उद्यमी सोचमा प्रहरीको डण्डा, टुटल र पठाओका प्रयोगकर्ता नियन्त्रणमा



काठमाडौं । २०७२ सालमा भारतले नाकाबन्दी लगाएको समयमा काठमाडौं लगायत सहरी क्षेत्रमा लिफ्ट दिने कल्चरको विकास भयो । मोटरसाइकल र स्कुटरमा हिड्नेले पछाडि लिफ्ट दिन थाले ।

मोटरसाइकलमा र स्कुटरको एक सिट खाली हुने र यसरी लिफ्ट दिन सकिने व्यवस्थित व्यवसायिक प्रणालीको विकास युवा उद्यमी शिक्षित भट्टले भट्टले दुईवर्ष अगाडि टुटल सेवा सुरुवात गरे ।

यसरी मोटरसाइकल र स्कुटरको पछाडि यात्रु बोक्ने प्लेटर्फम टुटलमा ९ हजारभन्दा बढी राइडर छन् । एकवर्ष अगाडि बंगलादेशी कम्पनी पठाओले समेत नेपालमा सेवा सुरु गरेको छ । दुईवटा प्लेटफर्ममा करिब २० हजार राइडर भएको अनुमान गरिएको छ ।

ट्राफिक प्रहरीले भाडामा प्रयोग गरेको भन्दै टुटल र पठाओका प्रयोगकर्तालाई नियन्त्रणमा लिएको छ । सवारी यातायात व्यवस्था ऐन अनुसार निजी सवारी साधनले भाडामा यात्रु भने बोक्न पाइदैन ।

अरबौंका भ्रष्टाचार गर्नेहरू,दिनदहाडै बलात्कार/हत्या गर्नेहरू, अफिसमै सचिव कुट्नेहरूका रौं झार्न नसक्ने तर फुर्सदको वेला दुइपांग्रे चलाएर कलेजको फिसको जोहो गर्ने र न्यूनआय भएका यात्रुलाई राहत दिने स्वरोजगार युवाहरूलाई समातेर के पौरख देखाएको हो ? उद्यमशीलता रोक्ने कानून पो फेर्ने त ?’

टुटल र पठाओले मोटरसाइकल र स्कुटरका प्रयोगकर्तालाई एउटा प्लेटफर्म उपलब्ध गराउने हो ।

टुटलका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत भट्ट आफुहरुले युवालाई स्वरोजगार बन्नको लागि प्लेटफर्ममात्र दिएको बताउँछन् ।

‘एक्लै मोटरसाइकल वा स्कुटरमा हिड्दाभन्दा अर्को व्यक्तिलाई लग्दा आम्दानी पनि हुने र सेवापनि हुने उद्देश्यले कम्पनी सुरु गरिएको हो,’ भट्टले क्लिकमाण्डूसँग भने ।

यो विषयमा छलफल हुनुपर्ने थियो र यसको सुरुवात भएको भन्ने बुझाई भट्टको रहेको छ ।

विश्वमा उद्यमशिलताको सोच अगाडि आएपछि मात्र पछि नियमन हुने गरेको छ । नेपालमा पनि धेरैजसो व्यवसायमा निजी क्षेत्रले व्यवसाय सुरु गरेपछि मात्र नियमन सुरु भएको हो । यसको पछिल्लो उदाहरणको रुपमा पेमेन्ट कम्पनीलाई लिन सकिन्छ ।

ट्याक्सी संचालकको ठूलो दवाव ट्राफिक प्रहरीलाई टुटल र पठाओ विरुद्ध रहेको थियो । मिटरमा जान नमान्ने र मिटरपनि ठिक नहुँने ट्याक्सीको एउटा सानो बिकल्पको रुपमा टुटल र पठाओ आएको थियो ।

राष्ट्रिय समाचार समिति(रासस)का अनुसार टुटल, पठाओलगायतका मोबाइल एप्स सञ्चालन गरी यात्रु बोक्ने गरेका विशेष सूचनाका आधारमा चारवटा मोटरसाइकललाई कारवाही गरेको हो ।

