मन्त्री बन्ने होटलका साहुजी मोती दुगड, बधाई पाउने सनराइज बैंकका अध्यक्ष !



मन्त्री बनेका मोतिलाल दुगड बाँया र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड दाँया

काठमाडौैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीपरिषद् हेरफेर गरेका छन् । ६ जना मन्त्री र ३ जना राज्यमन्त्री बनेका छन् । जसमा मारवाडी समुदायका व्यापारी मोतीलाल दुगड छन् ।

धेरैले पुरानो व्यवसायिक घराना दुगड समुहका मोतिलाल दुगड उद्योग तथा वाणिज्यराज्यमन्त्री बनेकोमा बधाई दिए । एमभी दुगड ग्रुपका अध्यक्ष मोतिलाल दुगडले मोबाइल नै अफ गरेर राखेका छन् । सामाजिक संजाल समेत उनी मन्त्री भएको चर्चा चलेको थियो । दुगड सनराइज बैंकका समेत अध्यक्ष हुन् ।

जबकी उद्योगराज्यमन्त्री बन्ने मोतिलाल दुगड बिराटनगरका अर्का व्यवसायी हुन् ।

सेन्चुरी मसला उद्योग चलाउने मोतिलाल दुगडले बिरानगरमा ह्यारिसन होटल संचालन गरेका छन् । ह्यारिसन ब्राण्डमा बिराटनगरमा नै अर्को ५ तारे होटल ल्याउने तयारी गरेका छन् ।

२०६४ सालमा सरिता गिरीले नेतृत्व गरेको सद्भावना पार्टीबाट मोतिलाल दुगड सभासद् भएका थिए । २०७० सालमा उनले आफ्नो राजनीतिक दल खोलेका थिए । पछि उनले खोलेको दललाई एमालेमा गाभेका थिए ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुगड तत्कालिन एमालेबाट समानुपातिक अन्तर्गत सांसद् भएका हुन् । उनले संचालन गरेको होटल प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

निजी क्षेत्रका व्यवसायीहरुको सरकारसँग अहिले विश्वास संकटमा छ । यस्तोमा मारवाडी समुदायबाट राज्यमन्त्री मोतिलाल दुगड बन्दा आफ्ना समस्या सुनाउन पाइने अपेक्षा भने व्यवसायीको छ ।

यसभन्दा अगाडि पनि सनराइज बैंकका अध्यक्षको बारेमा लेखिने समाचारमा सांसद् मोतिलाल दुगडको फोटो प्रयोग हुने गरेको थियो । बधाई आफ्ना हिसाबले पहिला पनि दुबैले एक अर्काको सफलतामा खाने गरेका थिए ।


क्लिकमान्डु