सानिमा बैंकका सीइओ भुवन दाहालको मासिक तलब १७ लाख, कर्मचारीको औषत १ लाख



काठमाडौं । मान्छेहरु किन बैंकको जागिर भनेपछि हुरुक्कै हुन्छन् ? यसका पछि केही खास कारण छन् । पहिलो मनग्ये पैसा र दोस्रो सामजिक प्रतिष्ठा । बैंकमा काम गर्ने कर्मचारीलाई अन्यत्रभन्दा बढी कामको लोड त अवश्य हुन्छ नै । तर, त्यसको तुलनामा तलबभत्ता, सेवा सुविधा पनि हुन्छ । र, समाजमा बैंकको जागिरे भनेपछि छुट्टै शान हुन्छ ।

आज हामीले सानिमा बैंकको अवस्था के छ त भनेर जानकारी दिने उद्देश्यले यो समाचार तयार पारेका हौं । गत आर्थिक वर्ष सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले तलबभत्ता र सेवा सुविधा गरी बैंकबाट २ करोड ८ लाख ३९ हजार रुपैयाँ लिएका छन् । मासिक रुपमा हेर्दा यो रकम १७ लाख ३६ हजार ५ सय ८३ रुपैयाँ हुन आउँछ भने दैनिक रुपमा हेर्दा ५७ हजार ९३ रुपैयाँ पर्न आउँछ ।

यसरी बैंकबाट लिएको रकममा सीइओ दाहालले सरकारलाई ३६ प्रतिशत कर तिरेका छन् । जसअनुसार उनले गत वर्ष राज्यलाई ७० लाख रुपैयाँ कर तिरे ।

बैंकले कर्मचारीहरुका लागि तलबभत्ता, बोनस र अन्य सुविधा गरी गत आर्थिक वर्षमा १ अर्ब २५ करोड ९७ लाख ६७ हजार ७ सय ३५ रुपैयाँ खर्च गरेको छ । बैंकमा गत असार मसान्तसम्ममा ९ सय ६२ जना कर्मचारी थिए । बैंकले कर्मचारीका लागि कूल खर्च गरेको रकमलाई कूल कर्मचारी संख्याले भाग गर्दा औषतमा सानिमा बैंकका कर्मचारीले मासिक १ लाख ९ हजार रुपैयाँ लिएको देखिन्छ ।

तर, माथिल्लो तहका कर्मचारीले ४/५ लाखसम्म र तल्लो तहका कर्मचारीले ३५/४० हजार रुपैयाँ मात्रै पाउँछन् । यसर्थ औषतमा भनिएजस्तो १ लाख बढी तलबभत्ता चाहीँ सबै कर्मचारीले पाउँदैनन् ।

बैंकले प्रमुख व्यवस्थापकहरुका लागि गत आर्थिक वर्षमा ५ करोड २९ लाख ३५ हजार पैयाँ खर्च गरेको छ । हामीले यो तथ्यांक बैंकले प्रकाशित गरेको १५औं वार्षिक साधारणसभाको प्रतिवेदनबाट लिएका हौं ।

गत आर्थिक वर्षमा यो बैंकले सेयरधनीहरुलाई पनि राम्रो प्रतिफल दिएको छ । बुधबार सम्पन्न बैंकको १५ वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गरी कूल २१.०५२ प्रतिशत लाभांश पारित गरेको छ ।

गत आर्थिक वर्ष बैंकले २ अर्ब २६ करोड खुद नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३३.०२ प्रतिशतले बढेको हो ।


पुष्प दुलाल