महाशाखाले बा २६ प ९९४६, बा ३५ प ८०३४, बा ९३ प ८५१९, लु २० प ७६३४ र प्रदेश ३-०२-००३ प ६५८२ नम्बरको मोटरसाइकलका चालकलाई कारबाही गरिएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्त पन्तले निजी सवारी साधनले पैसा लिएर यात्रु बोक्न नपाइने भएकाले कारवाही गरिएको जानकारी दिए ।

यातायात व्यवस्था ऐन २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारी साधनले उपदफा २ बमोजिम निजी सवारी साधन यातायातका लागि प्रयोग गर्न नपाइने व्यवस्था गरेकाले सोहीअनुसार कारवाही गरिएको पन्तले जानकारी दिए ।

कारवाही गरिएका मोटरसाइकल चालकलाई एक हजारसम्म जरिवना गरिएको महाशाखाले जनाएको छ । यसरी भाडामा यात्रु बोक्ने मोटरसाइकल धेरै रहेका भन्दै महाशाखाले यस्ता सवारी साधनमाथि विशेष कारवाही अभियान शुरु गरेको छ जनाएको छ ।

नेपाल मिटर ट्याक्सी सङ्घका अध्यक्ष अर्जुन गौतम निजी सवारीसाधनले यात्रु बोक्दा सार्वजनिक सवारी साधनलाई समस्या परेको बताए ।

टुटल र पठाओका प्रयोगकर्तालाई ट्राफिक प्रहरीले समातेको विषयमा दुईथरी प्रतिक्रिया आएको छ । एकथरीले गैरकानूनी काम भएको हुँदा यसलाई रोक्नुपर्ने आवश्यक्ता रहेको बताउँछन् ।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले उद्यमशिलता रोक्ने कानून फेनुपर्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘अरबौंका भ्रष्टाचार गर्नेहरू,दिनदहाडै बलात्कार/हत्या गर्नेहरू, अफिसमै सचिव कुट्नेहरूका रौं झार्न नसक्ने तर फुर्सदको वेला दुइपांग्रे चलाएर कलेजको फिसको जोहो गर्ने र न्यूनआय भएका यात्रुलाई राहत दिने स्वरोजगार युवाहरूलाई समातेर के पौरख देखाएको हो ? उद्यमशीलता रोक्ने कानून पो फेर्ने त !’

विवेकशिल पार्टीका उज्जल थापाले ट्वीटरमा भनेका छन्, ‘टुटल रपठाओ जस्ता नवीन यातायातको नमुना समाधान गर्दै आएका व्यवसायलाई पुरस्कार दिनुको साटो उल्टो रोक्ने प्रयास गरियो भने नेपाल कसरी संवृद्ध हुन्छ ?’

टुटल र पठाओ कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका कम्पनी हुन् । यी कम्पनीले आफै मोटरसाइकल र स्कुटर भने लिएर भाडामा लगाउने होइन । मात्र चालक र यात्रुलाई एउटा प्लेटफर्म दिने हो । जसको प्रयोग वापत केही शुल्क कम्पनीले राख्छन् भने बाँकी मोटरसाइकल र स्कुटर चालकले ।

टुटल र पठाओमा सेवा दिनेहरु सबै युवा छन् । ‘युवा उद्यमशिलतालाई बढाउने वा विदेश जाननै प्रोत्साहन गर्ने यसमा छलफल हुन आवश्यक छ,’ टुटलका सिइओ भट्टले भने, ‘निशुल्क नाकाबन्दीको समयमा लिफ्टको कल्चर विकास हुँदा हामी खुसी थियौ, पैसा कमाउदा समस्या हुनु भएन।’ टुटलको प्लेटफर्मले युवालाई आम्दानी गर्ने माध्यम बनेको भट्ट बताउँछन् ।


क्लिकमान्डु