ब्याजदरमा बदमासी गर्ने बैंकमाथि कठोर बन्यो राष्ट्र बैंक, यस्तो छ गोप्य सर्कुलर



काठमाडौं । ब्याजदरमा बदमासी गर्ने बैंकमाथि नियामक निकाय नेपाल राष्ट्र बैंक निकै कठोर बनेको छ । केही बैंकले प्रकाशित गरेको दरभन्दा बढी ब्याज दिएर निक्षेप आकर्षित गरेको उजुरी परेपछि राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारी गर्दै कारबाही गर्ने चेतावनी दिएको छ ।

बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बुधबार एक सर्कुलर जारी गर्दै ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिइएको छ ।

‘बोलकबोलबाट संकलन हुने संथागत मुद्दति निक्षेपको हकमा इजाजतप्राप्त संस्थाहरुले प्रकाशित गरेको ब्याजदरम १ प्रतिशत बिन्दूसम्म थपघट गरी निक्षेप संकलन गर्न सकिने निर्देशनको व्यवस्थाको कुनै कुनै इजाजतप्राप्त संस्थाले पालना नगरेको भन्ने गुनासो आएको हुँदा उक्त निर्देशनको अक्षरस पालना गर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ,’ राष्ट्र बैंकले बैंकहरुलाई गोप्यरुपमा पठाएको सर्कुलरमा भनिएको छ, ‘उक्त निर्देशनको उल्लंघन भएमा निर्देशन नं. २२/०७५ को बुँदा नं. ४९ बमोजिम कारबाही भैजाने व्यहोरा समेत जानकारी गराउँदछु ।’

राष्ट्र बैंकको नियमन विभागका अधिकारीहरुका अनुसार ४/५ वटा वाणिज्य बैंक विरुद्ध अन्य बैंकर र बैंकर्स संघका पदाधिकारीले उजुरी गरेका थिए । बैंकर्स संघमा भएको भद्र सहमति तोडेको र प्रकाशित ब्याजदरभन्दा बढी दिएर निक्षेप लिएको भन्दै बैंकरहरुले नै उजुरी दिएपछि राष्ट्र बैंक आक्रमक भएको छ ।

संस्थागत मुद्दति निक्षेप नविकरण गर्दा ९.६० प्रतिशतसम्म ब्याजदर दिन पाउने भद्र सहमति भएपनि केही बैंकहरुले नयाँ संस्थागत निक्षेपमा ९.६० प्रतिशत ब्याज दिएर अर्को बैंकको निक्षेप खोसेका थिए ।

‘अर्थमन्त्री र गभर्नरज्यूको सहमतिमा बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको हो, कुनै कुनै बैंकले भद्र सहमतिको अक्षरस पालना नगर्दा समग्र बैंकिङ प्रणालीमै समस्या उत्पन्न हुन्छ,’ राष्ट्र बैंक स्रोतले क्लिकमाण्डूसाग भन्यो, ‘हामीले यसअघि सम्बन्धित बैंकका सम्बन्धित व्यक्तिहरुलाई बोलाएर मौखिक निर्देशन दिइसकेका छौं । र, अहिले लिखित रुपमा ध्यानाकर्षण गराउँदै सचेत गारएका छौं । अब पनि निर्देशनको अक्षरस पालना भएन भने सीधै कारबाही हुन्छ ।’


पुष्प दुलाल