बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्तको तलब/भत्ता मासिक साढे १९ लाख, कर्मचारीको कति ?



काठमाडौं । बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृत (सीइओ) शोभनदेव पन्तले बैंकबाट मासिक तलब÷भत्ता तथा सेवा सुविधा गरेर १९ लाख ४० हजार ४ सय ५७ रुपैयाँ लिने गरेका छन् ।

सीइओ पन्तले गत आर्थिक वर्ष बैंकबाट २ करोड ३२ लाख ८५ हजार ४ सय ९४ रुपैयाँ लिएका छन् ।

बैंकले हिँजो (बिहीबार) वार्षिक साधारणसभा सम्पन्न गरेको छ । वार्षिक प्रतिवेदनमा सीइओले उक्त रकम लिएको उल्लेख छ । सीइओ पन्तले गत वर्षभरी बैंकबाट लिएको रकमलाई दैनिकरुपमा हेर्दा प्रतिदिन ६३ हजार ७ सय ९५ रुपैयाँ हुन्छ ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

सीइओ पन्तले सञ्चयकोष, औषधोपचार, सवारीसाधन सुविधा, मोवाईल फोनको भुक्तानी सुविधा तथा वोनस ऐन बमोजिमको बोनस गरी उक्त रकम लिएका हुन् ।

तर, सीइओ पन्तले बैंकबाट लिने यो सबै रकम आफ्नो खल्तीमा हाल्न पाउँदैनन् । यो आम्दानीमा उनले राजयलाई ३६ प्रतिशत कर तिरेका हुन्छन् । गत आर्थिक वर्ष सीइओ पन्तले आफ्नो कमाइबाट ८० लाख रुपैयाँ राज्यलाई कर तिरेका छन् ।

बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रतिबैठक १४ हजार रुपैयाँ र सञ्चालकलाई १२ हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, अध्यक्ष र सञ्चालकहरुलाई मासिक १६ हजार रुपैयाँ टेलिफोन, मोवाईल र पत्रपत्रिका खर्चका प्रदान गरेको छ ।

म्यानेजर वा सोभन्दा माथिका उच्च पदस्थ पदाधिकारी (सीइओ बाहेक) लाई तलब÷भत्ता तथा सेवा सुविधा बापत १३ करोड ६० लाख २७ हजार ८ सय १ रुपैयाँ प्रदान गरेको छ ।

बैंकमा कूल ११ सय जना कर्मचारी छन् । जसमध्ये ७ सय जना स्थायी कर्मचारी छन् । सबै कर्मचारीका लागि बैंकले १ अर्ब १५ करोड ९३ लाख ५९ हजार ७ सय २ रुपैयाँ खर्च गरेको छ । कर्मचारीको औषत मासिक तलब ८७ हजार ८ सय ३० रुपैयाँ पर्न आउँछ । सबैले ८७ हजार तलब पाउने भने होइनन् । तह र स्थायी वा अस्थायी हेरेर कर्मचारीको तलब घटीबढी हुन्छ ।

बैंकले कार्यालय सञ्चालन खर्च शिर्षकमा गत आर्थिक वर्ष ६९ करोड ३७ लाख ७७ हजार १ सय ६९ रुपैयाँ खर्च गरेको छ ।

गत वर्ष बैंकले १ अर्ब ८९ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफाबाट बैंकले सेयरधनीलाई १ अर्ब ३७ करोड ७ लाख २७ हजार २ सय २७ रुपैयाँ बराबरको लाभांश दिएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ६ करोड ३१ लाख रुपैयाँ छ । सेयरधनीले पाएको लाभांश चुक्ता पुँजीको १६.९९ प्रतिशत हो ।


पुष्प दुलाल