युरोप पठाउने भन्दै ठगी गर्ने तीन महिला पक्राउ



काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–२५ घर भई काठमाडौँको टोखा नगरपालिका–६ बस्ने ३० वर्षीय मधु तिमल्सिना अधिकारी, रुपन्देही देवदह नगरपालिका–१२ घर भई काठमाडौँ महानगरपालिका–२८ बस्ने ३२ वर्षीया गीता कुँवर तथा काठमाडौँ बागबजारस्थित ग्लोबल एक्सेल अपस्किल एन्ड स्टडी इन्फो सेन्टरका सञ्चालिका सिराहाको सिरहा नगरपालिका–७ घर भई काठमाडौँ–२२ बस्ने ३० वर्षीया दिव्या यादव रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ पर्नेमध्ये मधुले रोमानिया पठाइदिने भन्दै तीन जना पीडितहरुबाट सात लाख, गीताले युके पठाइदिने भन्दै आठ जना पीडितबाट १६ लाख पाँच हजार तथा दिव्याले स्लोभाकिया पठाइदिने भन्दै एक जना पीडितबाट रु पाँच लाख १५ हजार लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरुको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’

प्रहरीले मधुलाई काठमाडौँको टोखा–६ बाट र गीतालाई काठमाडौँ–२८ बाट तथा दिव्यालाई काठमाडौँ न्यूरोडबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउमध्ये मधु र गीतालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ र दिव्यालाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।


क्लिकमान्डु