महंगो भो वाणिज्य बैंकः सीसीडी टाइट, बेसरेट बढेको बढ्यै



काठमाडौं । एक वर्षअघि वाणिज्य बैंकहरुमा सबैभन्दा बढी तरलता रहेको पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकलाई तरलता समस्या पर्दै गएको देखिन थालेको छ ।

एक वर्षअघि वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) ६७.८७ प्रतिशत थियो । सबैभन्दा लगानी योग्य रकम रहेको बैंक वाणिज्य बैंक थियो ।

गत असार मसान्तमा ७२.७८ प्रतिशत सीसीडी रेसियो रहेको थियो ।

एक वर्षको अवधीमा वाणिज्य बैंकको कर्जाको न्यूनतम आधार दर (बेसरेट) समेत बढेको छ । एक वर्षअघि ६.३३ प्रतिशत रहेको बेसरेट अहिले बढेर ६.६० प्रतिशत पुगेको छ । अझ ३ महिनाअघि असार मसान्तमा वाणिज्य बैंकको बेसरेट ५.५० प्रतिशत थियो ।

वाणिज्य बैंकमा अघिल्लो वर्षको तुलनामा निक्षेप बढेपनि ३ महिना अगाडिको तुलनामा निक्षेप घटेको छ । असार मसान्तमा वाणिज्य बैंकसँग १ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप रहेको थियो । अहिले असोज मसान्तमा आइपुग्दा निक्षेप घटेर १ खर्ब ८७ अर्ब रुपैयाँ झरेको छ ।

३ महिना अगाडिको तुलनामा ३ अर्ब रुपैयाँले निक्षेप घटेपछि वाणिज्य बैंकले ऋण समेत २ अर्ब रुपैयाँले घटाएको छ ।

सरकारी कारोबार गर्न पाउने हुँदा वाणिज्य बैंकमा निक्षेप रकम बढी हुने गर्छ । अघिल्लो वर्ष वाणिज्य बैंकले धेरै बैंकको ऋण समेत अल्पकालिन अवधीको लागि किनेको थियो ।


पुष्प दुलाल