उद्यमशिलता, कानूनी अवरोध, बिनोद चौधरी र टुटल



नेपालमा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ अहिलेपनि कार्यान्वयनमा छ । यदी यही कानूनलाई मानेर बसेको भए बिनोद चौधरी नेपालको पहिलो डलर अर्बपति हुने थिएनन् । उनले कानूनले प्रतिबन्ध लगाएपनि कसरी विदेशमा लगानी गरे उनले आफुले प्रकाशित गरेको आत्मकथामा उल्लेख गरेका छन् । २०२१ सालमा बनेको र अव्यवहरिक भएको कानून भने अहिलेसम्म खारेज भएको छैन ।

उनले कानूनलाई मानेर बसेको भए पहिलो अर्बपतिको सूचिमा हुने थिएनन् । उनले व्यवसायको पहिलो बिद्रोह मारवाडी व्यवसायीले डिस्को खोलेर कसरी भन्ने उल्लेख आत्मकथामा नै उल्लेख गरेका छन् । डिस्को खोल्ने निर्णय नगरेको भए सायद विनोद चौधरी अहिले पनि न्यूरोडको साहुजीबाट माथि उठ्ने थिएनन् ।

विवाद जे भएपनि चौधरी नेपालमा उद्यम गर्न चाहनेको रोलमोडल हुन् । कानूनले अहिलेसम्म रोकेपनि उनले चौधरी ग्रुपले नेपाल बाहिर कानूनले प्रतिबन्ध लगाएपनि लगानी गरेको त्यो सबै प्रष्ट छ ।

उद्यमशिलता र नयाँ गर्ने सोच भएकाहरुले कानूनलाई पन्छाउदै नै अगाडि बढ्ने हो ।

नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन अहिलेको सन्दर्भमा अव्यहारिक र असान्दर्भिक भइसक्यो । नेपालबाट थप डलर अर्बपति जन्माउनको लागि यो ऐन खारेज गर्नुको बिकल्प समेत छैन ।

अहिले पछिल्लो समय टुटल र पठाओ प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि कानून र उद्यमशिलताको सोचको विवाद बाहिर आएको छ ।

खुल्ला बजार अर्थतन्त्र अवलम्बन गरेपछि उद्यमीले नयाँ सोच सोच्ने गर्छ । निजी क्षेत्रको विशेषता नै नयाँ सोच सोच्ने हो । जसले कानूनमा के भनेको छ भनेर हेर्ने गर्दैन । व्यवसायिक सोच अगाडि आएर व्यवसाय बढेपछि सो अनुसार कानून परिवर्तन भएका र बनेका धेरै उदाहरण रहेका छन् ।

मोटरसाइकलको पछाडि सिटमा व्यक्तिलाई लिफ्ट दिएर पैसा लिन उपलब्ध गराउने प्लेटफर्म टुटल र पठाओलाई व्यवसायिक रुपमा चलाउन दिन कि नदिने भन्ने विवाद चलेको छ ।

यातायात व्यवस्था ऐन २०४९ अनुसार निजी नम्बर प्लेटका सवारी साधन सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न पाइदैन ।

युवा उद्यमी शिक्षित भट्टले दुईवर्ष अगाडि मोटरसाइकल र स्कुटरको पछाडि व्यवसायिक रुपमा लिफ्ट सकिने प्लेटफर्म टुटलको सुरुवात गरे । टुटलको लोकप्रियता काठमाडौंमा पनि बढ्यो । बंगलादेशी कम्पनी पठाओले पनि त्यस्तै सेवा एकवर्षदेखि सुरु गरेको छ ।

जस अन्तर्गत काठमाडौं उपत्यकामा २० हजार मोटरसाइकल र स्कुटर राइडर रहेका छन् । सार्वजनिक यातायातमा रहेको सिन्डिकेट र राती ८ बजेदेखि नै सार्वजनिक यातायात नपाइने काठमाडौं उपत्यकामा टुटल र पठाउ उपभोक्तामा लोकप्रिय बन्दै गएका थिए । टुटल र पठाओमा राइडर रहेका युवाले आम्दानी समेत गर्दै थिए ।

