सीडीएससीले तोड्यो सेयर बजारमा औंठा छापको युग



काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्नको लागि नयाँ सफ्टवेयर तयार पारेको छ ।

सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार सोमबारबाट नै यसको सुरु हुँदैछ । उनले भने ‘हामी अन्तिम चरणको टेष्ट गर्दै छौं, केही समयमा नै लाइभमा जाने छौं । हामीले यो नयाँ डिजाइनमा बनाएका छौं ।’ उनका अनुसार अब कुनै पनि लगानीकर्ता ब्रोकर कार्यालयमा औठा छाप लगाउन जानु पर्ने छैन । नयाँ डिजाइनमा आएको लाभकर गणना प्रणालीसँगै मेरो सेयर सफ्टवेयरका अन्य फिचरहरु राखिएको छ ।

हाल मेरो सेयर प्रयोग गरिरहेका साढे ५ लाखको हाराहारीमा रहेका लगानीकर्ताहरुले यसको प्रयोग गर्न पाउने छन् । यो सँगै यसअघि ब्रोकर कार्यालय मै पुगेर औंठा छाप लगाउने युगको औपचारीक रुपमा अन्त्य भएको छ ।

सीडीएससीले मेरो सेयर सफ्टवेयर प्रयोग गर्नेहरुलाई यसको प्रयोग गर्न र कुनै समस्या तथा सुझाव दिन लामो समय दिएको थियो । उक्त समयमा आएको सुझावको आधारमा यसले पूर्णता पाएको न्यौपानेको भनाई छ । यसको प्रयोगले सेयरको लाभकर गणनामा अहिले रहेको औठाँछाप युगको समाप्त हुने छ र लगानीकर्ताको समयको समय बचत हुने छ । अब लगानीकर्ताले ब्रोकरकोमा गएर औठाछाप लगाउनु पर्ने छैन । आफू भएको स्थानबाट बसेर एक क्लिकमा नै सबै काम हुने छ ।

सरकारले साउन १ गतेबाट भारित औसतबाट पुँजीगत लाभकर लिन सुरुगरेयता गणना विधिमा विभिन्न समस्या देखिएको थियो । यो सुरुभएसँगै लगानीकर्ताले सेयर बजारमा ढुंगेयुगको सुरु भएको भन्दै सर्वत्र विरोध समेत गरेका थिए ।


क्लिकमान्डु