सेयर बजारका चतुर खेलाडी राकेश झुनझुनवाला यसरी बने अर्बपति, यस्तो छ उनको सफलताको कथा



राकेश झुनझुनवाला भारतीय सेयर बजारका बलिया खेलाडी हुन । भारतीय सेयर बजारमा उनलाई वारेन बफेटका नामले समेत चिनिन्छ ।

कुल २.६ बिलियन अमेरिकी डलर सम्पत्तिका धनी ५९ वर्षे राकेश अहिले भारतका ४८ औं धनी व्यक्तिको सूचीमा फोब्र्सले सूचिकृत गरेको छ । सन् २०२० मा ६० वर्ष पुग्ने उनी सोही अवसरमा कुल सम्पत्तिको २० प्रतिशत सम्पत्ति दान गर्ने घोषणा समेत गरिसकेका छन् ।

सेयर बजारमा आउने धेरैका लागि रोलमोडल बनेका राकेश ट्रेडिङ व्यवसायबाट सेयर बजारमा प्रवेश गरेका हुन् ।

राकेशको जन्म सन् १९६० मा मुम्बइमा भएको थियो । उनका पिता मुम्बईमा इनकम ट्याक्स अफिसर थिए । राकेशलाई सानैदेखि स्टक मार्केटमा रुचि थियो ।

यो रुचि उनलाई पिताबाट मिलेको थियो । राकेश १०÷१२ को उमेर हुँदादेखि नै राकेशका पिता र उनका साथीहरु जब स्टकबारे बहस गर्दथे उनले यसबारेमा प्रश्नहरु सोध्दथे ।

जस्तै, सेयरको मूल्य घटीबढी किन र कसरी हुन्छ ? जस्ता प्रश्नका जिज्ञाशा पिताले मिटाइदिन्थे । पिताले पनि उनको स्टक मार्केटबारे रुचि देखेर हरसम्भवले विस्तृतमा बुझाउँथे ।

उनले ग्राजुएसनको पढाइ मुम्बईको सिड्नम कलेजबाट पूरा गरे । सन् १९८५ मा सीएको पढाइ पूरा गरेपछि उनले पितासँग आफू स्टक मार्केटमा करिअर बनाउन चाहेको बताएका थिए ।

तब उनका पिताले उनलाई केही टिप्सहरु दिएका थिए । जुन उनको करिअरमा काम लाग्यो । पिताले भनेका थिए, ‘त्यही काम गर जुन काम गर्न मजा आउँछ, तर मसँग र मेरा साथीहरुसँग पैसा माग्न कहिल्यै नजानु र काम गर्दा कहिल्यै पनि नडराउनु ।’

तत्कालिन समयमा राकेशसँग जम्मा ५००० हजार थियो । त्यतिबेला राकेशका भाइ पनि सीए गर्दै थिए । भाइको सम्पर्कमा एकजना महिला व्यापारी थिइन । जोसँग पैसा त थियो तर राम्रो प्रतिफल आउने लगानीको क्षेत्र खोजिरहेकी थिइन् ।

तत्कालिन समयमा उनले ती महिलासँग साढे २ लाख रुपैयाँ लिएका थिए । त्यतिबेला बैंक निक्षेपमा १० प्रतिशतसम्म ब्याज मिल्थ्यो तर राकेशले ती महिला व्यवसायीलाई १८ प्रतिशत ब्याज दिने गरी ऋण लगानी जुटाए । राकेशले अन्य एक जनासँग ५ लाख रुपैयाँ लिए र यसरी सुरुवाती लगानी जुटाए ।

त्यो लगानीलाई टे«डिङ व्यवसायमा लगाएर उनले ८ देखि १० लाख भारुसम्म कमाए । तर त्यसपछिका २÷३ वर्ष राकेशका लागि कठीन भए ।

त्यसपछि सन् १९८८ मा एउटा कम्पनीको साढे २ लाख कित्ता सेयर २५ रुपैयाँमा खरिद गरेका थिए । सोही कम्पनीको बाँकी साढे २ लाख कित्ता सेयर ३५ रुपैयाँमा खरिद गरेका थिए । ६ महिनाको अवधिमा उक्त सेयरको बजार मूल्य ६५ रुपैयाँ पुगेको थियो ।

