नेपाल एयरलाइन्समा रणनीतिक साझेदारः के उपयुक्त होला त श्रीलंकाको मोडल ?



काठमाडौं । योगेशकुमार भट्टराई पर्यटन मन्त्री बनेको एक महिनापछि नेपाल वायु सेवा निगमलाई सुधार हेतु ५ सदस्यीय उच्चस्तरीय सुझाव समिति गठन गरे । जसलाई एक महिनाको समय तोकिएको थियो ।

समितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पहिलो बुँदामै रणनीतिक साझेदारका रुपमा विदेशी लगानीकर्ता ल्याउनु सुझाव दियो ।

प्रतिवेदनमा भनिएको थियो, ‘हवाई सेवाको विकास, विस्तार र समय सापेक्ष सशक्तिकरणका लागि नेपाल सरकार, पर्यटन व्यवसायी, बैंक तथा वित्तीय संस्थान, विदेशी लगानीकर्ता (रणनीतिक साझेदार), सम्बन्धित कर्मचारी वर्ग र आम नेपाली नागरिक समेतको व्यापक सहभागिता बिना सम्भव छैन ।’

त्यसो त नेपाल वायु सेवा निगमलाई रणनीतिक साझेदार ल्याएर उकास्ने योजना नयाँ भने होइन । विगतका सुझाव समितिले समेत रणनीतिक साझेदार ल्याउनका लागि सुझाव दिएका थिए ।

त्यसका ४ वर्ष अघि नै जर्मन विमान कम्पनी लुफ्थान्सा कन्सल्टिङलाई नेपाल वायु सेवा निगमको रणनीतिक साझेदार बनाउने प्रक्रिया अघि बढेको थियो ।

लुफ्थान्साले सन् २०१५ मा रणनीतिक साझेदार बन्न प्रस्ताव गरेको थियो । सुशील कोइराला प्रधानमन्त्री हुँदा लुफ्थान्साले प्रधानमन्त्री कार्यालयमै गएर प्रस्ताव गरेको थियो । तर उसले नेपाल एयरलाइन्स सञ्चालनको जिम्मा लिएवापत आम्दानीको जम्मा ३ प्रतिशत रकम वार्षिक रुपमा भुक्तानी गर्ने प्रस्ताव गरेको थियो । जसलाई अर्थमन्त्रालयले स्वीकृत गरेको थियो ।

तत्कालिन समयमा रणनीतिक साझेदार छान्नका लागि मन्त्रालयले विश्वका ५ वटा कम्पनीलाई प्रस्ताव पठाएको थियो जसमा लुफ्थान्साले मात्रै चासो देखाएको थियो ।

रणनीतिक साझेदार मात्रै होइन, निगमका अध्यक्ष मदन खरेलले त्यसभन्दा अघि म्यानेजमेन्ट कन्ट्रयाक नै ल्याउनुपर्ने बताइसकेका छन् ।

‘रणनीतिक साझेदार ल्याउने प्रक्रिया लामो हुन्छ त्यसैभन्दा त्यसभन्दा अघि म्यानेजमेन्ट कन्ट्रयाक नै ल्याउनु पर्छ’ खरेलले भने ।

निगमको वर्तमान अवस्था निकै संघर्षपूर्ण छ । भएका विमान उडाउन सकेको छैन भने अन्तर्राष्ट्रिय उडानका लागि समेत पर्याप्त उडान हुन सकेको छैन । उडान प्रभावित अन्तर्राष्ट्रिय उडानमा भन्दा आन्तरिक उडानमा उत्तिकै छ ।

निगमसँग भएका चिनियाँ विमानहरु अहिले थन्किएका छन् । अहिले एउटा मात्रै चिनियाँ विमानले उडान गरिरहेको छ । त्यस्तै, बोइङ बिक्री गर्न समेत निगमले सकिरहेको छैन । भने वाइडबडी खरिद गर्दा र चिनियाँ विमानको ऋणको भारले निगमलाई वर्षेनी संकटको गहिराईमा पुर्याउँदै लगेको छ ।

यस्तो अवस्थामा निगमलाई बचाउने अनुसार उच्च स्तरीय अध्ययन समितिले रणनीतिक साझेदार ल्याउनु राम्रो हुने सुझाव दिएको थियो । साथै निगमलाई बचाउनका लागि आन्तरिक र बाह्य उडानका लागि २ वटा छुट्टाछुट्टै कम्पनी खडा गरी सञ्चालन गर्न समेत सुझाव दिएको थियो ।

