विदेशी विद्यार्थीबाट एक वर्षमा अमेरिकाले कति कमाउँछ ?




काठमाडौं । विश्वका अधिकांश विद्यार्थीका लागि अमेरिका सपनाको देश हो । गुणस्तरीय शिक्षा र सुरक्षित भविष्यका खातिर विश्वका अधिकांश देशबाट प्रत्येक वर्ष अमेरिकी भूमिमा पाइला टेक्छन् ।

अमेरिका गएर पढ्न र त्यहाँको डिग्री होल्डर बनौ भन्ने आशामा प्रत्येक वर्ष १० लाखभन्दा बढी विदेशी विद्यार्थीहरु अमेरिका जान्छन् । अमेरिकामा ज्ञानसँगसँगै काम सजिलै पाइन्छ र जिन्दगी चलाउन त्यत्ती गाह्रो हुँदैन भन्ने धेरैको विश्वास पनि छ । अमेरिकामा पढेको भनेपछि हेर्ने नजर पनि फरक हुने हुँदा नेपाली समाजमा फरक खालको इज्जत हुन्छ र लाइफस्टाइल स्मार्ट बन्छ भन्ने विश्वास छ ।

तर अमेरिका जान त्यत्ति सजिलो छैन् । त्यही चाहना पूरा गर्न विभिन्न प्रक्रिया अपनाउनु पर्छ । र, तिनै प्रक्रिया पूरा गर्दा विद्यार्थीले धेरै पैसा लगानी गर्नुपर्छ ।  प्रक्रिया पूरा गर्नु एउटा विद्यार्थीलाई निकै धौ–धौ पर्छ । अमेरिकामा विश्वको प्रायः सबै देशबाट विद्यार्थी पढ्न जान्छन । तर ती विद्यार्थीको लगानीबाट अमेरिकाले कति कमाउँछ होला ?

अमेरिका विदेशी विद्यार्थीहरुको रोजाइमा पहिलो सूचीमा पर्छ । त्यहीँ रोजाइका कारण अमेरिकाले विदेशी विद्यार्थीहरुबाट सन् २०१८ मा मात्रै ५० खर्ब ९५ अर्ब ८० करोड रुपैंँया अर्थात ४४.७ विलियन अमेरिकी डलर आम्दानी गरेको छ ।

यो अघिल्लो बर्षको तुलनामा ५.५ प्रतिशत धेरै भएको अ‍ेमेरिकाको डिपार्टमेन्ट अफ कमर्सले जनाएको छ ।

कुन देशबाट जान्छन धेरै विद्यार्थी अमेरिका ?

अमेरिकाको डिपार्टमेन्ट अफ कमर्शले जनाएअनुसार अमेरिका पढ्न जाने विद्यार्थीको संख्याका आधारमा चीन पहिलो स्थानमा पर्छ । चीन विगत १० वर्षयता अमेरिका विद्यार्थी पठाउने पहिलो देशको सूचीमा रहेको छ ।

सन् २०१८÷१९ मा मात्रै चीनबाट ३ लाख ६९ हजार ५४८ विद्यार्थी अध्ययनका लागि अमेरिका गएका छन् । त्यस्तै चीनपछि सर्वाधिक धेरै विद्यार्थी अमेरिका जाने देशको सूचीमा भारत छ । सन् २०१८÷१९ को तथ्याङक अनुसार भारतबाट २ लाख २ हजार १४ विद्यार्थी अध्ययनका लागि अमेरिका गएका थिए ।

सन् २०१८÷१९ मा अन्य देशबाट अमेरिका पढ्न जाने विद्यार्थीको कूल संख्या १० लाख ९५ हजार २९९ छ । अमेरिका जाने कूल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा धेरै विद्यार्थी चीन र भारतका रहेका छन् ।

चीन र भारतपछि सबैभन्दा धेरै दक्षिण कोरिया, साउदी अरब, र क्यानडाका विद्यार्थी अमेरिका पढ्न जाने गरेका छन् ।


क्लिकमान्डु