सन् १९८९ मा भीपी सिंहको सरकारमा वित्त मन्त्री मधु धनवटी थिए । व्यापारमा राम्रो दख्खल राख्ने धनवटीले ल्याएको त्यसवर्षको बजेट राकेश झुनझुनवालाको करिअरको टर्निङ प्वाइन्ट बन्यो ।

त्यसवर्षको बजेट आउनुभन्दा ५ महिना अगाडि राकेशको सम्पत्ति २ करोड थियो । तर बजेट आएको ६ महिनामा ४० करोडभन्दा बढी सम्पत्ति पुग्यो ।

त्यसपछि उनले रेयर इन्टरप्राइजेज कम्पनी स्थापना गरे । जुन एसेट म्यानेजमेन्ट फर्म हो । जहाँबाट उनले आफ्नो पोर्टफोलियो म्यानेज गर्दै आएका छन् ।

रेयरमा अगाडिको आरए शब्द राकेशको नामबाट र बाँकी आरई शब्द उनकी पत्नी रेखाको नामबाट लिइएको हो ।

उनले सन् २००२–२००३ मा ज्वेलरीको ठूलो कम्पनी टाइटनको सेयर प्रतिसेयर ४.५ रुपैयाँमा खरिद गरेका थिए । टाइटनको सेयर भविष्यमा ८० रुपैयाँसम्म पुग्यो र ३० रुपैयाँसम्म झर्यो ।

यसरी ८० रुपैयाँबाट ३० रुपैयाँमा झर्दा राकेशको सम्पत्ति ३०० करोडले कमी आएको थियो । तर उनले ३० रुपैयाँ कत्ति पनि सेयर बिक्री गरेनन् । किनभने उनलाई थाहा थियो कि टाइटनको भविष्य अझै छ र विकास अझै हुन्छ भन्नेमा विश्वस्त थिए । आज उक्त कम्पनीको सेयर ४०० को हाराहारीमा छ ।

उनी भन्छन, ‘लगानीकर्तासँग जहिले पनि धैयर्ता हुनु निकै जरुरी छ ।’ जसको उदाहरण उनी आफैलाई दिन्छन् ।

सन् २००५ मा उनले क्रिसलको सेयर २७ करोडमा बिक्री गरेर मुम्बईको मल्बामा एउटा फ्ल्याट खरिद गरेका थिए । राकेशले उक्त फ्ल्याटलाई राम्रो मूल्यमा बिक्री गरेका थिए ।

आज उक्त फ्ल्याटको मूल्य ८० करोडको हाराहारीमा छ । भने २७ करोडको क्रिसलको सेयर आज ७०० देखि ८०० करोडसम्म पुगेको छ । तर राकेश आफ्नो गल्तीमा कहिल्यै पनि पश्चता गर्दैनन् बरु त्यसबाट केही न केही पाठ सिक्छन् ।

उनका अनुसार बजार जहिल्यै माथि हुन्छ । बजार न कहिले सही हुन्छ न किहल्यै गलत नै । उनी भन्छन, सही र गलत मानिस हुन्छ । जसले निर्णय लिन्छ । त्यसैले कहिल्यै कुनै गल्ती भएमा उक्त गल्तीबाट केही सिक र अगाडि बढ । तर यदी तपाईले कहिल्यै आफ्नो गल्ती मान्नु भएन भने कहिल्यै सिक्नुहुन्न ।

उनको आफ्नो करिअरमा क्रिसल, प्राजइन्डस्ट्रिज, लुपिन र टाइटन जस्ता कम्पनी महत्वपूर्ण रहेको बताउँछन् ।

स्टक मार्केटका यी बलिया खेलाडी चलचित्र समेत निर्माण गरेका छन् । इंग्लिस–विंग्लिस, कि एन्ड का, समिताभ जस्ता चलचित्र निर्माण गरिसेका छन् । आजका दिनमा उनी कैयन कम्पनीका बोर्ड अफ डाइरेक्टर समेत छन् ।


क्लिकमान्डु