सेयर बजार घटेको छ, लगानी गर्ने मौका नगुमाउनुस्- नेप्सेका सीईओ साउद



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले यतिबेला सेयर बजार घटेपनि लगानी गर्न चाहनेलाई अवसर भएको बताएका छन् ।

‘बजार खस्कँदा सकारात्मक सोच आउन सकेन भनिएको छ, त्यसो होइन, यो भने बजारमा आउने चाहने नयाँ लगानीकर्ताको लागि अवसर हो,’ राजधानीमा आयोजित कार्यक्रममा साउदले भने ।

अहिले राम्रो लाभांश दिने कम्पनीको पनि सेयर सस्तोमा पाउने भएकाले यो समयमा नयाँ लगानीकर्ता आउँदा उनीहरुको हित हुने साउदको दाबी छ ।

नेप्सेले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिने काम सुरु गरेपनि अर्थसमितिको निर्देशनमा २ महिना रोकिएको र केही समयमा पुन त्यो काम सुरु हुने साउदको भनाइ छ ।
उनले अब नेप्सेले ऋणपत्रको विस्तार विकासको लागि काम गर्ने पनि जानकारी गराए ।

उनले पछिल्लो समयमा नेप्सेको अनलाइन सिस्टममा कुनैं पनि खराबी नरहेको बताए । कुनै खराबी देखिएमा कहाँ के खराबी देखियो त्यो भन्नु पर्ने तर खराबी नै नभइ खराबी भयो मात्रै भन्नु नहुने धारणा राखे ।

‘पहिला डाटा सार्दा, टिएमएस र नट्समा समस्या देखिएको थियो, यूजर नेममा पनि केही समस्या थियो । अब त्यो समस्या समाधान भइसकेको छ,’ उनले भने ।

धितोपत्र बोर्डको उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले स्टकमा भएका प्राविधिक कमजोर रहेको र त्यो समस्या तत्काल समाधान गर्नुपर्ने बताए ।

अनलाइन प्रणाली आएपछि कारोबार भोलुम बढने आपेक्षा गरेपनि अपेक्षा अनुसार हुन नसकेको र त्यो नेप्सेले समेत स्वीकार गरिसकेका बताए ।

पहिला हकप्रद र बोनसले सेयर बजार बढाएपनि अहिले अपेक्षा अनुसार बजार बढ्न नसकेको दाबी गरे । अहिले बजारमा १०० रुपैयाँमा नै सेयर पाउन थालेपछि समस्या सुरु भएको उनको तर्क छ ।

उनले २०१८ मा ४९ अर्ब रुपैयाँ पुँजी सेयर बजारबाट परिचालन भएको तथ्याङक समेत प्रस्तुत गरे ।

‘अहिलेको अवस्थामा सानो प्रयासले बजार सुधार गर्न सक्दैन’ डा. अधिकारीले भने ‘फरक रुपमा गम्भिर भएर यो बेला सोच्न आवश्यक छ ।’

उनले बजार बढाउनको लागि स्टक डिलर आवश्यक रहेको तर्क गरे ।

‘डिल्लरको रुपमा काम गर्ने भनेर नागरिक लगानी कोषले नेप्सेलाई पत्राचार गरेको थियो । त्यसको बोधार्थ धितोपत्र बोर्डमा पनि गरेको थियो,’ उनले भने ।

१ खर्ब ४० अर्ब रहेको नागरिक लगानी कोषले १० अर्ब रुपैयाँ मात्रै सेयर बजारमा लगानी गर्ने हो भने, ३ खर्ब ६० करोड रुपैयाँ भएको कर्मचारी सञ्चय कोषले पनि नागरिक लगानी कोषसँग मिलेर लगानी गर्ने हो भने बजारका सुधार आउन सक्ने उनको भनाइ छ ।

केही समयमा सरकारले केही महत्वपूर्ण निर्णय गर्ने भएकाले अब बजार नबढने बताए । उनले त्यो निर्णय के हो भन्ने चाँही खुलाउन चाहेनन् ।

कार्यक्रममा सेयर बजारका जानकार डा. गोपाल भट्टले अहिले सेयर बजारमा लगानी गर्दा फाइदाभन्दा पनि लगानी नै डुब्ने अवस्था आएको बताए । यसको लागि सरकारले पुँजी बजारको विषयमा सरकारले लिने दीर्घकालीन नीतिले मात्रै असर पार्ने बताए ।

‘बजार घट्नु ठूलो कुरा भएन, सरकार मार्केट इकोनोमिलाई सरकारले कसरी हेरेको छ भन्नेमा भर पर्छ । सरकारले सेयर बजार राम्रो भयो भने राम्रो कम्पनी सूचिकृत हुन्छन, त्यहाँ उद्योग धन्दा सूचिकृत हुन्छन भन्ने सोच्यो भने बजार ११ सय बाट २५ सयमा पुग्छ । यसका लागि सरकारको धारणा र नीति नै आवश्यक पर्छ’ डा. भट्टले भने ।


क्लिकमान्डु