । तर सुरुमै त त्यो पनि गैरकानूनी थियो । इनोभेसनको कुरामा पनि त्यही नै लागू हुने हो । कानूनको आवश्यकता भएपछि बनाउने हो ।

उद्यमी सोचमा प्रहरीको डण्डा, टुटल र पठाओका प्रयोगकर्ता नियन्त्रणमा

नेपालमा मात्रै उद्यमशीलता माथि यसरी प्रहार भएको हो कि अन्य देशमा पनि हुन्छ ?

गतिशिल समाजमा हेर्दा नेपालमा मात्रै होइन जहाँ पनि अपनाउन शुरुमा गाह्रो हुन्छ । नेपाललाई र यहाँका कर्मचारीलाई मात्रै दोष दिने होइन । कतिपय अवस्थामा समाजले स्वीकार गरिसक्दा पनि नीति निर्माता र सरकारले अपनाउन नसक्ने हुक्छ ।

तपाईंहरुले व्यवसाय शुरु गर्ने बेलामा कानून थिएन होला । तर त्यसपछि आजसम्मका दिनमा कानून बनाउनमा तपाईंहरुको भूमिका कस्तो रह्यो ? र, राज्यका निकायहरुबाट के कस्तो सहयोग पाउनुभयो ?

गत वर्ष यस्तै समस्या आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आदेशमै सञ्चालन भएको हो । त्यसपछि हामीहरु पनि कानून बनाउन नलागेको होइन । तर अहिलेसम्म भएको छैन । तर स्पष्टरुपमा हेर्दा हामीले व्यवसाय गर्ने हो । रोजगारी सिर्जना गर्ने हो । सरकारको काम नै कानून बनाउने हो, नियमनको दायरामा ल्याउने हो । हामीले हाम्रो काम गर्यौं, रोजगारी सिर्जना पनि गर्यौं । तर सरकारले यसबीचमा कानून ल्याउने र नियमन गर्नका लागि काम गरेको देखिएन । हामीले हजारौंलाई रोजगारी सिर्जना गरेका छौं । हामीले सिर्जना गरेको रोजगारीमा राज्यले गौरव गर्नुपर्ने हो । तर, उल्टै हामीमाथि प्रहार गरिएको छ । यस्तो प्रवृत्तिले त नेपालमा इनोभेटिभ आइडिया र उद्यमशीलता मरेर जान्छ ।  नागरिकका हैसियतले राज्यलाई योगदान दिँदा हामीले के गल्ती गर्यौं ? हामीले जस्तो अन्य नागरिकले पनि काम गर्ने हो भने देश चाँडै सम्मृद्ध हुँदैन र ?

यातायात विभागले जारी गरेको सूचनाले व्यवहारिकरुपमा के असर पार्छ ?

टुटल मात्रै होइन, अहिले निजी सवारी साधन कार, जीपहरु भाडामा दिइरहेका छन् । टुटलले भन्दा बढी त्यो व्यवसाय ठूलो हो । फेरि हामीले काम गरेको होइन । हामी त मध्यस्थताकर्ता मात्रै हो । काम गर्ने राइडरहरुले हो । जो टुटलसँग जोडिएका छन् । अहिले हामीहरुले राइडरहरुसँग सेवा शुल्क पनि लिएका छैनौं । हामीले डेढ महिनायता विशुद्ध माध्यम मात्रै बन्दै गएका हौं । त्यसैले अहिले कमिसन लिएका छैनौं । कमिसन नलिँदा उपभोक्ताले २० प्रतिशतसम्म कम शुल्कमा सेवा लिन पाएका छन् । त्यसैले अहिले बन्द गर्दा हामीलाई असर पर्दैन ।

तपाईंले अहिलेसम्म गरेको लगानी त डुब्ने भयो नि, हैन र ?

प्रविधिको समय छ । भविष्य यसमा निकै राम्रो छ । हिँजोका दिनमा बंगलादेशमा सञ्चालन भएको पठाओ नेपाल आइसक्यो भने हामी किन बंगलादेश र भारतसम्म जान नसक्ने भन्ने हो । आजका दिनमा हामीले विशुद्ध रुपमा रोजगारी सिर्जना गरिरहेका छौं । खाडी गएर कमाउने मानिसहरुलाई यही बसेर त्यति नै आम्दानी गर्न सक्ने बनाएका छौं । यसलाई सरकारले बुझ्न सक्नुपर्छ । र, फेरि पनि अब हामी देश विकास गर्ने हो भने राजनीतिक मुद्दाबाट आर्थिक मुद्दामा केन्द्रित हुनुपर्छ । त्यसैले स्टार्टअप व्यवसायलाई निरुत्साहित गरेर आर्थिक विकासमा जान सकिँदैन ।

उद्यमशिलता, कानूनी अवरोध, बिनोद चौधरी र टुटल

हिँजोका दिनमा हाम्रा अग्रजहरु राजनीतिक अधिकार र स्वतन्त्रताका लागि लडे । कति सहिद भए, कतिले परिवर्तनपछि अवसर पाए । यो आर्थिक क्रान्तिको युग हो । हामी आर्थिक क्रान्तिको लडाइँमा छौं । सहिद हुनपनि सक्छौं । र, हाम्रै पालामा परिवर्तन गर्नपनि सक्छौं । एउटा कुरा के चाहीँ सत्य हो भने इनोभेटिभ आइडिया र प्रविधिको प्रयोगलाई कसैले केहीदिन रोक्न सक्ला । अर्थात् अहिलेका लागि टुटल र पठाओ बन्द हुन सक्लान् । तर अहिले हामीले दिइरहेको सेवा (सेयर राइडिङ) कसैले र कहिल्यै बन्द गर्न सक्दैन ।

अहिले तपाईंहरुमाथि अन्याय भएको देखिन्छ । कानूनी उपचारको खोजीका लागि अदालत जाने सोच बनाउनुभएको छ कि छैन ?

हामी छलफलकै क्रममा छौं । केहीदिन घटना कसरी अघिबढ्छ भनेर हेर्छौं । संविधानले हामीलाई सम्पत्तिमाथिको अधिकारी, गतिशिलताको अधिकार र रोजगारीको ग्यारेन्टीको अधिकार दिएको छ । उक्त संवैधानिक अधिकारको रक्षा गर्न कानूनी उपचारमा खोज्नुपर्ने हुन्छ । तर, त्योभन्दा अघि हामी मन्त्री, प्रधानमन्त्रीसँग कुरा गर्छौं ।

प्रधानमन्त्री त हम्रो सेवाप्रति अति नै सकरात्मक हुनुहुन्छ । पक्कैपनि उहाँले हाम्रो समस्या बुझ्नुहुनेछ । र, हाम्रो इनोभेटि आइडियालाई साथ दिनुहुनेछ । किनभने सम्मृद्ध नेपाल सुखी नेपाली प्रधानमन्त्रीज्यूको नारा नै हो । हामीजस्तै स-साना स्टार्ट अपहरुले रोजगारी सिर्जना गरेर नै मुलुक सम्मृद्ध बन्ने हो ।


पुष्प दुलाल