बैंकका सीइओलाई सीआइबीले बोलायो



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकका सीइओहरुलाई बोलाएको छ । साइबर सेक्युरीटीका सम्बन्धमा चासो देखाउँदै सीआइबीले छलफलका लागि बोलाएको हो ।

‘सोमबार बिहान ११ बजेका लागि सीआइबीले बोलाएको छ,’ एक बैंकरले भने, ‘बैंकहरुको साइबर सेक्युरिटीमा केही कमजोरी देखिएकाले त्यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्ने भनिएको छ ।’

पछिल्लो समय बैंकहरुको साइबर सेक्युरिटीमा समस्या देखिएपछि सीआइबीले चासो देखाएको हो ।

‘चाडबाडको बेलामा बैंकबाट रकम चोरी नहोस्, त्यसका लागि साइबरलगायतका सुरक्षा वयवस्था कस्तो छ, के कस्ता कमी कमजोरीहरु छन् र कसरी सुधार गर्ने भन्ने छलफलका लागि हामीले केही सीइओहरुलाई बोलाएका हौं,’ सीआइबी स्रोतले भन्यो ।

केही समयअघि चिनियाँ ह्याकरले विभिन्न बैंकको एटीएम ह्याक गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका थिए । त्यसैगरी केहीदिन अघि मात्रै कृषि विकास बैंकका कर्मचारीको पासवर्ड प्रयोग गरी करिब ६ करोड चोरी भएको थियो ।

एकै महिनामा दुई वटा चोरी भएपछि प्रहरीले साइबर सेक्युरिटीमा बढी चासो दिएको हो ।


पुष्प दुलाल