दशैंमा रेमिट्यान्स पठाउँदा उपहारै उपहार, कुन कम्पनीले के दिन्छन् ?



काठमाडौं । नेपालमा चाडपर्वको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्दछ । श्रमका लागि विदेश गएकाहरुले चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले यस समयमा धेरै रेमिट्यान्स भित्रिने गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले स्वदेशमा हुने आफन्तलाई चाडपर्व खर्च पठाउने हुँदा यो समयमा रेमिट्यान्सको कारोबार बढेको हो ।

राष्ट्र बैंकका अनुसार गत वर्ष झण्डै ८ खर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ । गत आर्थिक वर्ष ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । जसमा ८९ अर्ब रुपैयाँ असोज महिनामा मात्रै भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा छ ।

चाडपर्वमा भित्रिने रेमिट्यान्सलाई ध्यानमा राख्दै रेमिट कम्पनीहरुले पनि विभिन्न स्कीमहरु ल्याएका छन् । चाडपर्वको सिजनमा बढी रेमिट्यान्सको कारोबार हुने भएकाले रेमिट कम्पनीहरुले ग्राहकलाई आफूमा आकर्षण गर्न विभिन्न अफरहरु ल्याएका हुन् ।

दशैं, तिहारलाई लक्षित गरी सिटी एक्सप्रेस मनि ट्रान्सफर, आइएमई, प्रभु मनि ट्रान्सफर, वेस्टन युनियन मनि ट्रान्सफरलगायतका रेमिट कम्पनीहरुले दशैं स्किमहरु सार्वजनिक गरिसकेका छन् । यी कम्पनीहरुले रेमिट्यान्सको कारोबार गर्ने ग्राहकका लागि आकर्षण तथा बम्पर उपहार ल्याएका हुन् ।

आईएमईः आइएमईले दशैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहकहरुका लागि ‘यो दशैमा खुसीलाई डबलको डबलको डबल गरौं’ नामको दशैं अफर सार्वजनिक गरिसकेको छ ।

जसमा कम्पनीले आफू मातहतमा रहेर कात्तिक मसान्तसम्म रेमिट्यान्सको कारोबार गर्ने ग्राहकहरुलाई हरेक दिन आईएमई पेमार्फत् पैसा पठाउने सेवाग्राहीलाई आईएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना सेवाग्राहीलाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने आईएमई ग्रुपका जनसम्पर्क अधिकृत राजु पौडेलले बताए ।

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’मार्फत गरिने छ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरु स्वत सहभागी हुने पौडेलको भनाइ छ ।

प्रभु मनि ट्रान्सफरः विदेशबाट नेपालमा रकम पठाउनका लागि प्रभु मनि ट्रान्सफरले दशै, तिहार तथा छठ पर्वको अवसरमा आफ्ना ग्राहकहरुलाई लक्षित गरी ‘चाडपर्वको उमंग, रमाऔं प्रभुसँग’ भनेर पर्वलाई उल्लासमय बनाउन नयाँ योजना ल्याएको छ ।

उक्त योजनामा प्रभु मनि ट्रान्सफरबाट कारोबार गर्ने हरेक ब्यक्ति यस योजनामा सामेल हुन सक्नेछन् । यस योजनामा एक जोडी भाग्यशाली बिजेताले प्रभु हेलिकप्टरमा कालिञ्चोक भ्रमण गर्ने अवसर पाउनेछन् । साथै, अन्यले विभिन्न उपहारहरुमा टिसर्ट, क्याप र प्रभु टिभी सेटटप बक्स रहेको प्रभु मनी ट्रान्सफरका रामेश्वर सापकोटाले बताए । योजना अन्तर्गत नेपाल बाहिरबाट नेपालमा रकम पठाउने ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने उनले जानकारी दिए ।

सिटी एक्सप्रेसः सिटी एक्सप्रेस मनि ट्रान्सफरले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । ‘लखपति एक्सप्रेस २०७६- न यति न उति सीधै लखपति’ नामकको उक्त योजनामा सिटी एक्सप्रेसबाट रेमिट्यान्सको कारोबार गर्ने ग्राहकलाई हरेक महिना लक्की ड्रमार्फत् एक जनालाई १ लाख दिइने सिटी एक्सप्रेस मनि ट्रान्सफरकी बजार शाखा प्रमुख अनिता थापाले जानकारी दिइन् ।

यस्तै, कम्पनीका ग्राहकले दशैं योजनामा दैनिक १० जनाले २०० रुपैयाँ रिचार्ज, हरेक साता १ जनाले १० हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ ।

कम्पनीको उपहार योजना कात्तिक ३० गतेसम्म चल्नेछ । उपहार योजनाको अन्त्यमा बम्पर उपहार १० लाख दिइने र कम्पनीकी बजार शाखा प्रमुख थापाले बताइन् ।

वेस्टर्न युनियनः वेस्टर्न युनियन मनि ट्रान्सफरले आफ्नो माताहतमा रहेर रेमिट्यान्सको कारोबार गर्ने ग्राहकहरुलाई दशैंमा डबल पैसा योजना ल्याएको छ ।

योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई कात्तिक ३१ गतेसम्म रेमिटयान्सको कारोबार गर्दा कारोबार रकमको दोब्बर पाउने वेस्टर्न युनियन मनि ट्रान्सफरका अञ्जान अर्यालले बताए । अर्यालका अनुसार पैसा डबल योजनामा रकमको सीमालाई भने ५० हजार रुपैयाँ गरिएको छ ।

वेस्टर्न युनियन मनि ट्रान्सफरमार्फत् २५ हजार रुपैयाँसम्म आएको रकमलाई कम्पनीले २५ हजार थप गरी ५० हजार रुपैयाँ दिनेछ । साथै २५ हजार रुपैयाँभन्दा माथिको रकममा भने डबल योजना नभइ निश्चित रकम थप गरी ग्राकलाई दिइने कम्पनीले जनाएको छ ।

उपहार योजनाको अन्त्यमा बम्पर उपहारमा लक्की ड्रमार्फत् १ जनालाई १० लाख रुपैयाँ दिइने बताइएको छ ।


पुष्प दुलाल