राष्ट्र बैंकले सम्झाएपछि यसरी ब्याक भयो एनआइसी एशिया, भन्यो- प्राविधिक गल्ती भयो



काठमाडौं । एनआइसी एशिया बैंकले मंगलबार अपरान्ह ४ बजेर ३१ मिनेट जाँदा बचत खातामा ९.७५ प्रतिशत ब्याजदर दिने स्किमको प्रेस विज्ञप्ती सञ्चारमाध्यमहरुलाई पठायो । केही अनलाइन सञ्चारमाध्यमहरुले तत्कालै उक्त प्रेस विज्ञप्ती पब्लिस गरे ।

बैंकर्स संघमा भएको भद्र सहमति अनुसार बैंकहरुले बचत खातामा ६ प्रतिशतभन्दा बढी ब्याज दिन पाउँदैनन् । तर, एकाएक एनआइसी एशियाले ९.७५ प्रतिशत दिने स्किम ल्याएपछि यसबारे सर्वत्र चासो बढ्यो ।

बैंकर्स संघका केही पदाधिकारीहरु राष्ट्र बैंक पुगेका थिए । मिडियामा एनआइसी एशियाले बचतमै ९.७५ प्रतिशत ब्याज दिने समाचार पढेपछि उनीहरुले तत्कादै राष्ट्र बैंकका अधिकारीहरुलाई जानकारी गराए ।

राष्ट्र बैंकका अधिकारीहरुले पनि अनलाइन सञ्चारमाध्यम खोलेर हेरे । र, उक्त समाचार देखे ।

अर्थमन्त्रालय र राष्ट्र बैंकको दवावमा बैकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको हो ।

त्यसैले राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले तत्कालै एक्सन लियो । विभागका एक अधिकारीले एनआइसी एशियाको उच्च व्यवस्थापनलाई फोन गरेर सोधे– ‘तपाईंको बैंकले बचतमै ९.७५ प्रतिशत ब्याज दिने भनेर मिडियामा समाचार आइरहेका छन्, बैंकर्स संघबाट गुनासो आएको छ । के भएको हो ?’

राष्ट्र बैंकको नियमन विभागबाट फोन आएपछि एनआइसी एशियाको उच्च व्यवस्थापन झस्कियो ।

स्रोतका अनुसार नियमन विभागका कार्यकारी नर्देशक देवकुमार ढकालले नै फोन गरेर सम्झाएका थिए ।

‘बैंकर्स संघको भद्र सहमति भनेको अर्थ मन्त्रालय र राष्ट्र बैंकको सहमतिमा भएको हो, भद्र सहमतिकै कारण ब्याजदरमा बल्लबल्ल स्थिरता आएको छ, तपाईंको बैंकले ब्याज बढाएपछि अरु बैंकले पनि बढाउँछन् र केही दिनमै ब्याजदर अनियन्त्रित हुन्छ, तपाईंले के का आधारमा ब्याजदर बढाउनुभयो ?’ कार्यकारी निर्देशक ढकालको भनाई उदृत गर्दै राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘यसरी बजार बिगार्ने काम नगर्नुहोस्, तत्कालै करेक्सन गर्नुभएन भने हामी एक्सन लिन बाध्य हुनुपर्छ ।’

ढकालले यस्तो निर्देशन दिएपछि एनआइसी एशिया बैंकको उच्च व्यवस्थापनले आफूहरुको त्यस्तो मनसाय नभएको दाबी गर्यो ।

‘हाम्रो नियत ब्याजदर बढाएर बजार बिगार्ने होइन हजुर, प्राविधिक गडबढीका कारण यस्तो भएको हो,’ एनआइसी एशियाको उच्च व्यवस्थापनले यसरी प्रष्ट्याए ‘हामी तत्कालै करेक्सन गरिहाल्छौं ।’

राष्ट्र बैंकको निर्देशनपछि एनआइसी एशिया बैंक ब्याज बढाउने निर्णयबाट तत्कालै पछि हट्यो । र, ५ बजेर ५२ मिनेट जाँदा यसअघि पठाइएको इमेल प्राविधिक मिस्टेकले आएको भन्दै त्यसलाई प्रकाशित÷प्रसारित नगर्न अनुरोध गर्दै इमेल पठाएको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा निक्षेप बढ्न नसकेपछि बैंकले आकर्षक ब्याज दिएर निक्षेप तान्ने रणनीति बनाएको थियो । तर, राष्ट्र बैंकको निर्देशनका कारण तत्काल ब्याक हुनुपर्यो ।

यो आर्थिक वर्षको पहिलो ३ महिनामै बैंकले निक्षेप जम्मा ४ अर्ब रुपैयाँले बढाएर १ खर्ब ८५ अर्ब रुपैयाँ पुर्याएको छ । त्यसैगरी, यस अवधिमा बैंकले कर्जा भने १३ अर्ब रुपैयाँले बढाएर १ खर्ब ६३ अर्ब रुपैयाँ पुर्याएको छ ।

निक्षेप र कर्जाबीचको असन्तुलन कायम रहेपछि बैंकको सिसिडि रेसियाे टाइट भएको छ !

जसकारण निक्षेप नबढेसम्म बैंक थप ऋण प्रवाह गर्न सक्ने अवस्थामा छैन ।


पुष्प दुलाल