हेटौंडामा शुरु भयो कर सप्ताह




हेटौँडा । ‘आठौँ स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने नाराका साथ हेटौंडामा कर दिवस सप्ताह शुरु भएको छ । कर सप्ताहको शुभारम्भ गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुललाले खर्चका अनुसार कर बुझाउनुपर्छ तथा कर तिर्नेहरुका लागि राज्यले करमैत्री वातावरण बनाउनुपर्छ भने ।

त्यस्तै, प्रदेश नं ३ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डा मुकुन्द पौडेलले देशमा करका लागि नयाँ नयाँ क्षेत्र जन्मिएको र ती क्षेत्रमा पनि करको दायरा बढाउनुपर्ने बताए । मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले कर प्रणालीमा राज्यले भिसिटिसी लागू गरेको छ तर गाउँगाउँमा इन्टरनेट छैन त्यसैले यो प्रणाली अव्यावहारिक भएको बताए ।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष नवराज अर्यालले जनताबाट उठाएको कर विकास निर्माणमा प्रयोग भएको छैन, राज्यले खर्च पनि गरेको छैन र खर्च पारदर्शी पनि छैन भन्दै सरकारले गरेको खर्च जनतामा सार्वजनिक गर्नुपर्छ भने ।

आन्तरिक राजश्व कार्यालय, हेटौँडाका प्रमुख सन्तबहादुर ढकालले कार्यालयमा कर दिनेको सहभागिता बढाउँदै कार्यालय स्थापनादेखि हालसम्म भ्याटमा चार हजार ३३७, अन्तःशुल्कतर्फ एक हजार ४२९, आयकरतर्फ २० हजार ९३६ र व्यक्तिगत प्यानतर्फ ३१ हजार ४९७ दर्ता भएको जानकारी दिए ।

कर सप्ताहको सात दिनभित्र जनचेतनामूलक कार्यक्रम, प्रचारप्रसार तथा उद्योगी–व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको सो कार्यालयले जनाएको छ ।


क्लिकमान्डु