ब्याज खान पल्केका म्युचुअल फण्डको सेयर बजारमा घट्दो लगानी




काठमाडौं । घटदो सेयर बजारमा लगानी बढोस भन्ने उद्देश्यले म्युचुअल फण्ड सुरु गरिएको भएपनि त्यो अनुसार काम हुन नसक्दा बजारको अपेक्षाकृत सुधार हुन सकेको छैन ।

यतिबेला फण्डहरु घट्दो बजारमा लगानी गरेर बजारको विकास गर्नुको सट्टा मुद्धति खातामा पैसा राखेर ब्याज खान पल्केका छन् । यसै कारण पनि फण्डहरुलाई बजारका ज्वाँइको रुपमा चर्चा गर्नेहरुको कमी छैन ।

उनीहरुको लागि राज्यले पनि विभिन्न सुविधा दिएको छ । तथापी फण्डहरुको ध्यान भनेको ब्याज खानमा नै रहेको छ । सूचीकृत सेयरमा लगानी कम, बढी ब्याज खान पल्केपछि उनीहरुको कामकारबाही प्रति धेरै नै आलोचना हुने गरेको छ । यतिबेला १८ वटा फण्डहरुले भदौ महिनाको मासिक रिपोर्ट सार्वजनिक गरेका छन् ।

फण्डहरुले सार्वजनिक गरेको अनुुसार भदौ महिना फण्डहरुको प्रति इकाइ खुद सम्पत्ति मूल्यमा उल्लेख्य सुधार देखिएको छैन । १८ वटा फण्डमध्ये ३ वटाको खुद सम्पत्ति मूल्य मात्रै सुधार देखिएको छ । बाँकीको खुद सम्पत्ति मूल्यमा गिरावट आएको छ ।

यसले पनि निरन्तर ओरालो लागेको बजारलाई कुनै पनि भरथेग नगरेको देखिएको छ । यो अवधिमा ४ वटा फण्डको मात्रै सूचिकृत सेयरमा गरेको लगानी बढेको छ । बाँकी १४ वटाको भने घटेको छ ।

लामो समयदेखि फण्डहरु धितोपत्र बजारमा लगानी गर्न भन्दा, बजारको विकास भन्दा नाफामुखी बन्दै गएका कारण सूचीकृत सेयरमा लगानी घटेको लगानीकर्ताको भनाइ छ ।


क्लिकमान्डु