नेपालको समृद्धिमा चीनको सहयोग अपरिहार्यः अध्यक्ष तिमल्सिना



काठमाडौं । राष्ट्रियभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको समृद्धिको यात्रामा चिनियाँ सहयोग अपरिहार्य भएको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार भएको शिष्टाचार भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष तिमल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता खुशी भएको र भ्रमणका लागि आफूले धन्यवाद दिँदै समृद्धिमा सघाउन आग्रह गरेको बताए । अध्यक्ष तिमल्सिनाले सङ्घीय संसद्का तर्फबाट राष्ट्रपति सीसँग होटल सोल्टीमा भेटवार्ता गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । ‘नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ, चीनका विरुद्ध नेपालमा कुनै गतिविधि हुन दिँदैनौँ’, भेटका क्रममा उनले भने । त्यसैगरी चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआइ) मा नेपाल साझेदार बन्न पाउँदा आभारी रहेको र परियोजनाको सफलताको शुभकामना व्यक्त गरे ।

राष्ट्रपति सीले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए । ‘नेपालको संसद्को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु’, राष्ट्रपति सीले भने ।


क्लिकमान्डु