केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १ अर्ब ७० करोड लाग्ने, खर्च चीनले नै बेहोर्ने



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको क्रममा भएको सहमति अनुसार नै केरुङ काठमाडौं रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु हुने भएको छ ।

रेल विभागका अनुसार सम्भाव्यता अध्ययनको काम केही समयभित्रै शुरु गर्ने तयारी समेत भएको छ ।

पूर्व सम्भाव्यता अध्ययन गरेको कम्पनीले नै सम्भाव्यता अध्ययनको काम शुरु गर्ने तयारी छ । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौं रेलमार्गंको पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । सो रेलमार्गको सम्भाव्यता अध्ययनका लागि १ अर्ब ७० करोड हुने अनुमान छ । सम्भाव्यता अध्ययनका लागि चीनले उक्त रकम अनुदानमा उपलब्ध गराउने छ । चिनियाँ कम्पनीले नै सम्भाव्यता अध्ययन गर्ने छ ।

चीनले हाल सिगात्सेबाट मानसरोवर जाने रेलमार्ग निर्माण गरिरहेको छ । ताइकु तालको नजिबाट नेपाल आउने रेल निर्माण हुनेछ । ताइकुतालबाट रसुवागढीसम्मको दुरी १०० किलोमिटर रहेको छ । यस्तै रसुवागढीबाट काठमाडौंसम्म ७२ किलोमिटर लामो रेलमार्ग हुनेछ ।

काठमाडौंको टोखादेखि नुवाकोटको छहरे र रसुवाको बेत्रावतीदेखि स्याफ्रुवेशीसम्म सुरूङ निर्माण गरिनेछ ।


क्लिकमान्डु