बंगलादेशी लगानीकर्ताले माने एनबी र एनसीसी बैंक मर्जमा जाने, यस्ता हुनेछन् वित्तीय सूचक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरको नीति लिएसँगै बैंकिङ क्षेत्रमा मर्जरको चर्चा अत्याधिक छ । राष्ट्र बैंकले बेला बेलामा मर्जरको विषयमा ताकेता पनि गरिरहेको छ ।

बिग मर्जरको नीति अनुसार नै ग्लोबल आइएमई बैंक र जनता बैंक मर्ज भएर मंसिरको अन्तिम साता वा पुसको पहिलो सातासम्ममा एकीकृत कारोबार गर्दैछन् ।

वाणिज्य बैंक र वाणिज्य बैंकबीच मर्जर नभए पनि ठूलो बैंक बनाउनका लागि एनएमबि बैंकले राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ ।

प्राइम बैंकले राष्ट्रियस्तरको कैलाश विकास बैंकलाई गाभ्दै छ भने मेगा बैंकले पनि राष्ट्रियस्तरको गण्डकी विकास बैंकलाई गाभ्दै छ ।

राष्ट्र बैंकले बैंकहरुले बुझाएको मर्जरको प्रतिवद्धता अनुसार के कस्ता काम भइरहेका छन् भनेर फलोअप पनि गरिरहेको छ । राष्ट्र बैंकको फलोअपले बैंकहरुलाई मर्जरमा जान तीब्र दबाब परिरहेको छ ।

कुनैबेला खराब व्यवसायिक समुहले संचालन गर्ने एनबी र एनसीसी बैंकबीच पनि मर्जरको विषयमा केही चरण कुराकानी भएको छ । एनबी ग्रुपको लगानी अहिले दुबै बैंकमा भएपनि निकै नै कम छ । एनबी बैंकको सबैभन्दा ठूलो सेयरधनी बंगालदेशको आईएफआईसी बैंक हो । आइसीएफसीको एनबी बैंकमा ४१ प्रतिशत सेयर छ ।

एनबी बैंक र एनसीसी बैंकका केही सेयरधनीबीच कुराकानी चलेको थियो । जसमा एनबी बैंकका सेयरधनीहरुले एनबी बैंक र एनसीसी बैंक मर्जरमा जानका लागि बंगलादेशी लगानीकर्ता तयार हुनुपर्ने जानकारी गराएका थिए ।

कुराकानीमा संलग्न स्रोतले दिएको जानकारी अनुसार एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश अर्यालले मर्जरपछि एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाभन्दा तलको पदमा बसेर काम गर्न आफुलाई कुनै असजिलो नहुने सन्देश सुनाएका थिए ।

‘ढुंगाना सर एनबीमा जानुअघि एनसीसीमा उहाँको अण्डरमा बसेर काम गरेको हो, मर्जरपछि पनि उहाको अण्डरमा बसेर काम गर्न समस्या हुँदैन,’ अर्यालले भनेका थिए ।

मर्जरपछि बैंक ठूलो बन्ने र ठूलो बैंकको डेपुटी हुन समस्या नहुने निचोड अर्यालले समेत निकालेका थिए । एनसीसी बैंकमा अहिले ठूलो सेयरधनी कोहीपनि छैन । एनबी बैंकमा बंगलादेशी बैंक नै सबैभन्दा ठूलो सेयरधनी हो ।

एनबी बैंकका उच्च अधिकारी तथा संचालकहरुले बंगलादेशी लगानीकर्तासँग मर्जर नगरी बैंक चलाउन तथा आकर्षक प्रतिफल दिनको लागि कठिनाई हुने सन्देश दिएका छन् ।

‘तीव्र प्रतिस्पर्धाको कारण बैंकलाई मर्ज नगरी बैंकबाट राम्रो प्रतिफल आउदैन, बैंकलाई ठूलो बनाउनुपर्ने आवश्यक्ता छ, हाम्रो बैंकलाई उपयुक्त भनेको एनसीसी हो,’ एनबी बैंकका एक संचालकले क्लिकमाण्डूसँग भने ।

मर्ज गर्नुपर्छ भन्ने कुरामा बंगलादेशी लगानीकर्ता तयार रहेपनि उनीहरुले खोजेको भने अलि पुराना र ठूला बैंक छ ।

असोज मसान्तको तथ्यांकअनुसार एनबी बैंकको नाफा एनसीसीको भन्दा बढी छ । एनबी बैंकले ४० करोड नाफा गरेको छ भने एनसीसी बैंकले ३४ करोड रुपैयाँ नाफा गरेको छ । नाफाको आधारमा कम नाफा गर्नेमा एनसीसी दोस्रो स्थानमा छ ।

