बैंकिङ क्षेत्रका समस्या समाधानका लागि सकारात्मक पहल गर्न सीएनआईले सरकारलाई गर्यो आग्रह




काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बैंकिङ, व्यवसायमा देखिएका समस्या समाधानमा सरकारसँग सकारात्मक पहल गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ ।

सीएनआईले मुलुकको आर्थिक, उद्योग, बैकिङ व्यवसायको विद्यमान वस्तुस्थिती तथा यस क्षेत्रमा देखिएका नीतिगत, कानूनी एवम् प्रक्रियागत समस्याका सन्दर्भमा निजी क्षेत्रका विभिन्न संघ संस्थाले सरकारसँग विभिन्न माध्यमबाट निरन्तर संवाद तथा सहकार्य गर्दै आएको छ ।

सरकारले आर्थिक, उद्योग, बैंकिङ ऐन आदि क्षेत्रमा कानूनको नीतिगत व्यवस्था एवम् प्रक्रियागत सुधारमा देखाएको चासोप्रति निजी क्षेत्र उत्साहित भएको सीएनआईको भनाइ छ ।

तर हाल केही समययतादेखि उद्योग, आर्थिक एवम् बैंकिङ व्यवसाय लगायतका क्षेत्रमा विभिन्न अव्यवहारिक बाध्यात्मकता व्यवस्था भएकाले व्यवसाय सञ्चालन महंगो भएको सीएआईले बताएको छ ।

त्यस्तै, बैकिङ क्षेत्रमा जे–जस्ता घटनाक्रम विकसित भएका छन् त्यसप्रति परिसंघलगायत सम्बन्धित क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ ।

आर्थिक, उद्योग, बैकिङ व्यवसाय एक अर्काका परिपूरक भएको यथार्थतामा एउटा क्षेत्रमा पर्न जाने अप्ठ्याराले एक अर्को क्षेत्र समेत प्रभावित हुने हुँदा सरकारबाट उद्योग, आर्थिक एवं बैकिङ व्यवसायको मनोबल बढाउने गरी वातावरणको सुनिश्चितता कायम गर्न परिसंघले सरकारसँग आग्रह गरेको छ ।

वित्तीय क्षेत्रमा हालै विकसित घटनाक्रमले बैंक तथा वित्तीय संस्थामा आवद्ध सम्पूर्ण जनशक्ति चिन्तित भएकाले यसले आगामी दिनमा ऋण प्रवाहमा पार्न सक्ने असर तथा समग्र अर्थतन्त्रमा नै प्रतिकूल हुने कुरालाई मनन गर्दै समस्या निवारणमा सम्बन्धित निकायबाट सकारात्मक रुपमा सामाधानका लागि आवश्यक पहल गर्नेमा सीएआई विश्वस्त रहेको जनाएको छ ।


क्लिकमान्डु