डिजिटल दक्षिणाः कम्पनीले ल्याउँदै छन् यस्ता योजना



काठमाडौं । डिजिटल भुक्तानी प्रणालीका लागि मोबाइल पे सर्भिस सञ्चालन गर्दै आएका विभिन्न कम्पनीहरुले दशैंमा दक्षिणाका लागि लक्षित गरी डिजिटल दक्षिणाको योजना ल्याउने भएका छन् ।

कम्पनीहरुले दशैंमा दक्षिणा दिँदा आफ्नै नीतिलाई कार्यान्वयन गर्न डिजिटल दक्षिणाका लागि विभिन्न योजना ल्याउने भएका हुन् । विभिन्न कम्पनीहरुले पनि दशैंमा डिजिटल दक्षिणाका विषयमा विभिन्न योजना ल्याउने तयारीमा रहेको बताएका छन् ।

सामान्यतया दशैंमा डिजिटल दक्षिणा भुक्तानी त्यो पनि दशैं तिहारजस्ता चाडपर्वमा सुन्दा नौलो लाग्ने विषय हो ।

दशैंमा मान्यजनबाट टिका र आशीर्वाद लिएर खाममा दक्षिणा लिने परम्परालाई तोड्न र पैसाको कारोबारलाई सुरक्षित बनाउनका लागि डिजिटल दक्षिणाको योजना ल्याउने बताएका छन् ।

मोबाइल पेमेन्टका लागि पछिल्लो समयमा आक्रमक बजार विस्तार गरिरहेको ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले गत वर्षको दशैंमै खल्तीले यस्तो योजना सुरु गरेको बताए ।

‘गत वर्ष हामी नयाँ-नयाँ थियौं, तै पनि गत वर्षको दशैंमा यो सेवा निकै चलेको थियो, यो वर्ष हामीले हाम्रो आईटीमा निकै सुधार गरेका छौं,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

उनका अनुसार यो वर्षको दशैंमा टिका लगाएर धेरैले दक्षिणा दिँदा डिजिटल्ली भुक्तानी गर्न सक्नेछन् । नेपालको लागि यो विषय नयाँ भए पनि सबै नेपालीले यसको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ ।

यो वर्ष खल्तीले दशैंका ‘यो वर्ष दशैंको दक्षिणा खल्तीबाट’ भन्ने योजना ल्याउने भएको उनले बताए । उनका अनुसार खल्ती प्रयोग गर्नेले एपबाटै दक्षिणा दिन मिल्ने बताए । अहिले खल्तीबाट ७० वटा बैंकबाट भुक्तानी गर्न मिल्ने उनको भनाइ छ ।

त्यस्तै, ई-सेवाले पनि यो वर्षको दशैंमा ‘टिका निधारमा दक्षिणा मोबाइलमा’ भन्ने योजना ल्याउने भएको छ । ई-सेवाका प्रमुख सञ्चालक अधिकृत रोशन लामिछानेले नोटको प्रयोग कम गर्नका दशैंमा दक्षिणा दिँदा डिजिटल सिस्टमबाट दिने योजना ल्याएको बताए ।

‘नगदमा नै दक्षिणा दिँदा राख्न बैंकमा जानुपर्ने वा आफैले राखे खर्च हुने भएकाले त्यसो नहोस भनेर ई-सेवाबाट दक्षिणा लिने दिन मल्निे सिस्टम ल्याइएको हो’ उनले भने ।

उनका अनुसार ५१ हजार रुपैयाँसम्म अहिले ई-सेवाबाट भुक्तानी गर्न सकिन्छ । आफूले गतवर्ष नै दशैंको दक्षिणा ई-पाएको बताए । यता आईएमई पे ले पनि यो वर्षको दशैं तिहारको लागि भनेर ‘दशैंको दक्षिणा योजना’ नामक योजना ल्याउने तयारीमा रहेको बताएको छ ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विकास नाहाटाका अनुसार यो एप प्रयोग गर्नेहरुले एकले अर्कोलाई सहजै पैसा पठाउन सकिन्छ ।

‘दक्षिणा लिने र दिने दुबैले यो एप प्रयोग गर्नु भएको छ भने एपबाटै पैसा पठाउन सकिन्छ, दुबै मध्येमा एकसँग यो एप छैन भने मोबाइल नम्बरमा दक्षिणा पठाउन सकिन्छ । त्यसो गर्दा मोबाइलमा कोड नम्बर आउँछ । त्यो नम्बर लिएर बैंकमा गएपछि दक्षिणाको रकम बैंक खातामा जम्मा हुन्छ’ उनले भने ।

नाहाटाका अनुसार यो एप तिहारसम्म प्रयोग गर्न सकिन्छ । यो एप आगामी साता सार्वजनिक हुने उनको भनाइ छ ।

त्यस्तै, अर्को सेवाप्रदायक सेल पेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन प्रधानले दशैंमा डिजिटल दक्षिणा दिने विषयमा नयाँ योजना ल्याउने तयारी रहेको बताए ।

यता प्रभु पेका सीईओ कुशल रेग्मीले अहिलेसम्म डिजिटल्ली रुपमा दक्षिणा लिने दिने केही नगरेको बताए । दशैंको लागि भन्दै प्रभुले यस्ता खालको कुनै योजना पनि नबनाएको उनले जानकारी दिए ।


पुष्प दुलाल