अर्थमन्त्री खतिवडाको दशैंः बगैँचा गोड्नेदेखि खानाका परिकार बनाउनेसम्म, दक्षिणा कति दिन्छन् ?



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका छन् ।

डा. खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर थिए । गभर्नर भनेको नोटमा हस्ताक्षर गर्ने व्यक्ति हो । खतिवडाले हस्ताक्षर गरेको नोट अहिले पनि बजारमा छ्यापछ्याप्ती पाइन्छन् ।

खर्बौंको व्यवस्थापन गरिरहेको र पैसामा हस्ताक्षर गरिसकेको व्यक्तिले दशैं कसरी मनाउला भन्ने आम चासो हुनु स्वभाविक नै हो ।

र, अर्को चाखलाग्दो कुरा त के हो भने गभर्नर भइसकेको र बहालवाला अर्थमन्त्रीले दशैंमा टिका लगाएर छोरीचेली, ज्वाईंचेला, भाञ्जाभाञ्जी लगायतलाई दक्षिणा चैं कति देलान् ?

आज हामीले अर्थमन्त्री खतिवडाको दशैं र दक्षिणाका विषयमा केन्द्रित भएर यो समाचार तयार पारेका हौं । सार्वजनिक पद धारण गरेर उच्च अहोदामा बसेका व्यक्तिहरुको व्यक्तिगत जीबन पनि आम चासोको विषय भएकाले हामीले यो समाचार तयार पारेका हौं ।

सामान्यतयाः आम मानिसले दशैंमा खानपिन, लत्ताकपडामा बढी खर्च गर्छन् ।

कट्कट् गर्ने नयाँ नोट जमरा र टिकासँगै थालभरी राखेर मनाइने दशैं धेरै खर्च गरिने पर्वमा पर्छ । मासुका अनेकन परिकारका स्वादलाई रक्सीको चुस्कीसँगै घुटुक्क निल्ने समाजमा यी सबै चीजबाट टाढा रहेर सरल जीवनशैली अपनाउने अर्थमन्त्री खतिवडाले कसरी दशैं मनाउँछन् ? खानपिनमा कति खर्च गर्छन् ? के कस्ता परिकार खान्छन् । र, कति दक्षिणा दिन्छन् भन्ने जिज्ञाशा हामीले उनकै ज्वाँई डा. रामशरण खरेललाई भेटेरै सोधेका थियौं ।

खतिवडाले दशैं बिदा फूलपातिदेखि बस्छन् ।

प्रणामी धर्म मान्ने अर्थमन्त्री डा. युवराज खतिवडा शाकाहारी हुन् । उनी शाकाहारी मात्रै होइनन, नन-अल्कोहलिक (रक्सी नखाने मान्छे) पनि हुन् । उनी मात्रै होइन, परिवार तथा नातेदारहरु पनि अधिकांश शाकाहारी र नन-अल्कोहलिक छन् ।

अधिकांश नेपालीका लागि दशैंमा मासुका परिकार र रक्सी रमाइलोका लागि आवश्यक तत्व जस्तै छन् । दशैंमा घरमा आउने पाहुनालाई पनि मासु र रक्सीले नै स्वागत गर्ने चलन छ ।

तर अर्थमन्त्री खतिवडाको घरमा न त मासुका परिकार पाक्छन न त रक्सी नै प्रवेश हुन्छ । पाहुनलाई पनि मासु र रक्सीका परिकार दिइँदैन् ।

दशैंको बिदा अर्थमन्त्री खतिवडाका लागि पेन्डिङ काम पूरा गर्ने समय पनि हो । लेख्न बाँकी रहेका लेख, रिपोर्ट र पढ्न बाँकी रहेका पुस्तक, रिपोर्ट पढ्ने उपयुक्त समय पनि हो ।

थोरै समय मिल्नासाथ खतिवडा घरकै करेसाबारीमा तरकारी र बगैँचामा फुलहरु गोडमेल पनि गर्छन् । घरको काममा सघाउने बानी भएका सरल मिजासका अर्थमन्त्री भान्साको काम पनि गर्छन् ।

अध्ययनपछि छरिएका किताबहरु मिलाउने र आफ्नो कोठा पनि मिलाउँछन् ।

खतिवडा भेज आइटमका खानामा साउथ इन्डियन खाना औधी मन पराउँछन् । उनी पीएचडी गर्न भारतको दिल्लीमा बस्दा साउथ इन्डियन खानाका पारखी बनेका थिए ।

फुर्सदमा भान्सामा छिरिहाले भने इड्ली र डोसा जस्ता विशेष परिकार आफैं तयार पार्छन् । र, सबैलाई चखाउँछन् पनि ।

सामान्यतयाः अन्य समयमा भेटघाट गर्न नपाएका आफन्तलाई पनि उनी यही समयमै भेट्छन् । दशैं शुरु भएपछि कम्तीमा एक दिन मन्दिरमा गई दुर्गा पूजा गछ्र्रन् । प्रणामी गुरुहरुलाई घरमा नै बोलाउँछन् ।

दशैंको टिकाको दिनबाट पूर्णिमासम्म नै टिका आदनप्रदान गर्ने प्रचलन खतिवडाकोमा पनि छ । १ छोरी, २ छोरा, १ भाई र ७ जना दिदीबहिनी गरी १३ जनाको ठूलो परिवार छ ।

मिलेसम्म दशैंको बिदामा काठमाडौं नजिकैका ठाउँमा परिवारसहित घुम्न पनि जान्छन् ।

दशैंमा झापाको घरदेखि काठमाडौंसम्म फैलिएका आफन्तहरु गरी करिब १ सय जनासँग भेट हुन्छ । जसमा करिब ५० जना भन्दाबढीले उनकै हातबाट टिका थाप्छन् । आशीर्वाद र दक्षिणा पनि थाप्छन् ।

सामान्य खानपिन र सरल जीवनशैली अपनाउने अर्थमन्त्री खतिवडाले दक्षिणा पनि सामान्य नै दिन्छन् । अर्थात्, मध्यवर्गिय परिवारमा चल्ने दक्षिणा नै दिन्छन् । सामान्यतयाः १ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दक्षिणा दिँदै आएका छन् ।

अर्थमन्त्रीका एक मात्रै छोरी ज्वाँई डा. रामशरण खरेल हुन् । उनी राष्ट्र बैंकमा निर्देशक छन् । गत असार मसान्तसम्म खरेल राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालयमा अर्थमन्त्री खतिवडाको निजी सचिवालयमा कार्यरत थिए ।

हामीले उनलाई सोध्यौ, तपाई त अर्थमन्त्रीको ज्वाँई साहेब, दक्षिणा त टन्नै पाउनुहुन्छ होला है ?

खरेलले आफूले बिहे भएपछि सुरुका केही वर्ष दक्षिणा लिए पनि पछिल्ला धेरै वर्षयता ज्वाँईको रुपमा दक्षिणा लिन बन्द गरेको बताए ।

‘सुरुका केही वर्षमा लिएँ, त्यतिबेला पनि सामान्य दक्षिणा नै लिन्थे, तर धेरै वर्षयता ससुराली र मामाघरबाट दक्षिणा लिन बन्द गरेको छु’ खरेलले भने ।

खरेल आफैं पनि सामान्यतयाः ५० रुपैयाँदेखि बढीमा १ हजार रुपैयाँसम्म दक्षिणा दिन्छन् ।

‘सबैलाई दिइने दक्षिणालाई औसतमा निकाल्ने हो भने १ सय रुपैयाँ सम्झनुहोस् न’ उनले भने, ‘जे होस् मैले ससुराबा (युवराज खतिवडा) बाट पनि १००० रुपैयाँभन्दा बढी दक्षिणा पाएको छैन । अरुलाई पनि यस्तै हो ।’


पुष्प दुलाल