महंगीको झिलिमिलिः कुन भाइमसलाको मूल्य कति बढ्यो ? (सूचीसहित)
काठमाडौं । तिहार शुरु भएसँगै बजारमा भाइमसला खरिद गर्ने ग्राहकको भीड बढेको छ । काठमाडौंको मुख्य व्यापारीक केन्द्र असन, भोटाहिटी, इन्द्रचोक महाबौद्ध लगायतका अन्य स्थानमा चलहपल तथा ग्राहकहरुको भीड बिहानैदेखि देख्न सकिन्छ । भीडका अधिकांश मानिसहरु तिहारमा आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्ने हुन्छन् ।
ती मानिसहरुले खरिद गर्ने तिहारको सामाग्रीमा सबैभन्दा पहिलो सुचीमा भाइमसला रहेको हुन्छ । मसला पसलहरुमा ग्राहकहरु आफ्नो रोजाई अनुसार भाइमसला खरिद गरिरहेका छन् । बजारमा ५० रुपैयाँदेखि १५ सय रुपैयाँसम्म पर्ने भाइमसलाका प्याकेटहरु बेच्न राखिएका छन् ।
व्यापारीहरुले भाइमसला बाह्रैमास बिक्री गर्ने राख्ने भएपनि तिहारको समयमा भने अत्याधिक बिक्रीहुने नेपाल खुद्रा व्यवसायी संघका अध्यक्ष राजकुमार श्रेष्ठले क्लिकमाण्डुलाई बताए ।
‘बिवाहको सिजनमा र अन्य बेलामा फाट्टफुट्ट बिक्री हुन्छ’, उनले भने ‘मुख्य बिक्री हुने भनेको तिहारको १ हप्ता अगाडिदेखि भाइटिकाको दिनसम्म हो ।’
यस अवधीमा फुटपाते व्यापारीदेखि ठुला खुद्रा व्यापारीहरुले २० हजारदेखि २ लाख रुपैयाँभन्दा बढी कमाउने उनको भनाई छ ।
बजारमा राखिएका भाइमसलाका प्याकेटहरुमा काजु, किसमिस, पेस्ता, नरिवल, छोकडा, बदाम, ल्वाङ, सुपाडी, ओखर, अंजिर, दालचिनी, मिश्री, खुर्पानी, सुकमेल र मखना समिश्रणमा भाइमसलाको प्याकेट तयार पारिएको हुन्छ । यी सामानहरु सबैभन्दा धेरै भारतबाट र क्यालिफोनिया, चीन र अष्ट्रेलियाबाट आयात हुँदै आउने गर्छन् ।
अलैंची र ओखर नेपालमा नै उत्पादन हुन्छ र नेपालबाट धेरै निर्यात हुने वस्तुहरुमा अलैंचीपनि पर्दछ । तर भाइमसलामा प्रयोग गरिने अलैंची भारतबाट र दाते ओखर चीनबाट आयात हने गरेको व्यापारीहरु बताउँछन् ।
‘नेपालबाट निर्यात गरिएका अलैंची भारतबाट पुन प्रशोधन गरी भाइमसलाको लागि ल्याइन्छ’, श्रेष्ठले भने ‘नेपालमा उत्पादन भएपनि प्रशोधन गर्ने मेशिनहरुको अभावमा भाइमसलामा प्रयोगहरु हुने अलैंची भारतबाट ल्याउने गरिएको छ’
ओखर भने भारत, चीन र युरोपबाट आयात गरिँदै आएको छ ।
चालु आर्थिक वर्षको पहिलो २ महिनामा नेपालमा भारत, चीन र युरोपबाट ११ करोड १९ लाख ८७ हजार रुपैयाँ बराबरकोे ३ लाख ५७ हजार केजी ओखर आयात गरिएको भन्सार विभागले जनाएको छ ।
