आधा घट्यो सोल्टी होटलको नाफा, यस्तो छ खास कारण



काठमाडौं । सोल्टी होटलको नाफा ४९.१९ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको होटलले सोल्टी होटलले चालु आर्थिक वर्षको सोही अवधिमा नाफा २ करोड ८५ लाख रुपैयाँले घटाएर २ करोड ९५ लाख रुपैयाँ मात्र नाफा कमाएको हो । गत असार मसान्तमा होटलले २ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु घट्नु र नयाँ होटलहरुको स्थापनासँग पर्यटन बजारमा आएको उच्च असन्तुलनको कारण होटलको नाफा घटेको बताइएको छ । देशमा पर्यटन सम्बन्धी पर्याप्त भौतिक पुर्वाधार विकास नभएको, विदेशी विनीमयदरको परिवर्तन र पर्यटन उद्योगमा भएको बन्द हडताल र प्राकृतिक प्रकोपहरुको प्रत्यक्ष असर होटल संचालनमा परेको होटलले जनाएको छ ।

आगामी दिनमा अन्तर्राष्ट्रिय मापदाण्ड अनुसार होटलको स्तरोन्नति गरि गुणस्तरीय सेवा सुविधा दिँदै नाफा बढाउने होटल सोल्टीले जानकारी दिएको छ ।

होटलले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार संचालन नाफामा पनि ४९.१२ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड ३९ लाख संचालन मुनाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३ करोड ६३ लाख रुपैयाँले संचालन मुनाफा घटेर ३ करोड ७६ लाख रुपैयाँमा सिमित भएको छ ।

हाल होटलको पुँजी कोषमा ७३ करोड २६ लाख रुपैयाँ र जगेडा कोषमा ९२ करोड ४९ लाख रुपैयाँ रहेको छ । साथै होटलको प्रतिसेयर मूल्य २०६ रुपैयाँ, प्रतिसेयर आम्दानी ४२ पैसा र प्रतिसेयर नेटवर्थ २२ रुपैयाँ ६२ पैसा रहेको छ ।


पुष्प दुलाल