निगम अध्यक्ष खरेललाई हटाउने मन्त्रालयको तयारी, यस्तो छ कारण



काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेललाई हटाउने तयारी गरिएको छ ।

खरेलको कामकारबाहीप्रति असन्तुष्ट बनेका पर्यटनमन्त्री योगेश भट्टराईले निगम सुधार गर्नका लागि खरेललाई नहटाइ नहुने निश्कर्षमा पुगेका छन् ।

गत वर्ष भदौमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै नियुक्त गरेका खरेलले अपेक्षाकृत काम गर्न नसकेपछि उनलाई हटाउने तयारी गरिएको मन्त्रालय स्रोतले जानकारी दियो ।

‘अहिलेका मन्त्रीज्यूले नियुक्ती गर्नु भएको भए पहिले नै हटाइसक्नुहुन्थ्यो, तर प्रधानमन्त्रीज्यूले नियुक्ती गर्नु भएकाले हटाउन केही समय पर्खिएको हो’ मन्त्रालय स्रोतले भन्यो, ‘खरेलको कामप्रति प्रधानमन्त्री नै असन्तुष्ट हुनुहुन्छ, त्यसैले उहाँले पनि हटाउनका लागि संकेत दिइसक्नु भएको छ ।’

पर्यटनमन्त्री भट्टराईले केही दिनभित्रै खरेललाई हटाउने तयारी गरेको स्रोतको दाबी छ ।

खरेलले बिजनेश प्लान नबनाएको, निगमको अटिड नगरेको, चिनियाँ विमान सञ्चालन गर्न प्रभावकारी काम नगरेको, ग्राउन्ड ह्यान्डलिङमा काम नगरेको र निगम लगातार घाटामा गइरहेको प्रति भन्दै मन्त्री भट्टराई असन्तुष्ट छन् ।

मन्त्री भट्टराईले बुधबार बिहान समेत काम नगर्ने कर्मचारीलाई पद ओगटेर बस्नुभन्दा पनि राजीनामा दिन सुझाव दिएका थिए । ‘काम नगर्ने कर्मचारीहरुले राजीनामा दिनुहोस्, मैले हटाइसकेपछि अदालत गएर नरुनु होला,’ भट्टराईले बुधबार बिहान भनेका थिए ।

पर्यटनमन्त्रीमा नियुक्त भइसकेपछि निकै सक्रियता देखाएका भट्टराईले जिम्मेवारी पूरा नगर्ने र जवाफदेही नहुने सबैलाई हटाउने चेतावनी यसअघि पनि दिइसकेका छन् ।


क्लिकमान्डु