पर्यटक आगमनमा झिनो वृद्धिदर, होटल व्यवसायी भन्छन्- २० लाख पर्यटन ल्याउन कठिन



काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिसकेको छ । जसमा २० लाख विदेशी पर्यटन ल्याउने लक्ष्य तय गरिएको छ ।

तर सन् २०१९ को ९ महिना तथ्यांक हेर्दा झिनो वृद्धिदर मात्रै देखिएको छ । जसले पर्यटक संख्या दोब्बर बनाउने लक्ष्य पूरा हुनेमा शंका देखिएको छ ।

सन् २०१८ को सुरुको ९ महिनामा कुल ७ लाख ७२ हजार ८४८ पर्यटक आएकोमा यो वर्षको सोही अवधिमा ८ लाख ३१ हजार ६८७ पर्यटन नेपाल आएका छन् ।

जेट एयर बन्द हुँद घटे पर्यटन

नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले जेट एयरको सेवा बन्द भएका कारण पर्यटकको संख्यामा कमी आएको बताए । त्यस्तै, त्रिभुवन विमानस्थलमा स्तरोन्नती, केही समय अघि फैलिएको डेन्गीका कारण पनि पर्यटक आगमन वृद्धिदर घटेको क्लिकमाण्डुलाई बताए ।

‘यस बीचमा धेरै उडान कटौती भएका छन् यसले पर्यटक आगमन प्रभावितलाई प्रभावित बनाएको छ’, उनले भने ‘पर्यटन आगमनमा मुख्य समस्या भनेको अर्को कनेक्टीभिटी हो ।’

स्तरोन्नती कामले गर्दा दैनिक ८ घण्टा एयरपोर्ट बन्द हुने गरेको छ । यस कारणले गर्दा थप एयरलाइन्स बढ्न नसकेर पनि पर्यटन आगमन घटेको उनले बताए ।

तर आगामी नोभेम्बरदेखि थप नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सुरु गर्ने हुँदा त्यसले पर्यटन आगमन बढाउने उनले विश्वास व्यक्त गरे ।

नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । यो संख्या क्रमिकरुपमा बढ्दो छ । बोर्डका अनुसार सन् २०१९ को ९ महिनामा १ लाख ५० हजारभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

भारतपछि चीनबाट बढी पर्यटक नेपाल भ्रमणमा आउँछन् । यो वर्षको ९ महिना महिनामा १ लाखभन्दा बढी चिनियाँ पर्यटक नेपाल आइसकेका छन् भने त्यसपछि युरोप, अमेरिका, थाइल्याण्ड र जापानबाट आउने पर्यटक बढी छन् ।

जोशीले आगामी डिसेम्बरदेखि विमानस्थल स्तरोन्नती सकिने र २४ सै घण्टा चल्ने भएकाले यसले उडानको संख्या पनि बढाउने बताए ।

अक्टोबर र नोभेम्बरदेखि ४ वटा नयाँ एयरलाइन्स थपिँदैछन् । जसमा भारतबाट स्पाइस जेट, भिस्तारा एयरलाइन्स र कुवेतबाट जजिराले नेपालमा उडान भर्दैछन् । त्यस्तै, नेपालबाट कात्तिक १० गतेदेखि हिमालयन एयरलाइन्सले चीनमा उडान गर्दैछ ।

स्तरोन्नतीको काम सकिए पछि थप अन्तर्राष्ट्रिय एयरलाइन्सहरु आउन सक्ने जोशीले बताए ।

होटल व्यवसायी भन्छन्– २० लाख पर्यटक ल्याउन गाह्रो

सरकारले सन् २०२० मा २० लाख पर्यटक ल्याउने लक्ष्य राखे पनि होटल व्यवसायीहरु भने त्यो लक्ष्य पूरा गर्न कठीन रहेको बताएका छन् । उनीहरुले सरकारको बाहना मात्रै भएकाले व्यवहारीक रुपमा कार्यान्वयन गर्न गाह्रो रहेको बताएका छन् ।

होटल व्यवसायी महासंघका प्रथम उपाध्यक्ष विनायक शाह भने, ‘सरकारले विदेशी पर्यटक नेपालमा के हेर्न आउँछन भन्ने आधारमा योजना नै बनाएको छैन, न कुनै नीति र योजना नै छ ।’

अहिलेको अवस्थामा २० लाख पर्यटकलाई सेवा दिन होटल व्यवसायी आफूहरु भने तयार रहेको बताउँदै आएका छन् ।

‘होटल व्यवसायीहरु २० लाख पर्यटकलाई सेवा दिन तयार छन्, तर सरकारको राम्रो तयारी नहुँदा यो संख्या पुग्न गाह्रो छ’ उनले भने । विमानस्थल निमार्णदेखि अन्य पूर्वाधार निमार्णका काम समयमै सम्पन्न भए २० लाख पर्यटक ल्याउन सकिने समेत उनले विश्वास व्यक्त गरे ।

झिनो वृद्धिदर

अघिल्लो वर्षको तुलनामा यस वर्ष पर्यटकको संख्यामा झिनो वृद्धिदर देखिएको छ । जसरी २० लाख पर्यटक ल्याउने लक्ष्य भेट्टाउन भने गाह्रो हुने देखिएको छ ।

सन् २०१९ को जनवरीमा नेपालमा ९१ हजार ७९३ जना विदेशी पर्यटक आएका थिए । यो संख्या फेबुअरीमा ३२ हजार ६२८ ले बढेर १ लाख २४ हजार ४२१ पुगेको थियो । फेब्रअुरीको तुलनामा मार्चमा पनि पर्यटक बढेका थिए । मार्च महिनामा मात्रै १ लाख २४ हजार ६९७ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तर अप्रिल महिनामा भने अघिल्लो महिनाको तुलनामा पर्यटक घटेका थिए । अप्रिल महिनामा १ लाख ६ हजार १३६ जना पर्यटक नेपाल आएका थिए ।

यसैगरी मे महिनामा अप्रिलको तुलनामा ३४ हजार पर्यटक कम आएका थिए । मे महिनामा ७१ हजार ६४० जना विदेशी पर्यटक नेपाल आएका थिए ।

त्यस्तै जुन महिनामा ६८ हजार ७८२ जना, जुलाइमा ६५ हजार ७४९ जना पर्यटकले नेपाल आएका थिए । अगष्टमा ८९ हजार ३८२ जना, सेप्टेम्बरमा ८९ हजार ८७ पर्यटन नेपाल आएका थिए ।

सन् २०१८ को सेप्टेम्बर महिनामा ९१ हजार ८७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । तर सन् २०१९ को सेप्टेम्बर महिनामा अघिल्लो वर्षको सेप्टेम्बरको तुलनामा २ हजार ५८७ जनाले घटेर ८९ हजार २८७ जना मात्रै नेपाल आएका थिए ।


क्लिकमान्डु