हरेक वर्ष चाडवार्डको समयमा खाद्य सामाग्रीहरुको मुल्य वृद्धि हुँदै आएको छ । भारत लगायत अन्य मुलुकहरुबाट आयात गरिएका भाइमसलाहरुमा प्रयोगहुने मसलाहरुमा पनि मुल्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष मसलाहरु केजीमा २० रुपैयादेखि २ हजार ५०० सय रुपैयाँसम्म मुल्य वृद्धि भएको पाइएको छ ।
भाइमसलामा प्रयोग हुने कुन मसला खुद्रा पसलहरुमा कति मुल्यमा पाइन्छ र गत वर्षको तुलनामा यो वर्ष कति रुपैयाँले मुल्य बढेको छ भनेर खुद्रा व्यवसाय संघसँगको मुल्य सुची तल प्रस्तुत गरिएको छ ।
भाइमसला तिहारमा दिदी बहिनीले दाजुभाइलाई टिका लगाएर प्रसादको रुपमा दिने प्रचलन भारतबाट आएको हो । विगत केही वर्ष अगाडिसम्म नेपालमा तिहारमा भाइमसला नै भनेर दिदीबैहिनीले दाजुभाइलाई दिने प्रचलन थिएन ।
माइतीलाई टिका लगाएर सेल रोटी, अर्सा अनारासा, अचार, दुधबाट बनिएका परिकारहरु, मासुका परिकारहरु मिठाई र स्थानिय स्तरमा नै पाइने फलफूल दिने चलन थियो ।
तर केहीवर्ष यताभने भाइमसला भाइटिकामा अनिवार्य जस्तो नै भएको छ । यसैकारणले पनि भाइमसलाको खपत नेपालमा बर्षेनी २ अर्ब रुपैयाँ भन्दा बढीको हुने गरेको खुद्रा व्यवसायी संघले जनाएको छ ।
आफ्नो मौलिकतालाई बिर्सिएर विदेशी चलनहरु नेपालमा भित्रिएपछि अनावश्यक सामाग्रीहरुको आयात बढेको तिहारको सामाग्री खरिद गर्न असन बजार पुगेकी हिरामाया श्रेष्ठले बताइन् । उनीले आजसम्म ६४ वर्ष वटा भाइटीका मनाइसकेकी छिन् । आउँदो भाइटीका उनको ६५औं हो । यो अवधीमा आफुले भाइमसला खरिद गर्ने थालेको ५/६ वर्ष मात्र भएको उनको अनुभव छ ।
‘पहिले घरैमा फूलेका फूल उनेर माला बनाइ घरमा नै माइतका लागि खानेकुरा बनाउदाँ तिहारको रमाइलो छुट्टै हुन्थ्यो’, उनी भन्छिन् ‘अहिले त बिजुलीका भिलिमिली बलेपछि तिहार आयो भन्छन् ।’
माटोको दियोमा बत्ती बल्दाँ र माइतीलाई दिने टिकाको सामाग्री तयार पर्दा हुने पारिवारीक रमाइलो हराएको उनको भनाई छ ।
यस्तै, चाडपर्वमा विदेशी संस्कृति र संस्कारलाई बहिस्कार गरेमात्र चार्डपर्वमा विदेशी वस्तुको आयात रोकिने महाबौद्धमा भाइमसला खरिद गर्न पुगेका दिपेन्द्र धामी बताउँछन् । तिहारको भिडभाडले गर्दा दिदीबहिनी बजार प्रवेश गर्न नसकेपछि धामी आफै भाइमसला खरिद गर्न बजार पसेका हुन् ।
‘भिड छ पर्दैन् भाइमसला दिनुलाई घरमा नै तयार भएको खानेकुरा दिनु भनेर भनेको दिदीबहिनी मान्दैनन्’, उनले भने ‘भाइमसला नदिए त टिका लगाएको महत्व नै हुदैनन् पो भन्छन् ।’
यो सबै देखावटीका लागि विदेशी चलन अपनाएर यस्तो विकृति आएको र यो हटेर गए भाइमसला र अन्य कुराहरुमा हुने खर्च जोगाउन सकिने धामकिो भनाई छ ।