१८ देशका वाणिज्यदूतहरुको सम्मेलन सम्पन्न




काठमाडौँ । नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको सङ्गठन (एचसिसिएन) र वाणिज्यदूतहरूको विश्व सङ्गठन (एफआइसिएसी) को एशिया तथा प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ ।

विभिन्न १८ देशका ७६ जना अवैतनिक वाणिज्यदूतहरु सहभागी सो सम्मेलनमा जलवायु परिवर्तनको प्रभाव कम गर्ने, वातावरणीय प्रदूषण घटाउने, विश्वमा शान्ति स्थापनाका लागि पहल गर्ने तथा विभिन्न देशका सांस्कृतिक एवं पर्यटकीय आदानप्रदान गर्नेजस्ता विषयमा व्यापक छलफल भएको थियो ।

यी विषयहरुमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी छलफल गरेका तथा नेपाल भ्रमण वर्षका बारेमा भ्रमण वर्ष कार्यक्रमका संयोजक सुरज वैद्यले जानकारी गराएको वाणिज्यदूतहरूको विश्व सङ्गठनका पूर्व डिन तथा नेपालस्थित लक्जम्वर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले जानकारी दिए ।

तीनदिने उक्त सम्मेलनको आज चन्द्रागिरिमा समापन गर्दै उनीहरुले नेपालले आगामी वर्ष ‘नेपाल भ्रमण वर्ष’ को कार्यक्रम राखेकाले उक्त कार्यक्रमलाई आआफ्नो देशमा प्रचार र प्रवद्र्धन गर्ने बताए ।

सो सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालस्थित इन्डोनेसियाली अवैतनिक वाणिज्यदूत एवं चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन र प्राकृतिक सम्पदामा नेपाल धनी रहेको प्रसङ्ग उल्लेख गर्दै यस कुराको सन्देश विश्वमा लैजान उनीहरुलाई आग्रह गरे ।

नेपालमा स्वदेशी एवं वैदेशिक लगानीको वातावरण बन्दै गएकाले पर्यटन, जलविद्युत्, सेवा क्षेत्र, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा लगानीका धेरै सम्भावना रहेको सन्देश आआफ्नो देशमा लैजान पनि आग्रह गरे ।

यसअघि बिहीबार उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सामूहिक भेट गरेका थिए । त्यस भेटका क्रममा राष्ट्रपति भण्डारीले अवैतनिक वाणिज्यदूतहरू नेपाल भ्रमण वर्ष २०२० का सद्भावनादूतसमेत भएकाले उक्त राष्ट्रिय महायज्ञलाई सफल पार्न अनुरोध गरेको (एचसिसिएन) डिन प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु