रेलको अध्ययन मात्रै हुने, सुरुङ मार्ग निर्माणको सम्झौता नै हुने, २ घण्टामा केरुङ पुगिने



काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ राजकिय भ्रमणको क्रममा बहुचर्चित नेपाल चीन जोड्ने रेलमार्ग सम्भाव्यता अध्ययन गर्ने सहमति हुने भएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाल र चीनका प्रतिनिधिमण्डलबीच वार्तामा नेपाल चीन रेलमार्ग जोड्नको लागि विस्तृत सम्भाव्यता अध्ययनको सहमति हुने छ ।

चीनले नेपालसँग सडक संजाल जोड्ने सुरुङ मार्ग बनाइदिने घोषणा गर्ने छ । काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग चीनले अनुदानमा बनाइदिने छ ।

काठमाडौं केरुङ जोड्न ३० किलोमिटर सुरुङ बनाइदिने घोषणा चीनले गर्ने छ । जसको पहिलो खण्ड टोखादेखि नुवाकोटको खहरे हुने छ । दोस्रो खण्डले रसुवाको वेत्रावती स्याफ्रुबेंसीमा सुरुङ मार्ग बन्ने छ । यो सुरुङ मार्ग निर्माण भएपछि २ घण्टामा काठमाडौंबाट केरुङ पुग्न सकिने छ ।

दुईखण्ड गरेर करिब ३० किलोमिटर सुरुङ बन्ने छ । जसको लागत करिब १ खर्ब रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ ।

चीनले सीको भ्रमणको क्रममा रेलमार्ग निर्माणको डीपीआर गर्ने घोषणा गर्ने छ । सरकारी स्रोतहरुका अनुसार चीनले आफ्नै खर्चमा डीपीआर बनाउने छ । त्यसपछि मात्र चीन र नेपाल रेलमार्गको बारेमा टुंगो लाग्ने छ ।

तर, चीन नेपालमा रेल बनाइदिनभन्दा सुरुङ मार्गले जोडिन चाहेको छ । रेल बनाउन समय र खर्च पनि बढी लाग्ने भएकाले चीन सुरुङमार्ग बनाउन अग्रसर भएको हो ।

सुरुङमार्गले जोडेपछि काठमाडौंदेखि केरुङसम्मको लम्बाई जम्मा ८२ किलोमिटर मात्रै हुनेछ । र, २ घन्टामा काठमाडौंबाट केरुङ पुगिने छ । २ घन्टामै केरुङ पुगिने भएपछि रेल बनाइरहन आवश्यक नरहेको जानकारहरु बताउँछन् ।


पुष्प दुलाल