निक्षेप र कर्जाको हिसाबले एनबीभन्दा एनसीसीको बढी छ । असोज मसान्तको तथ्यांक अनुसार एनबी बैंकले निक्षेप असार मसान्तको तुलनामा बढाउन सकेको छैन । एनबी बैंकसँग ५९ अर्ब ३७ करोड रुपैयाँ निक्षेप छ । एनसीसी बैंकसँग ६६ अर्ब २ करोड निक्षेप छ । असार मसान्तको तुलनामा एनसीसीले निक्षेप बढाउन सकेको छैन ।

असार मसान्तमा एनबी बैंकसँग ५९ अर्ब ७६ करोड रुपैयाँ निक्षेप थियो भने एनसीसी बैंकसँग ६७ अर्ब ३ करोड रुपैयाँ निक्षेप थियो ।

कर्जातर्फ भने एनबी बैंकले ५७ अर्ब ९४ करोड रुपैयाँ दिएको छ । एनसीसी बैंकले ६५ अर्ब ६९ करोड रुपैयाँ दिएको छ ।

राष्ट्र बैंकले एकीकृत निर्देशिकामा पूँजीकोष १३ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । असोज मसान्तको तथ्यांक अनुसार एनबी बैंकसँग १३.४४ र एनसीसीसँग १३.२० प्रतिशतको पूँजीकोष अनुपात छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षदेखि नै कोर क्यापिटलको २५ प्रतिशत ऋणपत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ । त्यो हुँदा एनबी र एनसीसी बैंकले २/२ अर्बको ऋणपत्र ल्याउनुपर्छ । जसले पूँजीकोष बढाउन भने मद्दत गर्छ ।

एनबी बैंकको चुक्ता पूँजी अहिले ८ अर्ब ९ करोड रुपैयाँ रहेको छ । एनबी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । ५ प्रतिशत बोनस सेयर दिएपछि एनबी बैंकको चुक्ता पूँजी ८ अर्ब ५० करोड पुग्छ ।

एनसीसी बैंकको चुक्ता पुँजी ८ अर्ब २ करोड छ । एनसीसी बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छैन । एनएफआरएस अनुसार एनसीसी बैंकले १४.८३ प्रतिशत लाभांश दिने हैसियत राख्छ । यद्यपी राष्ट्र बैंकबाट विवरण स्वीकृत भएर आउँदा यसमा फरक भने पर्छ ।

अहिलेको आधारमा दुबै बैंकको चुक्ता पूँजी जोड्दा १६ अर्ब ११ करोड रुपैयाँ हुन्छ । यसमा एनबीले प्रस्ताव गरेको बोनस सेयर जोडिएको छैन ।

असोज मसान्तको वित्तीय विवरण अनुसार दुबै बैंकको निक्षेप १ खर्ब २५ अर्ब रुपैयाँ हुन्छ । जुन निक्षेपको आधारमा अहिले सञ्चालनमा भएका बैंकहरुमध्ये यी दुई बैंक एक हुने हो भने ७ औं स्थान हुन्छ । कर्जा भने १ खर्ब २३ अर्ब रुपैयाँ हुन्छ । कर्जाको आधारमा पनि बैंक ७ औं ठूलो हुन्छ । नाफा भने ७८ करोड हुन्छ । जुन बैंकहरुमा ८औं स्थान हो । एनीबका ७४ र एनसीसीका १२० शाखा छन् ।

असोज मसान्तको तथ्यांक हेर्ने हो भने एनबी र एनसीसी दुबैमा खराब कर्जा भने अझै बाँकी नै छ । एनबीको तुलनामा एनसीसी बैंकमा खराब कर्जा बढी छ । एनबी बैंकमा १.९७ प्रतिशत छ भने एनसीसी बैंकमा २.८७ प्रतिशत रहेको छ ।

एनबी र एनसीसी बैैंकका केही लगानीकर्ता मर्जरको लागि इच्छुक भएपनि मर्जर गर्न सजिलो भने छैन । त्यसको लागि पहिलो तयार हुनुपर्ने भनेको बंगलादेशी लगानीकर्ता हो । एनसीसी बैंकमा पनि धेरै खाले लफडा छ । जसको कारण भदौमा बैंकले बोलाएको साधारणसभाले संचालकको चयन नै गर्न सकेन ।


पुष्प दुलाल