तर हालसम्म पनि रणनीतिक साझेदार ल्याउनका लागि पहल भने भएको छैन ।

जानकारहरुका अनुसार निगममा रणनीतिक साझेदार ल्याउने हो भने श्रीलंकन मोडल पनि अपनाउन सकिने बताउँदै आएका छन् । श्रीलकामा सरकारी स्वामित्वको एयरलाइन्स कम्पनी श्रीलंकन एयरमा पनि विगतमा १० वर्षमा रणनीतिक साझेदार ल्याइएको थियो । तत्कालिन समयमा घाटा बेहोरिरहेको श्रीलंकन एयरले रणनीतिक साझेदार भित्रिएपछि फाइदामा पुगेको थियो ।

के हो श्रीलंकन मोडल ?

सरकारी स्वामित्वमा रहेको श्रीलंकाको श्रीलंकन एयरलाइन्स पहिले एयर लंकाका नामले चिनिन्थ्यो । सन् १९९८ मा एयर लंका लगातार घाटामा गएपछि त्यहाँको सरकारलाई एयर लंकामा रणनीतिक साझेदार अन्तर्गत विदेशी साझेदार ल्याउने र रिब्रान्डिङ गर्ने योजना बनायो । र, एयर लंकालाई श्रीलंकन एयरलाइन्स बनायो ।

श्रीलंकन एयरलाइन्समा रणनीतिक साझेदारका रुपमा दुबईको इमिरेट्स ग्रुपले ४० प्रतिशत सेयर स्वामित्व र सम्पूर्ण व्यवस्थापनको जिम्मा सहित भित्रियो । तत्कालिन समयमा इमिरेट्सले ४० प्रतिशत सेयर ७ करोड अमेरिकी डलरमा खरिद गरेको थियो । रणनीतिक साझेदारको अवधि १० वर्षका लागि तोकियो । आर्थत् सन् १९९८ देखि २००८ सम्मको जिम्मेवारी दिइयो । श्रीलकंन सरकारले धेरै सेयर आफैसँग राखेपछि सञ्चालनको जिम्मेवारी भने इमिरेट्सलाई दिएको थियो । सुरुमा ४० प्रतिशत सेयर खरिद गरेको इमिरेट्सले पछि त्यसलाई बढाएर ४३.६ प्रतिशत पुर्यायो ।

इमिरेट्स भित्रिएपछि श्रीलंकन एयरलाइन्सले नयाँ विमान थप गर्न थाल्यो भने गन्तव्यहरु पनि बढायो । यस अवधिमा एयरलाइन्स नाफामा जान थाल्यो ।

इमिरेट्सले २००८ सम्म काम गर्यो । सन् २००८ मार्च १ मा सम्झौता सकिएपछि श्रीलंकाको सरकारले सम्झौता नविकरण गरेन र इमिरेट्सले आफ्नो सबै सेयर हिस्सा बिक्री गरी बाहिरियो । र, सन् २०१० मा श्रीलंकन सरकार र इमिरेट्सबीचको कारोबार चुक्ता भयो ।

यस अवधिका १० वर्षमा श्रीलंकन एयरलाइन्स २ वर्ष मात्रै घाटामा गयो भने ८ वटा वर्षमा नाफा कमायो । एयरलाइन्सले सन् २००१ र २००२ मा २ वर्ष नोक्सानी बेहोर्नु पर्यो । सन् २००८ सम्म इमिरेट्स बाहिरिने समयमा श्रीलंकन एयरलाइन्स ९.२८८ बिलियन अमेरिकी डलर नाफामा थियो ।

तर इमिरेट्स बाहिरिएपछि एयरलाइन्स अर्को वर्षदेखि नै घाटामा जान थाल्यो । सन् २००८ देखि २०१५ सम्मको ७ वर्षको अवधिमा एयरलाइन्सले ८७५ बिलियन अमेरिकी डलर घाटामा गएको थियो ।

यसरी हेर्दा सरकारी स्वामित्वको श्रीलंकन एयरलाइन्स रणनीतिक साझेदार ल्याउँदा नाफामा जाने र बाहिरिँदा घाटामा गएको देखिन्छ ।

त्यसो त सरकारी लगानीमा रहेको भारतको एयर इन्डिया, थाइल्याण्डको थाइ एयरवेज पनि घाटामै सञ्चालनमा छन् । त्यस्तै, नेपाल एयरलाइन्स पनि ऋणको किस्ता तिर्न नसकेर गहिरो संकटमा गइरहेको छ ।


क्लिकमान्डु