जजिरा एयरवेजले आजदेखि नेपालमा उडान सुरु गर्यो, भिस्ताराले पनि पायो अनुमति



काठमाडौं । कुवेतको जजिरा एयरवेजले आजदेखि नेपालमा उडान सुरु गरेको छ ।

‘तत्कालका लागि हप्तामा ४ उडान गर्नेछ भने भविष्यमा ७ वटै दिन उडानको अनुमति पाएको छ’ क्यानका एक कर्मचारीले क्लिकमाण्डूसँग भने ।
नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार जजिराले सातामा ४ दिन उडान गर्नेछ ।

सन् २००४ मा स्थापना भएको जजिरा एयरवेज मिडल इस्टका लागि पहिलो गैर सरकारी एयरलाइन्स कम्पनी हो । जजिराका अनुसार एयरवेजले प्रत्येक वर्ष १ करोड २० लाख यात्रुलाई सेवा दिँदै आएको छ ।

एयरवेजले नेपालमा सुरुमा हप्ताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ ।

एयरवेजले काठमाडौंबाहेक विभिन्न ३० वटा गन्तव्यमा उडान गर्दै आएको छ । एयरवेजले एलेक्सजेन्डरिया, अमान, बहराइन, बाकु, कायरो, दुबई, इस्तानबुल, कुवेतलगायतका गन्तव्यमा उडान गर्दै आएको छ । एयरवेजसँग हाल ११ वटा विमान छन् ।

कम्पनीसँग ९ वटा एयरबस ए३२०-२०० र २ वटा एयरबस ए३२०-नियो विमान छन् । कम्पनीले थप ३ वटा विमान ल्याउने योजना बनाएको छ ।

एयरवेजका लागि दिउँसो ४ः२० बजेदेखि साँझ ५ः५० बजेको समय दिइएको छ ।

क्यानका अनुसार भारतीय एयरलाइन्स कम्पनी भिस्तारालाई पनि उडानको अनुमति दिइएको छ । भिस्ताराले डिसेम्बर १ देखि काठमाडौंमा उडान गर्नेछ ।

भिस्तारालाई पनि हप्तामा ७ वटै दिन उडानको अनुमति दिइएको छ भने साँझ ५ बजेदेखि ६ बजेसम्मको स्लट दिइएको क्यानको भनाइ छ ।

सन् २०१३ मा स्थापना भएको भिस्तारा एयरलाइन्समा टाटा सन्स र सिंगापुर एयरलाइन्सको स्वामित्व छ । टाटाले हालैका दिनमा एयर इन्डिया समेत खरिद गर्ने तयारीमा छ ।

सुरुवाती दिनमा एयर टाटा सर्भिसका नामले सञ्चालनमा रहेको एयर इन्डियापछि पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एयर इन्डिया बनेको थियो ।

भिस्ताराले अहिले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी दैनिक २०० वटा उडानबाट ३३ वटा गन्तव्यमा उडान गरिरहेको छ । एयरलाइन्ससँग २६ वटा एयरवस, ९ वटा बोइङ विमान छन् ।
एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानतर्फ दुबई, बैंकक, सिंगापुर, कोलम्बो र पोर्ट ब्लेयरमा उडान गर्दै आएको छ ।

अनुमति पर्खँदै स्पाइस जेट
काठमाडौंमा उडान गर्न इच्छुक एयरलाइन्स स्पाइस जेटले यतिबेला अनुमतिको पर्खाइमा छ । क्यानका अनुसार अहिले स्पाइस जेटको कागजपत्र अध्ययन भइरहेको छ । अध्ययन पूरा भएपछि मापदण्ड पूरा भएमा उसले पनि उडानको अनुमति पाउनेछ ।

पर्यटक बढ्ने अपेक्षा
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै छ । जसमा २० लाख पर्यटक ल्याउने सरकारले लक्ष्य लिएको छ । हाल ३० वटा एयरलाइन्स कम्पनीले नेपालमा उडान गरिरहँदा थप एयरलाइन्सले समेत उडान भर्दा पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ । गत वर्ष ११ लाख ७० हजारभन्दा बढी पर्यटक नेपाल आएका थिए । सन् २०१९ मा मात्रै झण्डै १० लाख पर्यटक नेपाल आइसकेका छन् ।


क्लिकमान्डु