टुटल र पठाओलाई रोक्नु भनेको सिर्जनशिल युवा उद्यमशिलताको सोचलाई रोक्नु हो । नेपालमा केही गर्न चाहने व्यवसायी सोचलाई अगाडि बढ्न नदिने हो ।

टुटलले दुईवर्ष अगाडि सेवा सुरु गरेपछि कानून विपरित रहेको सेवा सुरु गरेको भनेर विरोध नभएको भने होइन । तर, उपभोक्ताले मन पराएको कारण टुटल लोकप्रिय पनि बन्यो भने प्रयोगकर्ताको विश्वास जित्न समेत सफल भयो ।

तर, उपभोक्तालाई सुलभ रुपमा सेवा नदिएका ट्याक्सी संचालकलाई टुटल र पठाओ सेवा स्विकार्य थिएन । ट्राफिक प्रहरीले कानून विपरित काम गरेको भन्दै यसका प्रयोगकर्तालाई एक हजार जरिवाना गराएर छाडेको छ । जसले गर्दा सिर्जनशिल सोचमाथि कानून हाबी बनेको छ ।

अहिले हामी धेरैले मोबाइलबाट पैसा पठाउन सकिने इसेवा होस् या अन्य आइएमई पे, खल्ती वा प्रभु पे प्रयोग गर्ने गरेका छौ । जतिबेला इसेवाले मोबाइलबाट पेमेन्ट गर्न सकिने सेवाको सुरुवात गरेको थियो । त्यो बेला नेपालमा वैधानिक रुपमा भुक्तानी गर्न सकिने व्यवस्था सुरु भएको थिएन ।

पछि राष्ट्र बैंकले यसलाई नियम बनाएर यसरी सेवा दिने कम्पनीलाई लाइसेन्स दियो । १० वर्ष अगाडि सुरु गरेको इसेवासँगै अन्य कम्पनीले लाइसेन्स पाए । अरु कम्पनीले पनि भुक्तानी सेवाको लागि काम गर्ने लाइसेन्स पाएर व्यवसाय विस्तार गर्ने तयारीमा रहेका छन् ।

विश्वमा होस् नेपालमा जहिलेपनि उद्यमशिलता अगाडि आएपछि मात्र नियमनको कुरा आउने गरेको छ । नेपालमा बैंक होस् या बीमा या सेयर बजार त्यो व्यवसाय आएपछि मात्र नियमन गर्ने संस्था जन्मिएको इतिहास हामीसँग छ ।

नेपाल बैंक १९९४ मा स्थापना भएपछि यसलाई नियमन गर्ने राष्ट्र बैंक २०१४ सालमा स्थापना भयो । यस्तै मालसामान कम्पनीबाट सुरु भएको बीमा कम्पनी सुरु भएपछि बीमा समितिको स्थापना भयो भने धितोपत्र खरिदबिक्री गर्ने कम्पनीको स्थापना भएपछि धितोपत्र बोर्डको स्थापना भयो ।

व्यवसायिक युगमा कुनैपनि वस्तु वा सेवालाई सफल बनाउने भनेको त्यसका प्रयोगकर्ताले हो । प्रयोगकर्ताले नरुचाएको भए टुटल सफल हुने थिएन र त्यो सफल नभएको भए बंगाली कम्पनी पठाओ नेपाल आउने थिएन ।

खुल्ला बजार अर्थतन्त्र अवलम्बन गरेपछि उद्यमीले नयाँ सोच सोच्ने गर्छ । निजी क्षेत्रको विशेषता नै नयाँ सोच सोच्ने हो । जसले कानूनमा के भनेको छ भनेर हेर्ने गर्दैन । व्यवसायिक सोच अगाडि आएर व्यवसाय बढेपछि सो अनुसार कानून परिवर्तन भएका र बनेका धेरै उदाहरण रहेका छन् । जसको पछिल्लो उदाहरणको रुपमा कमोडिटीज एक्सचेन्जलाई नियमन गर्ने कानूनको रुपमा लिन सकिन्छ ।

