नेप्सेको अनलाइन सिस्टम अन्तर्राष्ट्रियस्तरको हुन सकेनः धितोपत्र बोर्ड अध्यक्ष कार्की



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले नेपाल स्टक एक्सचेन्ज नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको हुन नसकेको दाबी गरेका छन् ।

आफु अध्यक्ष हुँदा गरेको कामको जानकारी दिन राजधानीमा आयोजित कार्यक्रममा कार्कीले नेप्सेले ल्याएको अनलाइन सिस्टम अन्तर्राष्ट्रियस्तरको हुन नसकेको दाबी गरेका हुन् ।

‘नेप्सेको अनलाइन सिस्टम अन्तर्राष्ट्रिय स्तरको टेस्टेड भएन, लअन्तराष्ट्रिय स्तरको भएको थियो भने समस्या नै आउने थिएन, अहिले पनि समस्याहरु देखिराखेका छन्,’ कार्कीले भने ।

उनले अनलाइन सिस्टममा कुनै पनि समस्या देखिन नहुने तर्क समेत गरे । ‘अहिले जति नै समस्या भएपनि त्यो समस्या विस्तारै समाधान हुँदै जाला,’ उनले भने ।

अन्तर्राष्ट्रियस्तरको धितोपत्र कारोबारको टेष्टेड सफ्टवेयर प्रणाली अपनाइ गैरआवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई बजारमा प्रवेश गराउने कार्य चुनौतीपूर्ण रहेको बताए ।

कार्यक्रममा कार्कीले आफुले सेयर बजारमा देखिएको समस्या समाधान गर्नको लागि नेप्सेमा हुँदा पहिलो चरणको काम गरेको र दोस्रो चरणको काम भने बोर्डमा आएर गरेको जानकारी गराए ।

उनले आफू आएपछि सेयर बजारमा देखिएको समस्या सुधार गरेर स्थानीय स्तरसम्म सेयर बजार पुर्याएको बताए ।

उनले भने ‘सेयर बजारमा मैले धेरै काम गरेको छु अब आउने अध्यक्षलाई काम गर्न निकै सजिलो हुने छ ।’

कार्यक्रममा अध्यक्ष कार्कीले बोर्डले तयार पारेको इन्साइडर टे«डिङ कार्यविधिलाई बोर्डले स्विकृती दिएर मन्त्रालयमा पठाउने तयारीमा रहेको बताए ।

कार्यक्रममा कार्कीले देशको अर्थ व्यवस्था हेरेर कमोडिटी बजारको व्यवस्था गर्न लागेको बताए ।

उनले भने ‘२ वटा मागेकोमा ६ वटाको आवेदन परेको छ, त्यो फाइल अर्थको सहसचिवको टेबुलमा पुगेको छ । केही समयमा यसले पूर्णता पाउने छ ।’

जति वडाको आवेदन परेपनि नम्बरिङको आधारमा छनोट गर्ने भएकोले कुनै समस्या नरहेको समेत बताए । धेरैलाई दिँदा बजारले धान्न नसक्ने भएकाले मनोपोली नहोसभन्ने अपेक्षा बोर्डको रहेको उनको भनाई छ ।


पुष्प दुलाल