एनआईसी एशिया बैंकको २१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ९ अर्ब ७१ करोड पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकको साधारणसभाले २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बैंकको शुक्रबार सम्पन्न २२औं साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशत अर्थात् १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ रुपैयाँ लाभांश पारित गरेको हो ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ नगद लाभांश पारित भएको हो । बोसन सेयर पारित भएसागै बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ रुपैयाँ पुगेको छ ।

बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा साभारणसभा सम्पन्न भएको थियो ।

बैकमा डिम्याट खाता हुने शेयरधनीले आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको र डिम्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डिम्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ

त्यसैगरी, वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।


पुष्प दुलाल