विकास बैंकको नाफाः फेरि पनि मुक्तिनाथ नै नम्बर वान, कामना सेवाको छलाङ



काठमाडौं । सञ्चालनमा रहेका राष्ट्रियस्तरका १० वटा विकास बैंकहरुले १ खर्ब १७ अर्ब २५ लाख रुपैयाँ नाफा कमाएका छन् ।
चालु आर्थिक बर्षको पहिलो त्रैमासमा यी बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.७९ प्रतिशत बढी नाफाआर्जन गर्न सफल भएका हुन् । जबकी यसै अवधिमा वाणिज्य बैंकहरुको नाफा भने ५ प्रतिशतले मात्रै बढेको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब १ करोड २५ लाख रुपैयाँ नाफा कमाएका थिए भने उक्त नाफा चालु आर्थिक वर्षको सोही अवधिमा १५ करोड ९९ लाख रुपैयाँले बढाएर १ अर्ब १७ करोड २५ लाख रुपैयाँ पुर्याएका हुन् । जसमा ६ वटा विकास बैंकहरुले १० करोड रुपैयाँभन्दा बढी नाफा कमाएका छन् ।

१० करोड रुपैयाँ नाफा कटाउने विकास बैंकहरुमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, कैलाश विकास बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंक हुन् ।

सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकको र सबैभन्दा कम नाफा कामना सेवा विकास बैंकको छ । कामनाको नाफा कम भएपनि गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा करिव ७ गुणाले बढी हो ।

मेगा बैंकसँग मर्जरको सम्झौता गरिसकेको गण्डकी विकास बैंकले भने गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा नाफा घटाएको छ ।

मुक्तिनाथ विकास बैंक

बैंकहरु द्धारा सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका १० वटा विकास बैंकहरुमा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा गत आवको सोहि अवधिमा भन्दा ५.२३ प्रतिशतले नाफामा वृद्धि गर्दै २२ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको सोही अवधिमा बैंकले २१ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गरिमा विकास बैंक

चालु आवको पहिलो त्रैमासमा राष्ट्रियस्तरका विकास बैंकहरुमा गरिमा विकास बैंक बढी नाफा कमाउने बैंकको दोस्रो नम्बरमा सुचीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड ५४ लाख रुपैयाँ कमाएको बैंकले चालु आवको सोही अवधिमा नाफामा २१.१४ प्रतिशतले नाफा बढाए १८ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । चालु आवमा बैंकले ३ करोड २८ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।


कैलाश विकास बैंक

बढी नाफा कमाउने विकास बैंकको सुचीको तेस्रो नम्बरमा कैलाश विकास बैंक रहेको छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा ३.४० प्रतिशतले नाफामा वृद्धि गर्दै १७ करोड ५ लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको पहिलो त्रैमासमा बैंकले १६ करोड ४८ लाख रुपैया नाफा कमाएको थियो । जसमा बैंकले चालु आवमा ५६ लाख रुपैयाँ नाफा बढाएको हो ।

ज्योति विकास बैंक

गत आवको पहिलो त्रैमासमा ६ करोड ३३ लाख रुपैयाँ नाफा गरेको ज्योति विकास बैंकले चालु आवको सोही अवधिमा नाफामा ११७.६७ प्रतिशत वृद्धि गरेको छ । बैंकले ७ करोड ४५ लाख रुपैयाँले नाफा बढाएर १३ करोड ७९ लाख रुपैया नाफा कमाउन सफल भएको छ ।

लुम्बिनी विकास बैंक

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ६३ लाख रुपैयाँ नाफा गरेको लुम्बिनी विकास बैंकले चालु आव सोहि अवधिमा ३.०४ प्रतिशतले नाफामा वृद्धि गरिस ११ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आवको पहिलो त्रैमासमा भन्दा ३५ लाख रुपैयाँ नाफा बढाएको हो ।

महालक्ष्मी विकास बैंक

महालक्ष्मी विकास बैंकले गत आवको भन्दा १.१२ प्रतिशतले नाफा बढाएको छ । गत आवको पहिलो त्रैमासमा १० करोड ५६ लाख रुपैयाँ नाफा कमाएको बैंकले उक्त नाफा ११ लाख रुपैयाँले बढाएर चालु आवको सोहि अवधिमा १० लाख ६८ रुपैयाँ कमाएको हो ।

गण्डकी विकास बैंक

राष्ट्रिय स्तरका विकास बैंकहरुमा गण्डकी विकास बैंकले चालु आवको पहिलो त्रैमासमा गत आवको सोही अवधिको तुलनामा १५.३९ प्रतिशतले नाफा घटाएको छ । गत आवको सोही अवधिमा १० करोड २७ लाख रुपैयाँ नाफा कमाएको बैंकले १५ लाख ८२ हजार रुपैयाँले नाफा घटाएर चालु आवको सोही अवधिमा ८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको हो ।

देव विकास बैंक

गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३ लाख रुपैयाँ नाफा कमाएको देव विकास बैंकले उक्त नाफामा १८.५३ प्रतिशतले वृद्धि गरि चालु आवको सोही अवधिमा ५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । चालु आवको पहिलो त्रैमासमा बैंकले ९३ लाख ३० हजार रुपैयाँ बढी नाफा कमाएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको नाफामा ६४ प्रतिशतले अर्थात २ करोड ३ लाख रुपैयाँले बढाएको हो । गत आवको साही अवधिमा बैंकले ३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कामना सेवा विकास बैंक

राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा कम नाफा आर्जन गर्ने कामना सेवा विकास बैंक हो । बैंकले चालु आवको पहिलो त्रैमासमा १ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । तर कम नाफा कमाएको देखिएपनि बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा आर्जनमा छलाङ्ग मारेको हो । गत आवको पहिलो त्रैमासमा बैंकको नाफा २७ लाख रुपैयाँ मात्र थियो । १ वर्षको अवधिमा नै उक्त नाफामा बैंकले १ करोड ५८ लाख रुपैयाँ थप गरेको हो ।


पुष्प दुलाल