किसानमाथि थोपरेको सिण्डिकेट खारेज नगरे संघर्षमा उत्रिने कुखुरा पालक किसानको चेतावनी



काठमाडौं । राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समिति नेपाल कुखुरा पालक किसानहरुका विरुद्धमा दाना उद्योग संघ ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघले आफूहरुमाथि विगत तीन दशकदेखि निरन्तर उत्पीडन एवं ज्यादती गरेको भन्दै आन्दोलित बनेको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले आजसम्म पनि उपयुक्त किसानमैत्री कानून बन्न नसकेकोले विचौलिया तथा दलाहरुको निरन्तर उत्पीडनमा नेपाली किसानहरु रहेको आरोप लगाएको छ ।

समितिले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघले विगत तीन दशकदेखि मनोमानी हिसाबले किसानहरुको ढाड भाँचिनेगरि चल्ला तथा दानाको मूल्य निर्धारण गरि किसानमाथि थोपरेको सिण्डिकेट खारेज गर्नुपर्ने मुख्य माग राखेको छ ।

त्यस्तै, समितिले राज्यको सम्बन्धित निकायले चल्ला तथा दानाको गुणस्तरको निमित्त अनुगमन गर्नुपर्ने पनि माग तेर्साएको छ । समितिले दाना उद्योग संघ तथा ह्याचरी संघमा अनिवार्य रुपमा किसानहरुको सहभागिता गराउनुपर्ने माग राखेको छ ।

समितिले अघि सारेका मागमा कुखुराको लागत मूल्यभन्दा न्यूनतम मूल्य तोकेर बजार मूल्य निर्धारण गर्ने परम्परा अन्त्य गर्नुपर्ने, किसानमैत्री कानून निर्माण गर्नुपर्ने, कुखुराको वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने, दाना उद्योग संघ, ह्याचरी उद्योग संघ एवं राष्ट्रिय कुखुरा बिक्री संघले किसानमाथि थोपरेको सिण्डिकेटको अन्त्य गर्नुपर्ने, राष्ट्रिय कुखुरा बिक्रि व्यवसायी संघ विघटन गरि वास्तविक किसानहरुको समेत सहभागितामा कुखुराको मूल्य निर्धारण गर्ने व्यवस्था गरिनुपर्नेलगायत छन् ।

समितिका संयोजक विष्णु खड्काले दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघको ज्यादतीका कारण नोक्सानमा गएका किसानहरुलाई उचित क्षतिपूर्ति दिई बक्यौता रकम मिनाह गर्नुपर्ने माग गरे ।

आफूहरुले उठाएका जायज माग यथाशक्य चाँडो सम्बोधन नभए बाध्य भएर कडा संघर्षमा जाने पनि समितिका सह–संयोजक बालकृष्ण दाहालले चेतावनी दिएका छन् । दाहालले मूल्य समायोजन नभएसम्म र सरकारको ध्यानाकर्षण नभएसम्म आफूहरुको संघर्षको अभियान जारी रहने स्पष्ट पारे ।

समितिका संयोजक खड्काले आफूहरु बिगत ३/४ दशकयता किसानहरु अन्याय, ज्यादतीमा परेको र “काम गर्ने कालु, मकै खाने भालु” उखान लागू भएको टिप्पणी गरे ।

उनले भने,‘जसले दाना र चल्ला बाँड्यो उमाथि अन्याय हुने र कुखुरा पाल्ने किसान दास हुनुपरेको छ । काम गर्ने मान्छे दास संसारमा काही हुँदैन् ।

तर, नेपाल कृषिप्रधान देशमा किसानमाथि यस्तो अन्याय भैरहेको छ । दरबारमा बसेकाहरुले किसानमाथि अन्याय गरिरहेका छन् ।’

उनले गरिबीको सिमामा रहेका ८० प्रतिशत नेपालीहरुलाई उच्चस्तरमा रहेका मानिसहरुले हक जमाइरहेको पनि टिप्पणी गरे ।

‘माफिया भइरहेको छ । यसविरुद्ध हामी किसानहरुको यो शशक्त आन्दोलन हो । यसै पत्रकार सम्मेलनबाट दुई तिहाई सरकारको ध्यानकर्षण गराउन चाहन्छौं ।’उनले भने ।

उनले आजैदेखि देशभरि छरिएर सानो लगानीबाट व्यवसाय गरेर बसेका किसानहरुलाई आन्दोलनमा सामेल हुन अपिलसमेत गरेका छन् । उनले भने,‘हामी दाना उद्योग संघ तथा ह्याचरी उद्योग संघहरुले गरेको अन्याय र ज्यादतीको घोर विरुद्ध गर्न चाहन्छौं । राष्ट्रिय कुखुराबिक्रि संघलाई खारेजको माग गर्दछौं । किनभने कुखुरा पाल्ने किसानको अनुमति र सहमतिबिना दरबारमा बसेका मालिकहरुलाई कुखुराको मूल्य तोक्ने अधिकार छैन । दानाको मूल्य दाना संघले तोक्ने, चल्लाको मूल्य ह्याचरी संघले तोक्ने अनि कुखुराको मूल्य चाहीँ दरबारमा बसेकोले तोक्ने । यस्तो ज्यादती हुँदैन् । कुखुराको मूल्य निर्धारण जसले कुखुरा उत्पादन गर्छ, हो उनीहरुले नै तोक्न पाउनुपर्ने माग गर्दछौं ।’

किसानको लागतसम्म नआउने गरी कुखुराको मूल्य निर्धारण गरेको उनको आरोप छ । ‘३० रुपैयाँमा तयार हुने चल्लो ८० रुपैयाँँमा बेच्ने, २५ सयको दाना ३५ सयमा बेच्ने अनि जुन कुखुरा मूल्य नै २३० रुपियाँ लागत पर्छ त्यो चाहीँ १८० मा बेच्नुपर्ने । माफियालाई धनी बनाउन किसानले कुखुराको शुली सोरेको होइन । वैज्ञानिक तरिकाबाट मूल्य समायोजन गर्नुपर्छ,’ उनले भने ।

उनले आफूहरुले अघि सारेका माग पूरा नगरे ठीक नहुने चेतावनी दिए । उनले भने,‘यदि यो गर्दैनौं भने तिमीहरुको दिन सुरु भयो । हिसाबकिताबको दिन सुरु भयो । जसले यो देशमा दाना र चल्लाको व्यापार गर्ने र किसानमाथि ज्यादती गर्नेलाई कार्यक्रमबाट यदि तिमीहरु अब सच्चिदैनौं भने तिमीहरुको दिन सुरु भयो । सबै किसानलाई एक हुन पनि आग्रह गर्दछु ।’

कार्यक्रममा राष्ट्रिय कुखुरा पालक किसान संघर्ष समितिको सदस्य सुस्मिता कार्कीद्धारा प्रेस विज्ञप्ती वाचन गरेकी थिईन् भने समितिका अर्का सदस्य दिपक बस्ताकोटीले कार्यक्रम सञ्चालन गरेका थिए ।


पुष्प दुलाल