कानून बनेपछि चलेका एक्सचेन्ज अवैधानिक भएपनि नेपालमा कमोडिटीज एक्सचेन्ज चलाउन सक्ने वैधानिक बाटो खोलेकोे छ । यद्यपी अहिलेसम्म लाइसेन्स दिने धितोपत्र बोर्डले कुनैपनि एक्सचेन्जलाई भने चलाउनको लागि लाइसेन्स भने दिन सकेको छैन ।

हालै मात्र सयुक्त राष्ट्र संघको कन्फ्रेन्स अन ट्रेड अन डेभलपमेन्ट(अनट्याग)ले सार्वजनिक गरेको ‘दि लेस्ट डेभलप्ड कन्ट्रिज रिपोर्ट २०१८’को निचोड नेपालजस्ता देशहरुमा उद्यमशिलताको विकास हुन नसक्नुमा अव्यवहारिक रहेका कानून प्रमुख कारणको रुपमा रहेको देखाएको छ ।

२०४९ सालमा यातायात व्यवस्था ऐन २०४९ बन्दा काठमाडौंको जनसख्या कति हुन्छ भन्ने कल्पना गरिएको थिएन । नेपालमा सहज सार्वजनिक यातायातको व्यवस्था भए टुटल एप आउने पनि थिएन । त्यो व्यवस्था नभएपछि युवाले देखेको सिर्जनशिल उद्यमको सोचले टुटल एपको जन्म भएको हो । जसले आफै मोटरसाइकल भाडामा लगाउने गर्दैन । मात्र एउटा प्लेटफर्म मात्र दिने गर्छ ।

२०४९ सालको ऐनलाई समय अनुसारको संसोधन अहिलेको आवश्यक्ता हो । २०४९ सालमा कानून बन्दा प्रविधिको विकास अहिलेको अवस्थामा हुन्छ भन्ने कल्पना समेत गरिएको थिएन । टुटल प्रविधिले विकास गरेको सोच हो । जसले उपभोक्तालाई सहज सुविधा दिन्छ ।

व्यवसायिक युगमा कुनैपनि वस्तु वा सेवालाई सफल बनाउने भनेको त्यसका प्रयोगकर्ताले हो । प्रयोगकर्ताले नरुचाएको भए टुटल सफल हुने थिएन र त्यो सफल नभएको भए बंगाली कम्पनी पठाओ नेपाल आउने थिएन ।

टुटल र पठाओलाई रोक्नु भनेको सिर्जनशिल युवा उद्यमशिलताको सोचलाई रोक्नु हो । नेपालमा केही गर्न चाहने व्यवसायी सोचलाई अगाडि बढ्न नदिने हो ।

अबको केही समयपछि प्रधानमन्त्री केपी शर्मा ओली वल्र्ड इकोनोमी फोरमको बैठकमा भाग लिन डाबोस जादैछन् । पहिलो पटक नेपाली प्रधानमन्त्रीको सहभागिता विश्वको आर्थिक मन्चमा हुँदैछ । के हामीले लगानी भित्राउनको लागि नयाँ सोचलाई बढाउन नदिने कुरा डाबोसमा राख्ने खोजेको हो ? यसमा प्रधानमन्त्री प्रष्ट हुनुपर्छ ।

सरकारले गर्न लागेको लगानी सम्मेलनमा बैदेशिक लगानी भित्राउने प्रमुख क्षेत्रमा सूचना र प्रविधिलाईपनि प्रमुख मानेको छ । टुटल र पठाओ बन्द गरेर सूचना प्रविधिमा आउने बैदेशिक लगानी बढ्ला त्यसमा सरकारले हेर्नुपर्छ ।

व्यवसाय अगाडि बढेको र उपभोक्ताले समेत रुचाएपछि त्यसलाई व्यवस्थित गर्ने वा प्रहरी लगाएर बन्द गर्ने त्यो सोच्ने विषय पनि प्रधानमन्त्रले लिने हो । अन्यथा कानून विपरित काम गरेको भन्दै कारवाहीको सुरुवात अर्बपति चौधरीबाट नै गर्नुपर्यो । किनकी उनले नै कानूनले प्रतिबन्ध लगाएपनि विदेशमा लगानी गरे र फोब्र्सको अर्बपतिको सूचिमा पहिलो नेपाली बन्न सफल भए ।


क्लिकमान्डु